७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

चरेस तस्करीमा विदेशी 'ज्वाइँ'

काठमाडौं-भारतको हिमाचलमा १२ वर्ष साधु भएर बसेका अस्ट्रियन नागरिक रोबर्ट पुस रल्लिँदै ६ वर्षअगाडि नेपाल आइपुगे । पर्यटकीय नगरी पोखराको स्थानीय होटल बसाइमा नेपाली युवतीसँग मन बस्यो र बिहेवारी गरी यतै बसे । पोखरामै बस्दै आएका उनी नेपाली तयारी पोसाकको कारोबारमा संलग्न थिए।


६ वर्षपछि बल्ल खुल्यो तयारी पोसाकको व्यापार उनको आवरण मात्रै रहेछ । ग्रिसको एन्थेन जान गितार बोकेर त्रिभुवन विमानस्थल पुगेका उनी पक्राउ परेपछि खुल्यो नेपाली चेलीसँग विवाह गरी एक छोरीका साथ नेपालमा बस्दै आएका उनको भित्री कारोबार चरेसको रहेछ ।

लागुऔषध नियन्त्रण ब्युरोका डिआइजी जयबहादुर चन्दका अनुसार फागुन २४ गते दिउँसो साढे ११ बजे काठमाडौंबाट टर्किस एयरवेजबाट स्तानबुल हुँदै ग्रिसका लागि हिँडेका उनको साथमा रहेको गितारबाट चरेस निस्किएको थियो ।

विमानस्थलमा रहेको एक्सरे मेसिनमा उनको सामान राख्दा शंकास्पद देखिएपछि गितार खोलेर हेर्दा गितारको पछिल्लो भागमा लुकाएर राखेको अवस्थामा ८ सय ४० ग्राम चरेस फेला परेपछि ब्युरोले उनलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइरहेको छ ।

उनले गितारको काठको भागमा सिल्भर ¥यापिङ पेपरले चरेस बेरेर राख्दा एक्सरे मेसिनले पहिल्याएको थियो । प्रारम्भिक अनुसन्धानमा उनी आफैंले गितारलाई चरेस लुकाउने माध्यम बनाएको देखिएको ब्युरो अधिकारीले जानकारी दिए ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार पक्राउपछि उनले प्रारम्भिक बयानमा अस्ट्रियामा बिक्रीका लागि चरेस लैजाने प्रयास गरेको स्वीकार गरेका छन् । उनले बयानमा अस्ट्रियामा नेपाली चरेस प्रतिग्राम ६ देखि ८ युरोसम्ममा सहजै बिक्री हुने भएकाले सो चरेस लैजान सकेको भए ७ लाख ५० हजार रुपैयाँ आम्दानी हुने विवरणसमेत खुलाएका छन् ।

उनको यात्रा विवरणमा यसअगाडि तीन पटक अस्ट्रिया गइसकेको खुलेको छ । लागुऔषध सहित पक्राउ पर्ने अधिकांश विदेशी नागरिकले आफूले खानाका लागि लैजान लागेको बयान दिने गरेका थिए । उनले भने बिक्रीका लागि लैजान लागेको स्वीकार गरेका छन् ।

'चाय, चिलिम र चपाटी'

ब्युरोका अनुसन्धान अधिकारीलाई रोबर्टले दिएको बयानअनुसार अस्ट्रियामा बढ्दो हिप्पी संस्कृतिसँगै कलेज उमेरमै उनी चरेसको लतमा फसेका थिए । प्लस टु पढ्दापढ्दै चरेसको नशामा फसेका उनी फिरन्ते बन्दै स्थलमार्गबाट इरान, पाकिस्तान हुँदै भारत आइपुगेका थिए ।

गाँजाको खोजीकै क्रममा उनी भारतको हिमाचल प्रदेश पुगे र साधुको संगतमा परे । हिमाचलमा उनी साधुसँग १२ वर्ष बिताएर अस्ट्रिया फर्किएका थिए । 'हिमाचल बस्दा चाय, चिलिम र चपाती नै मेरो दैनिकी थियो,' रोबर्टको बयान उद्धृत गर्दै ब्युरो अधिकारीले भने, 'अस्ट्रियामा फर्किएर स्की कम्पनीमा काम गरे पनि मन लागेन र नेपाल आएँ ।'

सन् २००९ मा पर्यटक भिसामा नेपाल आएका उनी घुम्न पोखरा पुगे । लेकसाइडमा घुमघाम क्रममा सहजै चरेस फेला पार्न थालेपछि उनी त्यतै रमाए । उनी पोखराको लेक भ्यु होटलमा बस्थे । त्यहीँ बस्ने क्रममा होटलमा वेटर काम गर्ने नेपाली युवतीसँग सम्बन्ध बढ्यो । सन् २०१० मा छोरी जन्मिइन् ।

घरखर्च चलाउन उनले नेपाली टिसर्ट युरोप पठाउँदै आएका थिए । व्यापारको मन्दीसँगै घर खर्च चलाउन अप्ठ्यारो भयो । पोखरामा सहजै चरेस पाइने । अस्ट्रियामा उच्च माग रहेको जानकार उनले घर र गाडीकै लागि चरेस कारोबारमा प्रवेश गरेको बयानमा दाबी गरेका छन् ।

'६ महिना त मलाई योजना बनाउनै लाग्यो,' ब्युरोको प्रारम्भिक बयानमा रोबर्टले भनेका छन्, 'गितारमा लैजाँदा पक्राउ परिन्न भन्ने लागेर आफैंले प्याक गरें, तर जोगिन सकिनँ ।'

चरेस तस्करीमा 'ज्वाइँ'

पछिल्लो समय पर्यटक भिसामा नेपाल आएर यतै विवाह गरी वैवाहिक भिसामा बसी व्यापारको आवरणमा लागुऔषध तस्करी गर्ने ट्रेन्ड देखिएको ब्युरो अधिकारी बताउँछन् । अनुसन्धानमा चरेस तस्करीकै योजना बनाएर नेपाल आएर विवाह गरी बस्ने गरेको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् ।

चरेस तस्करीको अभियोगमा पक्राउ पर्नेमा रोबर्ट पहिलो 'ज्वाइँ' हैनन् । पर्यटक भिसामा नेपाल आएर नेपाली युवती विवाह गरी वैवाहिक भिसामा यतै बसेर चरेस तस्करीमा संलग्न अन्य २ नेपाली ज्वाइँ पक्राउ परिसकेकाले ब्युरो अधिकारीको तर्क बलियो देखिन्छ ।

ब्युरो तथ्यांकअनुसार २०७२ भदौ २० मा अर्का अस्ट्रियन नागरिक क्लासुन एन्जोफर एक किलो चरेससहित पक्राउ परेका थिए । एयर इन्डियाबाट भारत हुँदै स्विजरल्यान्ड हिँडेका उनी विमानस्थलमा पक्राउ परेका थिए । अनुसन्धानमा उनी पनि रोबर्टझैं प्रारम्भमा पर्यटक भिसामा नेपाल आएर यतै नेपाली युवतीसँग विवाह गरी २० वर्षदेखि बस्दै आएको खुलेको थियो । उनले बाहिरी आवरणसमेत रोबर्टझंै नेपाली सामान युरोपमा निर्यात गर्ने नै थियो ।

बौद्ध धर्मसम्बन्धी पुस्तकमा चरेस लुकाएर युरोप जान विमानस्थल हिँडेका इजरायली नागरिक नोमा एन्बार पुस २६ मा ४ सय ८० ग्राम चरेससहित विमानस्थलमै पक्राउ परेका थिए ।

प्रकाशित: २५ फाल्गुन २०७२ २२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App