१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

महरा पक्राउको विषयमा राम्रोसँग छलफल भइरहेको छ: प्रवक्ता सापकोटा

नेकपा (माओवादी केन्द्र) को पार्टी पदाधिकारी बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएको छ।

मंगलवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपाध्यक्ष महरा पक्राउ परेको सम्बन्धमा छलफल भएको हो।

छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले उपाध्यक्ष महरा पक्राउ पर्नुभएको विषयमा पदाधिकारी बैठकमा छलफल भएको र पार्टीले पुनः बैठक बसेर निर्णय गर्ने बताए।

सुन प्रकरणमा सोमवार कपिलवस्तुबाट उपाध्यक्ष महरालाई प्रहरीले पक्राउ गरेर काठमाडौँ फर्काइदिएको थियो। उनलाई सिआइबीले सोमबार काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो।

अदालतले महरालाई ४ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति समेत दिइसकेको छ। प्रवक्ता सापकोटाले भने, ‘तपाईँहरूले जान्न खोज्नुभएको उपाध्यक्ष कमरेड कृष्णबहादुर महराको बारेमा छ। हाम्रो धेरै राम्रोसँग छलफल भइरहेको छ। यसका हरेक पाटा पक्षमा हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ। छलफल जारी छ।

छिटो भन्दा छिटो निष्कर्षमा पुग्छौँ।’ उनले महरा पक्राउ परेको सम्बन्धमा विविध पक्षबाट छलफल भएको र पार्टीको अर्को पदाधिकारी बैठकले महराको विषयमा आधिकारिक रूपमा टुङ्गो लगाउने जानकारी पनि दिए।

प्रकाशित: ६ चैत्र २०८० ११:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App