नेकपा (एमाले) जुम्लाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला अध्यक्ष शान्तिलाल महतलाई एकल उम्मेदवारको रूपमा सिफारिस गरेको छ। आइतबार जुम्लामा बसेको सचिवालय बैठकले सर्वसम्मत रुपमा महतको नाम अनुमोदन गरेको हो।
जिल्ला पार्टी सचिव मानबहादुर रोकायाले भने, “उम्मेदवारको नाम एकल सिफारिस गरेर पार्टीलाई एकताबद्ध बनाउने र आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित गर्ने सन्देश दिन खोजिएको हो।” बैठकमा सहभागी सचिवालय सदस्य तथा अन्य नेता–कार्यकर्ताले उम्मेदवार चयनमा सहमती जनाएका थिए। पार्टीभित्रको छलफल र धारणा अनुसार, यो कदम केवल उम्मेदवार चयनको प्रक्रिया नभई एमालेको आन्तरिक एकतालाई सार्वजनिक रूपमा देखाउने रणनीति पनि हो।
उम्मेदवार महतले आफूलाई एकल सिफारिस गरिएको अवसर थप जिम्मेवारीका रूपमा लिएको बताएका छन्। उनले सबै नेता–कार्यकर्ता र समर्थकसँगको सहकार्यमा निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्ने योजना अघि सारेका छन्।
प्रकाशित: २० पुस २०८२ १९:१८ आइतबार





