७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लिटरेचर फेस्टिबल: महिला उम्मेदवारमाथि आर्थिक भारको सकस

पोखरामा जारी लिटरेचर फेस्टिभलमा शुक्रबार ‘लोकतन्त्रमा महिला र चुनावी खर्च’ विषयक छलफलका सहभागि। तस्बिरः नागरिक

निर्वाचनमा होमिन महिलालाई कत्तिको सहज छ ? महिलालाई निर्वाचनमा उम्मेदवार बन्न आर्थिक अवस्था बाधक रहन्छ की रहँदैन ?  राजनीतिक नेतृत्व महिलालाई निर्वाचनमा अगाडि बढाउन कत्तिको इच्छुक हुन्छ ? निर्वाचनमा उम्मेदवारको भीडभाडमा महिला अनुहार किन कम देखिन्छ ? निर्वाचनका बेला यस्तै धेरै प्रश्न तेर्सिने गर्छन्।

निर्वाचनका बेला मात्र बाहिर आउने यस्ता प्रश्न फेवा किनारमा जारी ११ औं संस्करणको नेपाल लिटरेचर फेस्टिबलको ‘लोकतन्त्रमा महिला र चुनावी खर्च’ विषयक शुक्रबारको बहसमा पनि उठाइयो र त्यसको जवाफ पनि निर्वाचनमा उम्मेदवार बनेका महिलाबाटै खोजियो। त्यसबाहेक महिलालाई निर्वाचनमा धकेल्न निजी क्षेत्रको भूमिका के रहन्छ भन्ने बारे पनि छलफल भयो।

शुक्रबारको यो छलफलमा जुटेका थिए महिला नेतृहरू महालक्ष्मी उपाध्याय (डिना), विद्या भट्टराई, मानुषी यमी भट्टराई र नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवाली। छलफलका क्रममा महिला नेतृहरुले चुनावका बेला उम्मेदवार बन्नेदेखि विजय हासिल गर्नमा पनि महिलालाई अप्ठेरो रहेको बताए। त्यसमा चुनावी खर्च पनि एउटा कारण हुने उनीहरुको भनाई छ।

नेतृ मानुषी यमी भट्टराईले भनिन, ‘निर्वाचनमा आर्थिक प्रभाव निकै नै पर्ने रहेछ। उम्मेदवार हुनका लागि समेत खर्चले अर्थ राखेको देखियो। यतिसम्मकी गठबन्धनको तर्फबाट उम्मेदवार बन्दा पनि चुनावी खर्चको सकस पर्ने रहेछ। रातारात आर्थिक वृद्धि बढ्ने रहेछ।’ उनले चुनावका बेला खर्च गर्न नसक्ने उम्मेदवार सधैं पिल्सिने बताइन।

‘निर्वाचन आयोगले खर्चको सीमा त तोकेको छ। तर, खर्च गर्ने क्षमता राख्ने उम्मेदवारले गरेको ग¥यै हुन्छ, उसलाई कतै कारबाही हुँदैन, खर्च गर्न नसक्ने उम्मेदवार पछाडि पर्छ,’ उनले भनिन, ‘महिला उम्मेदवारको अवस्था पनि उस्तै हो। महिलाले उठाएको मुद्दा महिलाको मात्र नभई समाजको हो भनेर बुझाउनै नसकिने अवस्था छ।’ खर्चकै कारण मतदाता किन्न सकिन्छ भन्ने आत्मबल दलमा बढेको उनले बताइन।

अर्की नेतृ विद्या भट्टराईले पनि आर्थिक सम्पन्नता नभए निर्वाचनमा जान अयोग्य बन्ने अवस्था रहेको बताइन। उनले निर्वाचनको बेला हुने खर्चबारे पुरुष र महिला उम्मेदवारको फरक अवस्था रहेको बताइन। 

‘समाजले महिलालाई पनि अगाडि बढ भनेको छ। तर, राजनीतिक दलहरुले महिलाले परिवार नै हेर्नुपर्छ भन्न सोचाई राखेको छ,’ उनले भनिन, ‘महिलालाई निर्वाचनमार्फत निर्णायक ठाउँमा पु¥याउनुपर्छ भन्नेमा पनि एकमत छै।’ 

उनले आफूले सद्भावकै कारण पनि निर्वाचनमा जितेको बताइन। तर, त्यहाँ सशक्त उम्मेदवारको आवश्यकता भने रहेको उनको भनाई छ।

‘महिलाले राजनीतिको पछाडि लाग्दा खेप्ने लाञ्छना अरु क्षेत्रमा छैन। लाञ्छना खेप्न सक्ने क्षमता भएको महिला मात्र राजनीतिमा अगाडि आउन सक्छ,’ उनले भनिन, ‘नत्र गाह्रो छ।’

अर्की नेतृ महालक्ष्मी उपाध्याय (डिना)ले पनि समानुपातिकमा मात्र महिलालाई स्थान दिन खोजेको देखिन्छ। ‘महिलाका लागि समानुपातिक र पुरुषका लागि प्रत्यक्षतर्फ हो भन्ने मात्र बुझाई रह्यो,’ उपाध्यायले भनिन, ‘पैसा नै नभएको मान्छे किन चुनावमा किन होमिने भनेर प्रश्न तेर्सिन्छन।’ 

उनले निर्वाचनमा बिचौलीया हाबी हुँदै गएको बताइन। पछिल्लो समय निर्वाचनका बेला मतदातालाई भ्रममा पारेर बीचको मान्छेले मध्यस्थता गर्न खोजेको उनले बताइन।

‘महिलालाई त चुनावमा खर्च पनि दिँदैनन्। त्यसले गर्दा पनि महिलाले सुरुमा नाम टिपाएपछि पछि फिर्ता लिनुपर्ने बाध्यकारी छ,’ उनले भनिन, ‘अब पैसा मात्र होइन, सामाजिक सोच पनि परिवर्तन गर्न जरुरी छ।’

नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले देशको राजनीति र व्यवसाय एक अर्कासँग सम्बन्धित रहने बताइन। ‘राजनीति राम्रो भए व्यवसाय पनि राम्रो बन्छ। त्यसैले चुनावमा होमिँदा पनि समाज बनाउँछु भन्ने हुटहुटी उम्मेदवारमा हुनुपर्छ,’ ज्ञवालीले भनिन, ‘महिलालाई राजनीतिमा अघि बढाउन व्यावसायिक क्षेत्रले पनि प्रोत्साहन दिनुपर्छ र दिएको पनि छ।’ एक पटक महिलाका लागि लगानी गरेर हेरौं भन्ने अवस्था अहिले रहेको उनले बताइन।

‘महिलालाई अगाडि बढाउन सके राजनीतिक पनि अगाडी बढ्छ। महिला नेतृत्व अगाडी बढेको खण्डमा समाज पनि परिवर्तन हुन्छ,’ ज्ञवालीले भनिन।

ज्ञवालीले चुनावका बेला अनावश्यक खर्च गर्न नहुने बताइन। ‘जनप्रतिनिधिले समाज र देश बनाउने हो। म के का लागि जनप्रतिनिधि बनेको छु भनेर सोच्नुपर्छ,’ उनले भनिन, ‘खर्च व्यवस्थापन जटिल कुरा हो। महिलाका लागि झनै जटिल छ। चुनावको बेला फरक फरक सर्त अघि सार्ने गरिन्छ।’

प्रकाशित: ४ फाल्गुन २०८० १७:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App