७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई थप आर्थिक सहायता दिँदैछौंः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई थप आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन्।

सरकारले दिएको १० लाख आर्थिक सहायता पर्याप्त नभएको गुनासो आएकाले वैदेशिक रोजगार बोर्डमार्फत मृतकका परिवारलाई थप आर्थिक सहायता उपलब्ध गराउन लागिएको जानकारी दिएका हुन्।

सोमवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि छलफल गरिएको र केहीबेर पछि मृतकका परिवारलाई थप रकम दिने निर्णय गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। उनले मृतकका परिवारलाई रोजगारी दिने कुरा पनि सरकार प्रतिवद्ध रहेको बताए।

उपप्रधानमन्त्री श्रेष्ठले सो घटनाको दोषी पत्ता लगाउन सरकारले उच्चस्तरीय न्यायिक छानविन समिति गठन गरेको र त्यसले दिएको सुझावको आधारमा दोषीमाथि कानूनी कारबाही गर्ने दृढता समेत व्यक्त गरे।

उनले भने, ‘सरकारले राहतको स्वरुप जो हामीले १० लाख दिने भनेका छौं। त्यो पर्याप्त भएन भन्ने कुरा छ। त्यो चाहीँ नियमित रुपमा यस्ता घटना हुँदा सरकारले दिने राहतको कुरा हो प्रारम्भिक। हामीले समझदारी पनि बनाई सकेका छौं इपिएस फण्डमार्फत वैदेशिक रोजगार बोर्डमार्फत अतिरिक्त परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गर्दैछौं। अर्को सबैको अत्यन्तै मर्मस्पर्शी अपिल छ–ती दुई मृतकका परिवार जसले जुन प्रकृतिको रोजगारी गर्न सक्छन। तिनीहरुलाई रोजगारीको अवसर दिइयोस राज्यले भन्ने। त्यसमा प्रधानमन्त्रीसँग समेत कुरा भईसकेको छ। सरकारले त्यसमा व्यवस्था गर्नेछ। त्यसमा पनि हामी प्रतिवद्ध नै छौं। त्यो त माननीयजीहरुले अघि पनि भन्नु भयो। तर उहाँहरुको परिवारको सदस्यले त्यस प्रकारको परीक्षामा उतीर्ण नभईकन पनि गर्न सक्ने प्रकृतिको जुन रोजगारी हुन्छ, त्यसको व्यवस्था गर्न सरकार प्रतिवद्ध छ। यो कुरा पनि म यहाँ स्पष्ट पार्न चाहन्छु।’

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले सो घटनामा आफ्नो केही कमजोरी रहेको स्वीकार गरिसकेको पनि बताए।  

प्रकाशित: १६ पुस २०८० ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App