७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस नेता विजयलाई हराउँदै भगवती विजयी

सुनसरी क्षेत्र नं. ३ मा प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाई हराएर नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छन्। मंगलबार साँझ सकिएको मतगणनामा भगवतीले विजयलाई ५ हजार १८८ मतान्तरले तेस्रोपटकको प्रयासमा निर्वाचित भएकी हुन्। यसअघि दुईपटक भगवती विजयसँगै झिनो मतले पराजित भएकी थिइन्। भगवतीले ४० हजार७८८ मत ल्याएकी छन्। विजयले भने ३५ हजार ६००  मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार ४५३ मत प्राप्त गरे।  

भगवती निर्वाचित जनप्रतिनिधि बनेसँगै विजयको सातौंपटक निर्वाचित भएर सिंहदरवार प्रवेश गर्ने यात्रा ब्रेक लगाई दिएकी छन्।  ५१ वर्षीया भगवती विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्दै गर्दा २०४८ सालमा अनेरास्ववियूमा संगठित बनेकी थिइन्। भगवती अहिले एमाले केन्द्रीय सदस्य पनि छन्। दुहबी वडा नं. ३ की बासिन्दा उनले २०५१ सालमा ‘फरवार्ड एनजिओ’ स्थापना गरेर विभिन्न शैक्षिक तथा सामाजिक काममा हात हालेकी थिइन्।  त्यही एनजिओलाई २०५९ मा लघुवित्तमा रूपान्तरण गरेपछि राजनीतिमा सक्रिय हुन थालेकी थिइन्।  

२०६४ को पहिलो संविधान सभामा समानुपातिक सदस्यका रूपमा संविधानसभा प्रवेश गरेकी उनी प्रधानमन्त्री झलनाथ खनाल भएको बेला वन राज्यमन्त्री भएकी थिइन्। २०७० मा पहिलो पटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएकी भगवती विजयसँगै पराजित हुन पुगेकी थिइन्। २०७४ सालको निर्वाचनमा पनि विजयसँगै भगवती पराजित हुन पुगीन्। २०४८ सालयताका कुनै पनि निर्वाचनमा हार नबेहोरेका विजय यसपटक भने फराकिलो मतले पराजित हुन पुगे। २०६४ सालदेखि मधेसवादी दलमा गएर विजय दस वर्षपछि फेरि पुरानै पार्टीमा फर्किएपछि भने पहिलाको तुलनामा पुरै  प्रभाव घटेको थियो।  

यसपटक विजय ललिला निवास जग्गा प्रकरणमा मुछिएकाले गर्दा पनि भगवतीलाईं चुनाव प्रचार गर्न सजिलो भएको थियो। जसले गर्दा पनि धेरै मतान्तरले भगवती निर्वाचित हुन सफल भएकी हुन्।  क्षेत्र नं. ३ मा इटहरी उपमहानगरपालिकाका दसवटा वडासहित दुहवी नगरपालिका, गढी र बर्जु गाउँपालिका पुरै समेटिएको छ। इनरुवाको वडा नं. ७ पनि क्षेत्र नं. ३ मै समेटिएको छ।  

प्रकाशित: १३ मंसिर २०७९ १३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App