१६ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसले पदाधिकारीबिहीन भातृसंस्था बनाउन खोज्नु दुर्भाग्यपूर्ण : महर

अपूर्ण रहेका नेपाली कांग्रेसका भातृसंस्थाहरूलाई पदाधिकारीबिहीन पूर्णता दिने तयारी भइरहेको छ। यस्तोमा पार्टीका केन्द्रीय सदस्य नैनसिंह  महरले भने फरक मत राखेका छन्।  

नेबिसंघका पूर्वअध्यक्ष समेत रहेका महरले भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई पदाधिकारी बिनाको समिति बनाएर बाहिर ल्याउनु दुर्भाग्यपूर्ण हुने दाबी गरेका छन्। शनिबार नयाँबानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै नेविसंघका पुर्व अध्यक्ष समेत रहेका महरले पदाधिकारी विनाको समिति निर्माण गर्नु  विधान विपरित हुने बताए।

पार्टीमा नेताहरूलाई सबै पद चाहिने। तर, नेविसंघ, तरुणदल र महिला संघ जस्ता भ्रातृ संस्थामा अरुका लागि पद चाहिन्न भन्ने कुरा हुँदैन। यसले पार्टीलाई राम्रो गर्दैन। हिजो भ्रातृ र शुभेच्छुक संस्था अपडेट नभएकै कारण चुनावमा हामीले करिव सात लाख मत कम पाएका छौं, उनले भने। जनता र पार्टीका बीचमा सम्बन्ध स्थापित गर्न भ्रातृ संस्थाहरूको भूमिका ठूलो हुने उनी बताउँछन्।

सबै समिति अपडेट भएका भए पार्टीका मुद्दा जनतामाझ वकालत गर्थ्यो। जनताका कुरा पार्टीलाई भन्थ्यो। यसले जनता र पार्टीबीचको दूरी घट्न ठूलो मद्दत पुग्थ्यो। हामी त्यही अनुसारको नीति बनाएर अघि बढ्थ्यौं। यस पटक भ्रातृ संस्था ुअपडेटु नभएकै कारण पनि हामीले ठूलो क्षति व्यहोरेका छौं, उनी भन्छन्। १० वर्षसम्म पनि पार्टीका भ्रातृ संस्थाको महाधिवेशन हुन नसक्नु दुखद भएको उनको तर्क छ। यसले गर्दा विभिन्न क्षेत्रको सक्षम नेतृ जाम भएको उनले बताए।

पदाधिकारीसमेत नबनाएर पार्टीको ठूलो शक्तिलाई बहिर्गमन गर्ने कुरा जीवन्त पार्टीका लागि राम्रो नहुने उनको प्रस्टोक्ति छ। ुपार्टीका पदाधिकारीहरूले प्लेन कमिटी ल्याउने विषयमा सहमति गरेको भन्ने सुनिएको छ। यसको खिलापमा दसौं हजार जिम्मेवारी नपाएका साथीहरू छन्। यो दश वर्षमा दुई वर्षमै डेड दुई सयको समिति बनेको भए प्रत्येक वर्ष हजारभन्दा बढी साथीहरूले जिम्मेवारी पाएर प्रशिक्षित भई नेतृत्व तहमा पुगिसक्थे,नेता महर भन्छन्।

पार्टी नेताहरूलाई सबै जिम्मेवारी चाहिने तर भ्रातृ संस्थामा अरुलाई पद नचाहिने भन्ने नहुने महर बताउँछन्। उनले आफू पदाधिकारीसहितको समिति निर्माण हुनुपर्ने पक्षमा रहेको बताए। केन्द्रीय नेतृत्वले भागवन्डा मिल्दैन कि भनेर आफ्ना भ्रातृ संगठनलाई अनिर्णयको बन्दी बनाउनु शोभनीय नभएको उनको तर्क छ। विधान अनुसार महाधिवेशन नगर्ने कुरा भनेको संगठनको निर्माण रोक्ने कार्य भएको उनको ठम्याइ छ।

६ हजार ७ सय ४३ वटै वडामा नेपाली कांग्रेसको समिति छ। त्यसलाई नै त्यहाँको स्थानीयमा भ्रातृ संस्था निर्माणको जिम्मेवारी दिनुपर्छ। जिल्ला समितिको जिम्मा पार्टी जिल्ला समितिलाई दिने। सामुदायिक क्याम्पस भए पालिका तहलाई जिम्मा दिने। सबै भ्रातृ संस्थाको प्रदेश समिति निर्माणको जिम्मा पार्टी प्रदेश समितिलाई दिनुपर्छ। केन्द्रको समिति केन्द्रले बनाउनुपर्छ। युनिभर्सिटी र सातै प्रदेशका सेन्ट्रल क्याम्पसमा केन्द्रले हेरे पनि सबै ठाउँमा केन्द्रले हेरेर पुग्दैन। यो तदर्थ समिति बनाउँदा भयो। त्यसपछि विधान अनुसार अधिवेशन गर्नुपर्छ। मैले पार्टीमा यही आवाज उठाइरहेको छु, उनले भने। विधान अनुसार पदाधिकारीसहितको भ्रातृ संस्थाहरूको समिति निर्माणमा पार्टीभित्र सबै एकमत हुन आवश्यक रहेको उनले बताए।

प्रकाशित: ३० पुस २०७९ ०८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App