१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

वित्तीय सुशासनमा ध्यान दिन मुख्यमन्त्री शाहको जोड

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीयताको औचित्यमाथि प्रश्न उठिरहेका बेला सरकारहरुले इमान्दारितापूर्वक वित्तीय सुशासन कायम गर्दै जनताको सेवा गर्नुपर्ने बताएका छन्।

धनगढीमा दुईदिनसम्म चलेको स्थानीय सरकार सञ्चालन र नेतृत्व विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन्।

‘जनताको सुशासन र विकासको चाहना विगतका व्यवस्थाले पूरा गर्न नसकेकैले संघीयतामा मुलुक गएको हो। अहिले यसमाथि पनि विभिन्न टिकाटिप्पणी भइरहेको छ,’ मुख्यमन्त्री शाहले भने, ‘संघीयताका सरकारहरुले पारदर्शी, जवाफदेही रुीमा इमान्दारितापूर्वक वित्तीय सुशासनसहितको सेवा दिएर यसमाथि उठेका प्रश्नहरुको उत्तर दिनुपर्ने अवस्था छ।’

मुख्यमन्त्री शाहले गरिबीको सूचकांकमा सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेशभन्दा पनि पछाडि परेकोले यो स्थितिबाट माथि उकास्न सबैले हातेमालो गर्नुपर्ने पनि बताए। उनले भने, ‘यस्तो दर्दनाक अवस्थाबाट माथि उठाउन सबै सरकार, सरोकारवाला, नागरिक समाजले एकैसाथ हातेमालो गर्दै परिवर्तनकारी भूमिका निभाउनुपर्ने अवस्था छ।’

सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुदूरपश्चिमका स्थानीय तहका जनप्रतिनिधिको शासकीय क्षमता अभिवृद्धिका लागि शुक्रबार र शनिबार गरी दुई दिन यो अन्तरक्रिया कार्यक्रम चलेको थियो।

प्रतिष्ठानका कार्यकारी निर्देशक गेहेन्द्र बमका अनुसार अन्तरक्रिया कार्यक्रम उद्देश्य स्थानीय सरकार सञ्चालन र व्यवस्थापन, प्रभावकारी सेवा प्रवाह, विकास योजना तर्जुमा र कार्यान्वयन, सुशासन र परदर्शीताका सम्बन्धमा स्थानीय तहका प्रमुख/अध्यक्षको क्षमता अभिवृद्धि गर्नु  रहेको थियो।

कार्यक्रममा नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघको समन्वय र सहकार्य पनि रहेको थियो। समापन कार्यक्रमको अध्यक्षता नेपाल नगरपालिका संघ, सुदूरपश्चिम प्रदेश संयोजक गोदावरी नगरपालिका मेयर विरेन्द्र भट्टले गरेका थिए।

समापनमा प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख प्रतिपक्षी दलका नेतालगायतको उपस्थितीमा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले समापन गरेका थिए।

प्रकाशित: २० फाल्गुन २०८० १०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App