१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

ओली-रावलको २० महिनापछि संवाद

फाइल तस्वीर

 नेकपा एमाले अध्यक्ष केपी ओली र पूर्वउपाध्यक्ष भीम रावलबीच लामो समयपछि एक्ला एक्लै भेटघाट संवाद भएको छ। करिब डेढ घण्टा लामो भेटघाटमा ओलीले रावललाई पार्टीमा सक्रिय हुन आग्रह गरेका थिए। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दुई नेताबीच मंगलबार छलफल हुँदा ओलीले रावललाई पार्टीमा सक्रिय हुन आग्रह गरेका हुन्।

२०७८ साल मंसिरमा पार्टीको दसौं महाधिवेशन सकिएपछि ओली–रावलको संवाद पहिलोपटक भएको हो। दसौं महाधिवेशनमा रावलले ओलीसँग अध्यक्षमा चुनावी प्रतिस्पर्धा गरेपछि ओली र रावलबीचको सम्बन्ध चिसिएको मात्र होइन बोलचाल नै बन्द भएको थियो।

दुई नेताबीच अहिलेको राष्ट्रिय राजनीतिक परिस्थिति, एमालेको आन्तरिक राजनीति र पार्टी केन्द्रीय कमिटीले अघि सारेको पछिल्लो अभियान, रावलको सम्भावित जिम्मेवारीलगायतका विषयमा केन्द्रित भएर कुराकानी भएको थियो।

भेटपछि पूर्वउपाध्यक्ष रावलले अध्यक्ष ओलीसँग फेरि पनि छलफल गर्ने समझदारी भएको भन्दै पन्छिए। करिब २० महिला लामो पार्टी काममा निष्क्रिय रहेका रावल एक महिनादेखि गृहजिल्ला अछाम हुँदै पार्टीको बैठक र सार्वजनिक कार्यक्रमहरूमा सक्रिय भएपछि ओली भेटघाटका लागि सकारात्मक बनेका थिए।

‘एकअर्काबीच के छ, कसो छ भन्ने भलाकुसारी भए देशको अवस्था, पार्टीको अवस्थाका विषयमा आआफ्ना सोच र दृष्टिकोणका बारेमा सामान्य कुराकानी भए फेरि पनि कुराकानी हुन्छ,’ रावलले भने, ‘धेरै लामो समयपछि भेटघाट भएको हो। उहाँ पार्टीको अध्यक्ष। उहाँलाई देशविदेशको सूचना, जानकारी हुन्छ, म पनि अध्ययन गर्ने नै मान्छे हुँ, त्यसैले के कसो छ भन्ने कुराकानी आदानप्रदान भयो।’

केही महिना अघि रावललाई पार्टीको जिम्मेवारीमा फर्काउने गरी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा अलग्गै वार्ता समिति बनेको थियो। सो समितिले एक चरणको छलफल गरेपछि ओलीसँग संवादको बाटो खुलेको थियो।

२०७९ मंसिरको चुनावमा टिकटसमेत नदिएपछि पार्टी छाड्ने आकलन गरिए पनि रावल एमालेमै सक्रिय थिए। तर, उनलाई पार्टीले कुनै भूमिका जिम्मेवारी नदिएकोमा देशव्यापी रूपमा एमालेभित्र चासो र चिन्ता बढेको थियो। गृहजिल्ला अछाममा सक्रिय रावल च्यासल पुगेसँगै अब एमालेको जिम्मेवारी पाउने अनुमान गरिएको छ।  

प्रकाशित: ३१ श्रावण २०८० ०४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App