प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी सेवा र विकास जनस्तरमा राम्ररी पुग्न नसक्दा जनता पूर्ण रूपमा सन्तुष्ट हुन नसकेको बताएका छन्। बुधवार जावलाखेलमा आयोजित ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार सम्बन्धी अन्तरक्रिया’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन।
जनताले सेवामा सुधार नदेखे दर्शन र विचारको मतलब नगर्ने प्रधानमन्त्री दाहालले बताए। ‘सेवा र विकासको आधारमा जनताले सरकारप्रति सन्तुष्टि वा असन्तुष्टि जाहेर गर्दछन्। त्यही सन्तुष्टि र असन्तुष्टिमा राजनीतिक चलखेल हुने गर्दछ,’ उनले भने, ‘सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको लागि पुरै प्रयास जारी राखेको छ। तर जनता पुरै सन्तुष्ट हुने ठाउँमा पुगेका छैनन् ।’
अहिले देशको अर्थतन्त्र सुधारोन्मुख भएपनि दबाबमुक्त भने भइनसकेको प्रधानमन्त्री दाहालले बताए। आफूले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राष्ट्रको प्रतिष्ठा बढाउने जमर्को गरिरहेको बताउँदै उनले रणनीतिक र तत्कालीन रूपमा गर्ने कामको ठोस कार्यसुची तयार गर्न निजामती कर्मचारीहरूलाई निर्देशन दिए।
नेपालको ब्युरोक्रेसी क्षेत्र संसारकै अब्बल, व्यवसायिक, दक्ष र अनुभवी भएपनि परिणाम भने निस्किन नसकिरहेको प्रधानमन्त्री दाहालले बताए। ‘परिणाम निकाल्ने कुरामा राजनैतिक नेतृत्व र ब्युरोक्रेसीबीचमा कहीँ न कहीँ अझै तादाम्यता मिलेको छैन,’ प्रधानमन्त्री दाहालले भने। यो विषय कसरी सुधार गर्ने भन्ने विषयमा ब्युरोक्रेसीको पूर्व र वर्तमान नेतृत्वले छलफल गरी निष्कर्ष पेस गर्ने प्रधानमन्त्री दाहालले बताए।
अहिले १५ औं पञ्चवर्षीय योजनाको समिक्षा, १६ औं योजनाको तयारीका साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको समय चलिरहेको बताउँदै प्रधानमन्त्री दाहालले त्यसमा रचनात्मक सहयोग पुर्याउन सम्बन्धित क्षेत्रमा कार्यरत कर्मचारी र विज्ञलाई आग्रह गरे।
प्रकाशित: २० मंसिर २०८० ०८:२१ बुधबार





