१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

विपक्षी दलका नेताको मासिक पारिश्रमिक ६१ हजार, अरु ‘टन्नै’ सुविधा

प्रतिनिधि सभा विपक्षी दलका नेताले मासिक ६१ हजार रुपैया पारिश्रमिक र अरु ‘टन्नै’ सुविधा पाउने भएका छन्। 

संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को सम्बन्धित दफाहरू र अनुसूची १ तथा अनुसुची २ मा विपक्षी दलका नेताको सुविधा तोकिएको छ।

ऐनको अनुसूची १ बमोजिम विपक्षी दलको नेताको पारिश्रमिक ६० हजार ९ सय ७०, विशेष भत्ता १ हजार, बैठक भत्ता १ हजार, सञ्चार सुविधा ३ हजार रूपैयाँ छ।

यसैगरी, आवास सुविधा प्रतिमहिना २५ हजार ६ सय ८, फर्निचर १५ हजार, निजी सचिवालय बन्दोवस्त १७ हजार ५०, गार्डघर प्रतिमहिना १७ हजार ५०, सवारी इन्धन प्रतिमहिना २ सय ३० लिटर, मोबिल त्रैमासिक ५ लिटर, बिजुली धारा प्रतिमहिना २ हजार, दैनिक भ्रमण भत्ता मासिक २ हजार ५ सय रहेको छ। त्यस्तै, यात्रा बिमा प्रतिभ्रमण १० लाख रूपैयाँ, मृत्यु भएका पदाधिकारी वा सदस्यको परिवारलाई आर्थिक सहायता २ लाख, ५० हजार रूपैयाँ प्राप्त गर्दछन्।

यसैगरी, अनुसूची २ बमोजिम स्वकीय सचिव एक, सुब्बा सरहको कम्प्युटर अप्रेटर एक, सवारी चालक प्रथम स्तर दुई, प्रिन्टरसहितको कम्प्युटर एक, साइकल दुई, अतिथि सत्कार प्रतिमहिना दुई हजार, अंगरक्षक पदिक एक, विल्लादार गार्ड एक, सैनिक जवान १० जना उपलब्ध हुने व्यवस्था छ। नेपाली काँग्रेसका सभापति तथा सांसद शेरबहादुर देउवाले यो सुविधा पाउनेछन् ।  

एक साताअघि नेपाली कांग्रेस संसदीय दलले विपक्षी दल आफू भएको भन्दै विपक्षी दलले पाउने सुविधाको माग गर्दै संसद् सचिवालयमा पत्र पठाएको थियो। त्यही पत्रको जवाफमा संसद् सचिवालयले उल्लेखित ऐनमा भएको व्यवस्थाबारे काँग्रेस संसदीय दललाई जानकारी दिएको थियो।

प्रतिनिधिसभाको विपक्षी दलको भूमिका कांग्रेस रहने भएको छ। संसद्मा सबैभन्दा बढी सिट ल्याए पनि सरकारमा सहभागी नभएको कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए। कांग्रेसले विश्वासको मत दिएपछि सत्तापक्ष दलको भूमिकामा कांग्रेस रहेको भन्दै केही संविधानविदले कांग्रेस प्रतिपक्ष बन्न नपाउने तर्क गरेका थिए। प्रतिपक्ष दल नै नभएको भन्दै दाहाललाई विश्वासको मत नदिएको नेपाल मजदूर किसान पार्टीले आफू प्रतिपक्ष भएको दाबी गर्दै संसद सचिवालयमा निवेदन दर्ता गरेको थियो।

प्रकाशित: १० माघ २०७९ ०८:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App