१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीमा रेशमका उम्मेदवारलाई कांग्रेसको औपचारिक समर्थन

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ। लक्ष्मण चौधरी नाउपा नेता रेशम चौधरी पक्षधर हुन।

सोमबार बिहानको नेपाली कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीमा लक्ष्मण चौधरीलाई  समर्थन गर्ने निर्णय गरेको हो। बैठक कामचलाउ सरकारका मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बसेको थियो।

कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले कांग्रेसले आइतबारै लक्ष्मण चौधरीलाई अनौपचारिक रुपमा समर्थन गरेको उल्लेख गर्दै नागरिकन्यूजसँग भने, ‘आज औपचारिक निर्णय गरिएको हो।’

लक्ष्मणले आइतबारै मुख्यमन्त्रीमा नेपाली कांग्रेससहित एकीकृत समाजवादीको समर्थनमा दाबी पेश गरेका हुन। नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ सांसद गरी बहुमत सांसदको समर्थन रहेको लक्ष्मणले बताएका थिए। सरकारमा मुख्यमन्त्रीका लागि २९ सांसदको समर्थन सहितको हस्ताक्षर संकलन भइसकेको नेपाल कांग्रेसका प्रदेश सभाका प्रमुख सचेतक विक्रम धामीले आइतबारै जानकारी दिएका थिए।

आइतबार नाउपा अध्यक्ष रञ्जिता चौधरी पक्षका तर्फबाट कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन्। उनलाई भने नेकपा एकीकृत समाजवादीबाहेकका सत्ता गठबन्धन दलहरूले समर्थन गरेका छन्। कैलाश चौधरीले नाउपाका ६ जना, माओवादी केन्द्रका १० जना, १० जना एमालेका र एक जना स्वतन्त्र गरी २७ जना सांसदको बहुमत रहेको दाबी गरेका छन्।

मुख्य मन्त्रीमा दुई जनाले दाबी पेश गरेपछि प्रदेश प्रमुख नजिर मियाँले अध्ययन गरेर आवश्यक परे मतदातालाई सरसरी उपस्थित गराएर निक्र्यौल गर्ने बताएका थिए। ‘जतिसक्दो छिटो यसको टुङ्गो लगाइने छ’, उनले नागरिकन्यूजसँग भनेका थिए। अन्यौलता नहोस् भनेर संविधानको धारा १६८ को दुई अनुसार सरकार बनाउन आव्हान गरेको तरपनि अन्यौल कायमै रहेकाले यसको थप अध्ययन गर्नुपर्ने भएको बताए।

नागरिक उन्मुक्ति पार्टीमा रेशम चौधरी पक्षका ४ सांसद नेपाली कांग्रेससहितको सरकार बनाउने पक्षमा रहँदै आएका थिए भने रन्जिता श्रेष्ठ पक्ष दुई सांसद नयाँ गठबन्धनमा जाने अडानमा छन्। 

प्रकाशित: ३ वैशाख २०८१ १२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App