७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

बल्खु र तिनकुनेमा जे भयो

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले बिहीबार गरेको प्रदर्शनले काठमाडौंको बल्खु क्षेत्र दिनभर तनावग्रस्त रह्यो। शान्तिपूर्ण रूपमा आन्दोलन गरेको प्रसाईं समूह बेलाबेला असंयमित हुँदा पटकपटक तनाव सिर्जना भएको थियो।

बिहान झन्डै ११ बजेतिर प्रसाईं समर्थक बल्खु चोक आसपासमा जम्मा हुन थालेका थिए। त्यसपछि १२ बजेतिर एमालेनिकट राष्ट्रिय युवा संघका कार्यकर्ता कालिमाटी हुँदै ललितपुरतर्फ जान बल्खु चोक भएर निस्किने क्रममा तनाव सिर्जना भयो। युवा संघका कार्यकर्ता आफ्नो प्रदर्शन क्षेत्रनजिक भएर आउन थालेपछि उग्र भएका प्रसाईं समर्थकले ढुंगामुढा गरेका थिए। त्यसक्रममा दुवै पक्षबीच केही समय ढुंगा हानाहान चलेको थियो। जसमा प्रहरीले सामान्य बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिएको थियो। त्यसपछि भिड बढ्दै जाँदा प्रसाईं समूह निर्धारित क्षेत्र (बल्खु) नाघेर माइतीघरसम्म जाने घोषणा गर्दै कुलेश्वरतर्फ अघि बढ्न खोजेको थियो।  

त्यसक्रममा सिंहदरबार घेर्नेदेखि, कब्जा गर्नेसम्मका उत्तेजक नाराबाजीसहित भिड अघि बढेको थियो। केही समय प्रहरीले सहज ढंगबाट स्थिति साम्य पार्न खोज्यो । तर ढुंगामुढा प्रहार गर्दै आफूमाथि जाइलाग्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । अझ स्थिति साम्य नभएपछि प्रहरीले पानीको फोहरा र रबरको गोलीसम्म चलायो। प्रहरीले १६७ सेल अश्रुग्यास र ५ राउन्ड रबरको गोली चलाएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। 

उक्त झडपमा परी प्रदर्शनकारीतर्फ २३ जना र प्रहरीतर्फ पाँचजना घाइते भएको प्रहरीले जनाएको छ। प्रदर्शनकारीतर्फका घाइतेमध्ये १७ जना सामान्य उपचारपछि डिस्चार्ज भएको र बाँकी पाँचजनाको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश मैनालीले जानकारी दिए। 

आन्दोलनरत पक्षले भने आफ्ना समूहका २६ जना घाइते भएको बताएको छ। जसमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रसाईंको भनाइ छ। ‘उनको टाउकामा गोली लागेको छ, मर्ने–बाँच्ने ठेगान छैन,’ साँझ भक्तपुरस्थित आफ्नै घरमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले भने, ‘सरकारले हस्पिटलमा राखेको छ तर उनको उपचार सरकारले गर्नुपर्दैन, दुर्गा प्रसाईंले गरिहाल्छ।’

उक्त झडपपछि आन्दोलनरत प्रसाईं समूहको भिड बल्खु क्षेत्रबाट तितरबितर भएको थियो। यसरी तितरबितर भएको भिड कीर्तिपुर, कलंकी, कुलेश्वर, सानेपालगायत क्षेत्रमा फैलिएको थियो। त्यहाँ पनि प्रहरीलाई स्थिति नियन्त्रणमा राख्न धेरै मेहनत गर्नुपरिरहेको थियो। त्यसक्रममा प्रदर्शनकारीहरूले टायर बाल्नेदेखि लिएर ढुंगामुढा हान्नेसम्मका गतिविधि गरेका थिए। त्यसपछि भने प्रहरीले भिडलाई बल्खु क्षेत्रमा एकत्रित हुन दिएन। साँझ ४ बजेपछि भने बल्खु र आसपासका क्षेत्रमा भिड पातलियो। सवारी आवतजावतलाई बिस्तारै सुचारु गरायो। ५ बजेपछि भने स्थिति सामान्य भएको थियो।

भिड बेकाबु, आक्रामक बोली  

दिउँसो १ देखि २ बजेको बीचमा बल्खु चोकमा बाक्लो भिड जम्मा भयो। उपस्थित अधिकांश आन्दोलनकारी आक्रामक रूपमा प्रस्तुत भइरहेका थिए। कलंकी हुँदै आएको समूहले बल्खुचोक पुग्नुपूर्व त्रिवि परीक्षा नियन्त्रण कार्यालयअघि चक्रपथमै केहीबेर कोणसभा गरेको थियो। जसमा आन्दोलनको नेतृत्व गरिरहेका प्रसाईं र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले सम्बोधन गरेका थिए। जसमा दुवै जना सरकार र व्यवस्थाविरुद्ध चर्को सुनिएका थिए।

सम्बोधनका क्रममा प्रसाईंले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लिएको सहमतिबमोजिम बल्खुमै सीमित हुने भनिएको प्रदर्शन त्यहाँ नै नरोकिने घोषणा गरेका थिए। ‘यो मुक्तिको आन्दोलन हो। यसैले यही रोकिँदैन। हामी यहाँबाट अघि बढेर सिंहदरबारभित्र छिर्ने हो,’ उनले भने, ‘सिंहदरबारबाट श्रीलंकाजस्तै नेता लखेट्नुपर्छ।’ उनले त्यहीँबाट प्रधानमन्त्री पुष्पकमल दाहाललाई आत्मसमर्पण गर्न आह्वान गे । उनले संघीय गणतन्त्रले देशलाई टाट पल्टाएको र जनतालाई मर्न बाध्य बनाएको दाबी गरे। ‘जनतालाई मर्न बाध्य पार्ने गणतन्त्र आजबाट सिद्धियो। अब यही बाटो हामी सिंहदबार छिर्ने हो। नारायणीहिटीमा राजा फर्काउने हो,’ उनले भने।

त्यसैगरी राप्रपाका प्रवक्ता शाहीले देशको अवस्था फेर्न व्यवस्थाविरुद्ध आन्दोलन चर्काउँदै लैजानुपर्ने उद्घोष गरे। ‘१२ बुँदे दिल्ली सम्झौताले ल्याएको गणतन्त्रले देशलाई कंगाल बनायो। अब ३६ हजार राजा हटाएर राजतन्त्र फर्काउनुपर्छ,’ उनले भने, ‘१२ बुँदे दिल्ली सम्झौता फर्काउनुपर्छ ।’ त्यसपछि अगाडि बढेको भिडले निषेधित क्षेत्र तोड्न प्रयत्न गरेको थियो। त्यसपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो। झडपपछि पनि प्रसाईं केही समय प्रहरी घेरामा बल्खु पुलमै बसेका थिए। स्थिति केही साम्य भएपछि ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहसँग उनले पूर्वनिर्धारित कार्यक्रमअनुसार सभा गर्न दिन भनिरहेका थिए ।  

शुक्रबार कोटेश्वर तीनकुनेमा प्रदर्शन  

यसैबीच प्रसाईं समूहले शुक्रबारको आन्दोलन भने कोटेश्वर र तिनकुने क्षेत्रमा गर्ने जनाएको छ। प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक महाभियानका भक्तपुुर जिल्ला संयोजक कुमार नगरकोटीले शुक्रबार ११ बजेबाट आफ्ना विरोधका कार्यक्रम सुरु हुने जानकारी दिए।  

दिउँसोका झडपपछि प्रसाईंले शुक्रबार उपत्यका बन्द गरेर आन्दोलन गर्ने उद्घोष गरेका थिए। तर प्रसाईं समूहले उक्त घोषणा फिर्ता लिएको छ। ‘आवेगको बेला उहाँले एकाध ठाउँमा भन्नुभएको रहेछ। तर अहिले छलफल गर्दा अहिल्यै त्यति अराजक नहुने निर्णय भयो,’ प्रसाईंको अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले भने, ‘बरु यो व्यवस्था रहेसम्म व्यापार नचल्ने भएकाले स्वखुसीका आधारमा व्यापार बन्द गरेर कार्यक्रममा आउन आग्रह गरेका छौं।’

तीकुनेमा शान्तिपूर्ण, बल्खुमा झडप

दुर्गा प्रसाईंको अभियान र सरकारको विरोध गर्ने उद्देश्यले प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले बिहीबार काठमाडौंको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। युवा संघको अगुवाइमा बिहान ११ बजेतिर प्रदर्शनकारी तीनकुनेमा जम्मा हुन थालेका थिए। अपराह्न ३ बज्नेबित्तिकै प्रदर्शन समापन गरिएको थियो। प्रदर्शनकारी ओसार्न केही बस प्रयोग गरिएको थियो। 

तीनकुनेमा प्रदर्शनकारी जम्मा हुने क्रममा रामप्रसाद अवस्थी, सागर राईलगायत कलाकारले जनवादी गीत गाएका थिए। सबै क्षेत्रबाट त्यहाँ जम्मा भएका प्रदर्शनकारीले नाराबाजी गर्दै तीनकुने क्षेत्र परिक्रमा गरेका थिए। प्रदर्शनकारीको नेतृत्व एमाले नेता महेश बस्नेतले गरेका थिए। यसैबीच राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार काठमाडौंमा गरिएका प्रदर्शनका कारण आवागमन र पठनपाठन अवरुद्ध हुनुका साथै विभिन्न पेसा, व्यवसायमा असर पुगेको जनाएको छ। आयोगले गरेको अनुगमनका क्रममा यस्तो पाइएको जनाएको छ।

प्रकाशित: ८ मंसिर २०८० ००:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App