१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम माओवादीभित्र विवाद, दुई गुटबीच रस्साकस्सी

फाइल तस्बिर

सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रमा विवाद चुलिएको छ। सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता खगराज भट्टलाई जानकारी नदिई बसेको बहुमत सांसदको बैठकले मानबहादुर धामीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेपछि माओवादी केन्द्रको विवाद छताछुल्ल भएको थियो।

संसदीय दलका नेता भट्टलाई जानकारी नदिई उपनेता अक्कलबहादुर रावलको अध्यक्षता बसेको ६ जना सांसदको बैठकले संसदीय दलको नेता बदल्ने निर्णय गरेको थियो। सभामुखसहित सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका ११ सांसद छन्। उनीहरू दुई गुटमा विभाजित भएका छन्।  

दलको नेता फर्ने निर्णयमा धामी, उपनेता रावल, प्रदेशसभा सदस्यहरू शिवसिंह ओली, ओमविक्रम भाट (सरल), राज्यमन्त्रीसमेत रहेकी गीतादेवी माल र लक्ष्मी विकले हस्ताक्षर गरेका छन्।

गत पुस २१ गते संसदीय दलको नेता बदल्नुपर्ने माग राखेर ६ जना सांसदको टोली अध्यक्ष प्रचण्डकहाँ पुगी ज्ञापन पत्र बुझाएको थियो। प्रचण्डले उनीहरूका कुरा नमानेपछि आफैं बैठक राखेर संसदीय दलको नेता बदलेका थिए।

६ जना सांसदले संसदीय दलका नेता बदल्ने निर्णय गरेपछि शनिबार नेकपा माओवादी केन्द्रको प्रदेश समितिले दलको नेता फेर्ने निर्णय सच्याउन निर्देशन दिएको छ।

प्रदेश अध्यक्ष हरि चौधरी उत्सवको अध्यक्षतामा शनिबार बसेको पदाधिकारी बैठकले दलको नेता बदल्ने निर्णय अविलम्ब सच्याउन निर्देशन दिन निर्णय गरेको हो। बैठकपछि माओवादी केन्द्र, सुदूरपश्चिमका प्रदेश कमिटीका अध्यक्ष हरि चौधरी (उत्सव) र सचिव जनकबहादुर बुढाले हस्ताक्षर गरेको परिपत्र नौवटै जिल्ला इन्चार्ज र अध्यक्षलाई दिइएको छ।

माघ १२ गते माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक दल नेता खगराज भट्टको जानकारीविना उपनेता कमरेड अक्कलबहादुर रावलको अध्यक्षतामा बसी दलको नेता परिर्वतन र सरकार परिर्वतन गर्ने भन्ने कुराप्रति पदाधिकारीको गम्भीर ध्यानाकर्षण भएको निर्णयमा उल्लेख छ।

’हाम्रो पार्टी परम्परा र विधिविपरीत केन्द्रीय निर्देशनको समेत अवज्ञा गरी गरिएको निर्णय हजारौं कार्यकर्ताको मनोभावनाविपरीत भएकाले अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो’, निर्णयमा लेखिएको छ।

६ जना सांसदको बैठक र संसदीय दलको नेता बनाइएका धामीले दलको विधानबमोजिम दलको नेता परिवर्तन भएकाले यो निर्णय नसच्याइने बताएका छन्। ’पार्टीले सुझावसम्म दिने कुरो ठिकै हो, संसदीय दलको विधानअनुसार निर्णय गरी धेरै अघि बढिसकेको छ, अब सच्याइन्न’, उनले भने।

प्रकाशित: १४ माघ २०८० ०७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App