१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिमा ३ सिटका लागि मतदान जारी

सुदूरपश्चिम प्रदेशमा तीन जना राष्ट्रिय सभा सदस्य पदका लागि मतदान जारी छ। धनगढी स्थित प्रदेश शभा भवन परिसरमा आज बिहान ९ बजेदेखि मतदान सुरु भएको हो। प्रदेश सभा सदस्यको मतदानका लागि पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका लागि छुट्टाछुट्टै २ मतदान केन्द्र निर्धारण गरिएको छ।

सुदूरपश्चिम प्रदेशमा दुई सय २८ मतदाता रहेका छन्। जसमध्ये ५२ जना प्रदेश सभा सदस्य र एक सय ७६  स्थानीय तहका प्रमुख, उपप्रमुुख तथा अध्यक्ष र उपाध्यक्ष मतदाता रहेको सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले बताए।

प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १९ रहेको छ। सुदूरपश्चिममा ८८ वटा स्थानीय तह छन्। ५३  जना प्रदेश सभा सदस्य संख्या रहेको सुदूरपश्चिम प्रदेश सभामा १ पद रिक्त रहेको छ।

नेपाली काँग्रेसका बझाङबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएकाले उक्त सिट रिक्त रहेको छ।

सुदूरपश्चिम प्रदेशमा तीन जना राष्ट्रिय सभा सदस्य पदका लागि ६ जनाले उम्मेदवार दिएका छन्। अन्यतर्फ १, महिला १ र अपाङ्गता भएका तथा अल्पसंख्यक एकजना गरी तीन पदका लागि सत्ता गठबन्धन दल र नेकपा एमालेका गरी ६ जना चुनावी प्रतिस्पर्दामा छन्।

सत्तागठबन्धनमा नेपाली काँग्रेसका अन्यबाट कञ्चनपुरका बलदेव बोहरा र अपाङ्गता तथा अल्पसंख्यकबाट कैलालीका नारायणदत्त भट्ट उम्मेदवार छन्। नेकपा माओवादी केन्द्रबाट महिलामा बैतडीका रेनु चन्द उम्मेदवा् छन्।

बोहरा २०४८ सालमा जिल्ला विकास समितिका सभापतिमा निर्वाचित भएर पाँच वर्षे कार्यकाल निर्वाह गरेका थिए। भट्ट नेपाली कांग्रेस कैलाली जिल्ला कार्य समिति सभापति हुन्। भट्ट २०६२/०६३ सालका जन आन्दोलनमा गम्भीर घाइते भएका थिए। नेकपा माओवादीबाट उम्मेदवार बनेकी चन्द २०६४ सालको संविधान सभा निर्वाचनबाट निर्वाचित सदस्य हुन्। यसैगरी नेकपा एमालेका अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल, महिलाबाट कैलालीकी सावित्रादेवी घिमिरे र अपाङ्गता तथा अल्पसंख्यकबाट कैलालीका रामचन्द्र जोशी उम्मेदवार छन्।

खरेल महेन्द्रनगर नगरपालिकाको पूर्व उप प्रमुख हुन् भने हाल नेकपा एमालेको लेखा आयोगका केन्द्रीय सदस्य हुन्। घिमिरे नेकपा एमालेका पूर्व प्रदेश सचिवालय सदस्य तथा अखिल महिला संघका पूर्व केन्द्रीय सदस्य हुन् भने जोशी जिल्ला कमिटी सचिवालय सदस्य हुन्।

आगामी फागुन महिनामा नेकपा माओवादी केन्द्रका हरिराम चौधरी ‘उत्सव’, माओवादी केन्द्रका महेश महरा तथा नेकपा एमालेका इन्दु कठरियाको पदावधि सकिँदैछ। सुदूरपश्चिममा माओवादी केन्द्रले एक सिट गुमाउने भएको छ।

सुदूरपश्चिममा नेपाली काँग्रेसको सबैभन्दा बढी मतभार रहेको छ। त्यसपछि नेकपा एमाले र तेस्रोमा नेकपा माओवादी, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी रहेका छन्। राप्रपाको एक प्रदेश सभा सदस्य बराबर ५३ मतभार मात्र रहेको छ।  

प्रकाशित: ११ माघ २०८० ०५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App