२१ मंसिर २०८२ आइतबार
image/svg+xml
कला/संस्कृति

निरूपण

लघुकथा

‘यत्रो हिम्मत त्यसको?’ आफ्नो म्यासेन्जेरमा आएको अश्लील चित्र हेरेपछि उनी भुतभुताइन्।

‘के भयो?’ उनका श्रीमानले जिज्ञासा राखे।

उनले खुलस्त पारिन्, ‘एउटा फेसबुके साथीले ठूलै करामत गरेछ। न देख्नु न बोल्नु? कामविशेषले एकदुई पटक म्यासेजसम्म गरेको हो। अश्लील चित्र पठाउने आँट गरेछ।’ 

‘कहिलेदेखिको सिलसिला थियो? कि पहिलोपटक पठाको हो?´ शंकालु नजरले हेर्दै उनले प्रश्न गरे।

जवाफ दिनुको सट्टा उनले प्रतिप्रश्न गरिन्, ‘यो  फटाहाको आशय के होला? तिमी पनि पुरुष, पुरुष मनोविज्ञानबारे प्रष्ट पार त! अनि तह लाउने उपाय के होला?’

उनको मोबाइल लिएर उनले फोटो हेरें। फोटोको माथि लेखिएको थियो, ‘तपाईको प्रेरणा नामको सार्वजनिक समूहमा यस्तो चित्र आएको छ, हटाउनु होला।’

उनले हाँस्दै भने, ‘केटो छट्टू रहेछ। जानकारी दिने बहानामा आफ्नो भावना पोखेछ, बिचरा!’

उनको आक्रोश बढ्यो। उनी कराइन्, ‘अझ बिचरा रे! यसलाई के गरौं? अबदेखि यस्तो  नपठाउनू भनेर सम्झाऊँ?’

उनले सुझाव दिए, `हुन्न। तिम्रो जवाफले उसको मनोबल झन् बढ्छ। सामाजिक सञ्जालमा हुने यस्ता बदमासीलाई वास्तै नगर्नु राम्रो हुन्छ। हुन त यो अपराधिक क्रियाकलाप भनेर पुलिस रिपोर्ट गर्नुहुन्थ्यो तर रछ्यान चलायो मुखमा छिटा जस्तो हुने हो कि? उसै त नेपालको कानुन, दैव जानून् भन्या जस्तो छ।’

‘न रहे बाँस न बजे बाँसुरी!’ भन्दै उनले उसलाई ब्लक गरिन्।

प्रकाशित: २८ चैत्र २०८१ १२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App