राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेजीको माग राख्दै आफू आन्दोलनमा रहेको बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले संविधान बनाउँदा नै आफ्नो पार्टी प्रदेशको विपक्षमा रहेको र प्रदेश नहटाएसम्म मुलुकमा विकासको ढोका नखुल्ने दाबी गरे।
उनले चैत १५ गते तीनकुनेमा भएको घटनालाई लोकतन्त्र र गणतन्त्र मास्ने नियतले गरिएको बताए। संविधानमा असहमति राख्ने विषयलाई जनमतबाट हटाउन सकिने व्यवस्था भए पनि शत्रुतापूर्ण र अराजक गतिविधि भइरहेको उनको भनाइ छ। उनले आन्दोलन र प्रदर्शनको नाममा प्रणाली नै ध्वस्त पार्ने र शत्रुतापूर्ण कदम चाल्नेहरूप्रति सरकार सचेत हुनुपर्ने बताए।
तीनकुनेको घटनाले लोकतन्त्र र गणतन्त्र सुरक्षित नरहेको संकेत गरेको भन्दै उनले सबैलाई सचेत रहन आग्रह गरे।
उनले भने, ‘अहिले लोकतन्त्र र गणतन्त्र मास्ने नियतले यो आन्दोलन आएको छ। संविधानका कुरामा मतभेद हुन सक्छ। त्यस्तो मतभेदलाई जनतामा प्रभाव पारेर आफ्नो पक्षमा जनमत ल्याई असहमति हटाउनुपर्छ। तर, त्यसको बहानामा प्रणाली नै सिध्याउने र शत्रुतापूर्ण आन्दोलनप्रति सरकार सचेत हुनुपर्छ। म आफैं आन्दोलनमा छु।’
उनले थपे, ‘मैले सरकारलाई भनिरहेको छु, प्रदेश हुनुहुँदैन। संविधान बनाउँदा नै जनमोर्चाले प्रदेश ठीक होइन भनेको हो। गृह मन्त्रालय र सुरक्षा निकाय नजिकै भएको ठाउँमा यस्तो घटना हुनु राम्रो भएन। सरकारले पीडितलाई दिएको राहत ठीक छ। तर, तीनकुनेको घटनाले लोकतन्त्र र गणतन्त्र सुरक्षित छैन भन्ने देखाउँछ। हामी सबै सचेत हुनुपर्छ।’
प्रकाशित: २२ चैत्र २०८१ १४:१७ शुक्रबार