१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

महन्थ र राजेन्द्रको झगडा झनै चर्कियो, महतोले पार्टी फुटाउन नपाउने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको दुई वर्ष बित्दा नबित्दै पार्टी अध्यक्ष महन्थ ठाकुर र दोश्रो नेता राजेन्द्र महतोबिचको झगडा झनै चर्किएको छ।

अदालतले थम्मन विक हत्याकाण्डमा लोसपाका मधेस प्रदेशका संसदीय दलका अभिराम शर्मा, शंकर शाही, सुरेश पाण्डे लगायतका नेताहरूलाई जन्म कैदको फैसला सुनाए पछि ठाकुर र महतोले निकालेका छुट्टाछुट्टै विज्ञप्ति हेर्दा यी दुई नेताको झगडा सडकमै पुगेको देखिन्छ।

विज्ञप्तिमा महतोले अदालतको फैसला लोसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सशक्त आन्दोलनमा उत्रन माग राखेका छन्। महतोले विज्ञप्ति निकालेको लगत्तै ठाकुरले अर्को विज्ञप्ति निकाले। महतोको भनाइको प्रतिवाद गर्दै ठाकुरले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना नभएको प्रष्ट पारे। लोसपाबाट हाल सरकारमा शरत्सिंह भण्डारी सहभागी छन्। ठाकुर र महतोको झगडामा भण्डारीले ठाकुरलाई साथ दिएका छन्। ठाकुरले भण्डारीलाई साथ दिँदै सरकार छाड्ने सम्भावना नभएको जनाएका छन्।

दुई नेताको छुट्टाछुट्टै विज्ञप्ति पछि पार्टीका कार्यकर्ता अन्यौलमा छन्। उनीहरू दुई गुटमा बाडिएका छन्। पछिल्लो समय महतो पार्टी कार्यालय जान छाडेका छन्। महतो निकट नेताहरू महतोकै भनाइमा अडिग छन्। पार्टीका महासचिव केशव झाले अदालतको फैसला पछि पार्टी आन्दोलनमा उत्रनु पर्ने धारणा राखे। ‘अब सरकारमा बस्नुको औचित्य छैन। सरकारलाई दिएको समर्थन फिर्ता लिनु पर्छ र आन्दोलनमा उत्रनु पर्छ’ उनले भने।

राजनीतिक दल विभाजन सम्बन्धी ऐन २०७३मा कुनै पार्टीबाट फुटेर बनेको पार्टी ५ वर्षसम्म फुटाउन नमिल्ने व्यवस्था छ। उक्त व्यवस्था अनुसार महतोले चाहेर पनि ५ वर्ष सम्म लोसपा फुटाउन सक्दैनन्। तर उनले लोसपाबाट राजीनामा गरेर नयाँ पार्टी गठन गर्न सक्छन्। लोसपाबाट राजीनामा गर्न उनलाई कानुनी रुपमा अड्चन पर्दैन। किनभने उनी प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैमा छैनन्।

गत असोजमा ठाकुरले गरेको केन्द्रीय समिति विस्तारलाई लिएर पार्टी अध्यक्ष ठाकुर र महतोबिचको विवाद तीव्र हुन पुगेको हो। यी दुई नेताको विवादमा अर्का नेता अनिल झाले महतोलाई साथ दिएका छन्। विवाद बढ्दै गए पछि गत आइतबार बसेको केन्द्रीय समितिको बैठकमा महतो र झाले बहिस्कार गरेका छन्। ठाकुरले केन्द्रीय समिति गठन गर्दा एकलौटी गरेको भन्दै शीर्ष नेताद्धय महतो र झाले बैठक बहिस्कार गरेका हुन्। गत असोज ८ गते अध्यक्ष ठाकुरले केन्द्रीय समिति विस्तार गर्दै ३ सय ११ सदस्यीय बनाएका थिए। तर, समितिमा महतो र झा निकट कार्यकर्ताहरूले निकै कम स्थान पाएपछि विवाद सुरु भएको हो। यसबाट महतो र झा रुष्ट भएका हुन्।

मधेस आन्दोलनमा सक्रिय भएका र पार्टीका वफादार कार्यकर्ताहरूलाई बाहिर राखेर केन्द्रीय समिति गठन गरिएको भन्दै महतो र झाले बैठक बहिस्कार गरेका थिए। दुई महिना अघि बसेको कार्यकारिणी समितिको बैठकमा पार्टी अध्यक्ष ठाकुरले केन्द्रीय समिति गठन गर्दा भएका त्रुटिहरू सच्चाउने र केन्द्रीय समितिमा अट्न नसकेको पार्टीका कार्यकर्ताहरूलाई केन्द्रीय समितिमा राख्ने प्रतिबद्धता गरेका थिए। तर दुई महिनासम्म उनले केन्द्रीय समिति विस्तार नगरी बैठक बोलाए।

जनता समाजवादी पार्टी ९जसपा० भित्र विवाद उत्कर्षमा भएपछि ठाकुर, महतोका साथै शरत्सिंह भण्डारी, अनिल झा लगायतका नेताहरूले २०७८ भदौमा लोसपा गठन गरेका हुन्। पार्टी गठन भएको लामो समयसम्म अध्यक्ष ठाकुरले केन्द्रीय समिति विस्तार गर्न सकेका थिएनन्। लामो समय पछि विस्तार गरिएको केन्द्रीय समिति पनि विवादित बनेको छ। प्रतिनिधि सभामा लोसपाका ४ जना सांसद छन सरकारमा लोसपाका नेता भण्डारी सहभागी छन्।

प्रकाशित: ५ पुस २०८० ११:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App