७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

पुलिस र होराइजनलाई सफलता

काठमाडौं– नेपाल पुलिस क्लबले रुस्लान कप ट्वान्टी–२० क्रिकेटमा बिहीबार हेटौंडाको मकवानपुर क्रिकेट क्लबलाई १० विकेटले हराउँदै सेमिफाइनलमा एपिएफसँग भेट पक्का गर्दा न्यु होराइजनले आयोजक काठमाडौं क्रिकेट टेनिङ सेन्टर (केसिटिसी) माथि ६ विकेटको जित निकाल्दै अन्तिम ४ मा स्थान बनाएको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको मकवानपुरले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय १२ रन बनाएको थियो। त्यसलाई पुलिस क्लबले १५ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो।

पुलिसको जितमा सुनील धमला र शंकर राना दुवैले अर्धशतक पूरा गरे । ४९ बल खेलेका सुनीलले २ छक्का र ५ चौका प्रहार गर्दै अविजित ५५ रन बनाए । ५१ रनमा अविजित शंकरले ४२ बल खेल्दै १ छक्का र ५ चौका प्रहार गरे।

त्यसअघि मकवानपुरका साहिल कंसाकारले सबैभन्दा धेरै २६ रन बनाए भने रविन गुरुङले २२ रन बनाए । दुवैलाई प्रेम तामाङले आउट गरेका थिए । साहिललाई दिलीप नाथको हातबाट क्याच गराएका प्रेमले रविनलाई सुनील धमलाबाट क्याचआउट गराएका हुन् । छैटौं स्थानमा ब्याटिङ गर्न आएका सुमन सुनारले १९ रन जोड्नु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । उनी दीपेन्द्र ऐरीको बलमा बोल्ड भए ।

पुलिसका ललित भण्डारी, सुनील, मन्जित श्रेष्ठ, दीपेन्द्र र प्रेमले १–१ विकेट लिए ।

अर्को खेलमा न्यु होराइजनले आयोजक केसिटिसीलाई ६ विकेटले हरायो । टस जितेको केसिटिसीले १९ ओभरमा सबै विकेट गुमाएर ९६ रनमात्र जोड्न सकेको थियो । होराइजनका सुसन भारीले ४ विकेट लिए भने देवेन्द्र सोमारेले ३ विकेट लिए। धीरज शाही र विशाल सुनारको नाममा १–१ विकेट रह्यो । केसिटिसीका आदिल खानले सबैभन्दा धेरै १८ रन बनाए। अश्चल चौधरीले १० रन बनाए भने दिलीप यादव १० रनमा अविजित रहे ।

९७ रनको लक्ष्य न्यु होराइजनले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । आपनर नूरध्वज सेन १ रनमा आउट भए पनि सन्दीप सुनार र निर्मल थापाले होराइजनको इनिङ सम्हालेका थिए । सन्दीप १४ रनमा आउट भए भने निर्मलले सर्वाधिक ३१ रनको योगदान गरे । सुसन १० रनमा आउट हुँदा प्रकाश केसीले अविजित २३ रन बनाए।

केसिटिसीका रोबिन क्षेत्रीले २ विकेट लिए भने नन्दन यादव र दिलीप यादवको नाममा १–१ विकेट रह्यो। शुक्रबार सेमिफाइनलमा पुलिसले एपिएफसँग खेल्नेछ भने न्यु होराइजनको भेट त्रिभुवन आर्मीसँग हुनेछ।

प्रकाशित: २० फाल्गुन २०७२ २०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App