७ वैशाख २०८१ शुक्रबार
राजनीति

बालेनलाई गणतन्त्र मन नपरेको कि नेता ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सोमबार टुँडिखेलमा आयोजना गरिएको गणतन्त्र दिवसको विशेष समारोहमा उपस्थित भएनन्। केही दिन अगाडिसम्म नेतालाई डम्पिङ साइटमा लगेर फाल्नुपर्ने धारणा राखेका मेयरले गणतन्त्र दिवसको कार्यक्रम अघोषित रूपमा बहिष्कार गरेसँगै सामाजिक सञ्जालमा निकै चर्चा चलेको छ।

एकातिर उनी नेताहरूलाई ‘चोर’ भन्दै गणतन्त्र दिवसको कार्यक्रम बहिस्कार गर्छन्। अर्कातिर राजावादीहरू बालेनको तारिफमा आफ्नो समय खर्चन्छन्

अुनप कार्की, सर्वसाधारण

उनलाई कसैले गणतन्त्र मन नपरेको भन्दै राजावादी भएको आरोप लगाएका छन् भने कतिले गणतन्त्रका नेता मन नपरेकाले उनी कार्यक्रममा नगएको हुनसक्ने बताएका छन्। ‘उनी राजावादी भएर हैन, अहिलेका नेताको चाला देखेर कार्यक्रममा नगएका हुन सक्छन्,’ सामाजिक सञ्जालमा प्रताप श्रेष्ठ लेख्छन्, ‘उनले जे गरेका छन् राम्रो गरेका छन् ।’

श्रेष्ठले यसो भने पनि कतिपयले भने उनी राजवादी भएको आरोप लगाए। ‘एकातिर उनी नेताहरूलाई चोर भन्दै गणतन्त्र दिवसको कार्यक्रम बहिष्कार गर्छन्,’ सामाजिक सञ्जालमा अनुप कार्की लेख्छन्, ‘अर्कातिर राजावादीहरू बालेनको तारिफमा आफ्नो समय खर्चन्छन्। कुनै एक कार्यक्रममा हिमानी साहसँगको बालेन भेटको तस्बिर सार्वजनिक गर्दै कार्कीले पछिल्लोसमय उनी राजवादीको आशाका केन्द्र बनेको बताए।

विगतमा गणतन्त्र दिवसको अवसर पारेर टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा विगतको समय काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयर अनिवार्य रूपले उपस्थित हुँदै आएका थिए। यस्तोमा मेयर साहले कार्यक्रम बाहिष्कार गरेसँगै विभिन्न खाले टिकाटिप्पणी चलेको हो। सिंहदरबारसंग टसल लिएका मेयरले यसपटक गणतन्त्र दिवसको कार्यक्रम अघोषित रूपमा बहिष्कार गरेर आफ्नो चरम असन्तुष्टि जारी राखेका छन्।

सरकारले आफ्ना काममा सहयोग नगरेको भन्दै चैतको अन्तिम साता सिंहदरबार परिसरको फोहोर उठाउन रोकेका बालेनले यसअघि प्रधानमन्त्रीले बोलाएको फोहोर व्यवस्थापनसम्बन्धी महत्वपूर्ण बैठकमा समेत सहभागिता जनाएका थिएनन् ।

उनी ‘राजावादी’ भएर हैन, अहिलेका नेताको ‘चाला’ देखेर कार्यक्रममा नगएका हुन सक्छन्, उनले जे गरेका छन् राम्रो गरेका छन् 

प्रताप श्रेष्ठ, सर्वसाधारण

संघ सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शितलनिवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रालिका कर्मचारीलाई निर्देशन दिएका थिए।

सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्पिङ गर्नुपर्ने भन्ने धारणा राखेका थिए। संघीय सरकारले आफूलाई असहयोग गरेको आरोप लगाउँदै २६ चैतदेखि सिंहदरबारको फोहोर नउठाउने निर्णय गरेका बालेनलाई सर्वोच्चको आदेशपछि ११ वैशाखपछि फोहोर उठाउन बाध्य बनेका थिए।

वैशाखको अन्तिम साता काठमाडौं महानगरपालिकाका मेयर साह प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बोलाएको बैठकमा गएनन्। काठमाडौंको फोहोर व्यवस्थापनसम्बन्धी महत्वपूर्ण बैठक छलेर बालेन एक्लै हिँड्न तम्सेको कतिपयले उक्त कार्यक्रममा बताएका थिए ।

मेरोबारेमा कुनै धारणा बनाउनु जरुरी छैन। म राजाको छोरा हुँ, म राजा बन्नु पर्छ भन्ने हैन। काठमाडौंको मेयर भनेको राज्य चलाउने पनि हैन, सेवा गर्ने पनि हैन। आफ्नो काम इमान्दारीसाथ गर्ने हो। जुन मैले गरिराखेको छु 

मेयर बालेन

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले मेयर साहको पूर्वनिर्धारित कार्यक्रमका कारण आफू मात्रै आएको जवाफ दिए पनि धेरैले त्यो पत्याएन्। ‘फेसबुक र ट्विट अनेक लेखेर बस्ने तर, आधिकारिक रूपमा बोलाउँदा नआउँने ?,’ अर्थमन्त्री प्रकाशशरण महतले प्रश्न गरेका थिए।

विशेषगरी नदी किनारका सुकुमबासी बस्ती हटाउन सरकारले असहयोग गरेका कारण बालेन थप आक्रमक बनेका हुन्। सरकारले यसपटकको बजेटमा नदी किनारका वस्ती हटाउने योजना सुनाए पनि बालेन शान्त नभएको उनका पछिल्ला स्टाटसबाट देखिन्छ।

बालेन कहिले भ्रष्टाचारीलाई वाग्मतीमा लगेर चोपल्नुपर्ने अभिव्यक्ति दिँदै चर्चामा आउँछन् त कहिले ओली, देउवा र प्रचण्डलाई लक्षित गर्दे व्यंग्य हान्न तम्सन्छन्। अझ वैशाखको अन्तिम साता त उनले कुनै नेताहरूलाई देशको माया नभएको भन्दै नयाँ पुराना सबै नेताहरू चोर भएको लेखेका थिए।

विशेषगरी नदी किनारका सुकुमबासी बस्ती हटाउन सरकारले असहयोग गरेका कारण बालेन थप आक्रमक बनेका हुन्।

‘नयाँ–पुराना सबै नेताहरू चोर हुन्,’ उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘कसैलाई देशको माया छैन ।’ गणतन्त्र दिवसको दिन टुँडिखेल नगएर मौनता साँधेका बालेनले त्यसको भोलिपल्ट संघीय संसद्का सांसदलाई कटाक्ष गर्न बाँकी छाडेनन्। ‘सांसद विकास कोष पाउने भएपछि बल्ल सांसदहरू वडाअक्ष्यक्षको लेबलमा आउनुभयो,’ सोमबारको बजेट वक्तव्यपछि मंगलबार साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्युहरू?’

उनको यो भनाइमाथि पनि घेरैले टिप्पणी गरे। ‘महालेखाले दुरूपयोग हुने गरेको भन्दै आएको तथा पुर्व अर्थमन्त्री विष्णु पौडेलले दुइ बर्ष अघि नै खारेज गरेको संसद् विकास कोष अहिले ब्युँताउने काम गरियो, सामाजिक सञ्जालमा सञ्जीव आचार्य लेख्छन्, ‘सांसदलाई जानजानी कमिसन खान दिने ठाउँ यो बजेटले दियो ।अब यसलाई सांसद मोटाउने बजेट भन्दा पनि हुन्छ।’

यता, अर्थमन्त्री प्रकाशशरण महत भने यो सिधै सांसदले आफूखुसी खर्च गर्ने मोडलमा नरहेको भन्दै बचाउ गरे। ‘१६५ ठाउँमै केही न केही विकासका कार्य जाओस् भन्ने लक्ष्यका साथ सांसद विकाश कोष राखिएको हो,’ अर्थमन्त्री महतले भने, ‘यो सांसदलाई सिधै आफूखुसी खर्च गर्न दिइने होइन।’

उनले यसो भने पनि प्रतिपक्ष दल एमाले नेता प्रदीप ज्ञवालीले सांसद विकास कोषबारे बालेनको पछिल्लो धारणाको राम्रो व्यंग्य भन्दै कोष आवश्यक नरहेको बताए। बालेनको पछिल्लो स्टाटसभन्दा पनि उनी गणतन्त्र समारोहमा नगएको कुराले थप ध्यान खिचेको देखिन्छ।

विगतमा स्टेज व्यवस्थापनको जिम्मेवारीका साथ सहभागिता जनाउने महानगरले यसपटक आफ्नो उपस्थिति नजनाउँदा धेरैले चासो व्यक्त गरेका हुन्। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार सरकारले नै महानगरपालिकालाई स्टेज व्यवस्थापनको जिम्मेवारी नदिएको बताउँदै समारोहमा महानगर सहभागी नभएको जानकारी दिए।

विगतमा स्टेज व्यवस्थापनको जिम्मेवारीका साथ सहभागिता जनाउने महानगरले यसपटक आफ्नो उपस्थिति नजनाउँदा धेरैले चासो व्यक्त गरेका हुन्।

आफ्नाबारेमा विभिन्न चर्चा परिचर्चा चले पनि स्वतन्त्रबाट काठमाडौं मेयरमा निर्वाचित बालेनले त्यसको खासै वास्ता गरेको देखिँदैन। मेयर साहले भने आफ्नोबारेमा त्यस्तो केही धारणा बनाउनु नपर्ने बताएका छन्। आफू महानगरको काम गर्न आएको बताउँदै आफ्नो काम जिम्मेवारीसाथ निर्वाह गर्ने उनले बताए। ‘म राजाको छोरा हुँ, म राजा बन्नुपर्छ भन्ने हैन,’ उनले भनेका छन्, ‘काठमाडौंको मेयर भनेको राज्य चलाउने पनि हैन, सेवा गर्ने पनि हैन। आफ्नो काम इमान्दारीसाथ गर्ने हो। जुन मैले गरिराखेको छु।’

प्रकाशित: १९ जेष्ठ २०८० ०१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App