१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

रुपन्देही : पाँच निर्वाचन क्षेत्रका लागि १५७ उम्मेदवार, महिलालाई उपेक्षा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीबाट १५७ जनाले उम्मेदवारी दर्ता गरेका छन्। जसमा १३७ जना पुरुष र २० जना महिला छन्। ६३ जनाले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका हुन्।

५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा १ सय ५७ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख कल्पना अर्यालले जानकारी दिइन्।  

जिल्लाका सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ताको काम सकिएको जिल्ला निर्वाचन अधिकारी अर्यालले बताइन्। रुपन्देहीमा यसअघिका हेभिवेट भनिएका पुराना नेता सँगै युवा पुस्ताको पनि उल्लेख्य मनोनयन परेको छ। तर महिला, जनजाति, पिछडिएको वर्ग भने यसपाली पनि उपेक्षामा परेका छन्। 

रुपन्देही क्षेत्र नं. १ मा ३१ जनाको मनोनयन परेको छ। त्यसमा ११ जना स्वतन्त्र उम्मेदवार छन्। महिला २ जना छन्। यो क्षेत्रमा जनमत पार्टीले मात्रै महिलालाई टिकट दिएको हो। एक जना महिला स्वतन्त्र उठेकी छिन्।  

यो क्षेत्रबाट नेपाली कांग्रेसबाट हिराबहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन्। उनी २०७४ मा देवदह नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। युवा नेता केसी अहिले पार्टीको क्षेत्रीय सभापति छन्। सो क्षेत्रमा नेकपा एमालेबाट ध्रुवीराम न्यौपाने मनोनयन दर्ता गराएका छन्। न्यौपाने पार्टीको केन्द्रीय सदस्य छन्।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुनिल लम्सालले उम्मेदवारी दर्ता गराएका छन्। उनी पार्टीका महामन्त्री हुन्। नेपाल कम्युनिष्ट पार्टीबाट घनश्याम यादवले उम्मेदवारी दिएका छन्। त्यस्तै राप्रपाबाट प्रज्वल बोहोरा उठेका छन्। उनी आइटि इन्जिनियर हुन्।

क्षेत्र नं. २ मा ४१ जनाले मनोनयन दर्ता गरेका छन्। ती मध्ये २१ जना दलका उम्मेदवार छन् भने २० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। महिला १० जना छन्। यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टी र मंगोल नेशनल अर्गनाइजेशनले मात्रै महिलालाई उम्मेदवार बनाएका छन्।  

यो क्षेत्रमा नेपाली कांग्रेसबाट चुन्नप्रसाद पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। पौडेल कांग्रेसको महासमिति सदस्य हुन्। उनी सफल उद्योगीको रुपमा पनि चिनिएका व्यक्ति हुन्। नेकपा एमालेबाट विष्णु प्रसाद पौडेलले मनोनयन दर्ता गराएका छन्। 

यसअघि यही क्षेत्रबाट प्रतिनिधि सभामा ह्याट्रिक गरेका पौडेल पार्टीका उपाध्यक्ष हुन् भने पटक पटक अर्थमन्त्री भइसकेका छन्। मनोनयन दर्ताको दुई दिन अघिसम्म पौडेलले पाल्पाबाट टिकट पाएको भनिएको थियो। तर आइतबार साँझपख भने उनले रुपन्देहीबाटै टिकट पाएको बताइयो। स्थानीय नेता कार्यकर्ताहरुको जोडबलमा उनलाई रुपन्देहीमै फिर्ता गराउन सफल भएको बताइएको थियो। यो क्षेत्रमा नेकपाबाट सुभाष पाण्डे (विश्वदीप) पाण्डेले उम्मेदवारी दिएका छन्। रास्वपाबाट सुलभ खरेलले मनोनयन दर्ता गराएका छन्।  

क्षेत्र नं. ३ मा ३६ जनाको उम्मेदवारी परेको छ। ती मध्ये १९ जनाले दलबाट र १७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। महिला जम्मा २ जना छन्। यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले मात्रै महिला उम्मेदवार उठाएको छ। क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका सुशील गुरुङले उम्मेदवारी दिएका छन्। युवा नेता गुरुङ पार्टीको क्षेत्रीय सभापति हुन्। नेकपा एमालेबाट वासुदेव घिमिरेले उम्मेदवारी दिएका छन्। 

घिमिरे २०७९ मा क्षेत्र नं. ५ बाट संघीय संसदमा निर्वाचित भएका थिए। त्यसअघि उनी एमालेबाटै तिलोत्तमा नगरपालिकाको मेयर जितेका थिए। रास्वपाबाट क्षेत्र नं. ३ मा डा. लेखजंग थापा उठेका छन्। उनी पेशाले चिकित्सक हुन्। राप्रपाबाट गौरव बोहोराले नाम दर्ता गराएका छन्। बोहोरा यसअघि पाइलट थिए। यसअघिको निर्वाचनमा उनका बुवा दिपक बोहोरा यही क्षेत्रबाट संघीय संसदमा निर्वाचित भएका थिए। बुवाको निधनपछि छोरा गौरवले बुद्ध एयरको सिनियर पाइलटबाट राजीनामा दिएर राजनीतिमा लागेका हुन्।  

क्षेत्र नं. ४ मा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा १५ जना पार्टीबाट र ७ जना स्वतन्त्र उम्मेदवार छन्। यो क्षेत्रमा महिला ३ जनाले उम्मेदवारी दिएका छन्। नेपाल मजदुर किसान पार्टी र आम जनता पार्टीले महिलालाई उठाएका छन्।  

यो क्षेत्रमा नेपाली कांग्रेसबाट आशुतोष मिश्र, नेकपा एमालेबाट प्रमोद कुमार यादव, रास्वपाबाट कन्हैया बनियाँ उठेका छन्। एमालेबाट उठेका यादव यसअघि कांग्रेसमा थिए। यसपाली कांग्रेसले टिकट नदिएपछि सोमबार रातारात उनी एमाले प्रवेश गरेर मंगलबार बिहान टिकट लिएर आएका हुन्। रास्वपाका बनियाँले २०७९ मा तमलोपाबाट प्रदेश सांसद जितेका थिए। सोमबारै लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर उनी रास्वपामा प्रवेश गरे र टिकट लिएर आए।  

क्षेत्र नं. ५ मा २७ जनाको उम्मेदवारी परेको छ। जसमा १९ जना दलबाट र ८ जना स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। महिला ३ जना छन्। नेशनल रिपब्लिक नेपाल र राष्ट्रिय जनमुक्तिले महिला उम्मेदवार बनाएका हुन्।  

यो क्षेत्रमा नेपाली कांग्रेसबाट भरतकुमार शाहले मनोनयन दर्ता गराएका छन्। शाह २०७४ मा सोही क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। एमालेबाट खिमलाल भट्टराईले मनोनयन दर्ता गराएका छन्। भट्टराई पार्टीका केन्द्रीय सदस्य हुन् भने रुपन्देही जिल्ला इन्चार्ज हुन्। यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तौफिक अहमद खानले उम्मेदवारी दर्ता गराएका छन्।  

निर्वाचन कार्यालयले मनोनयन दर्ता गर्न जाँदा तडकभडक नगर्नु र बाजागाजा सहित नजानु भन्ने उर्दी जारी गरे पनि सबैजसो पार्टीले आफ्ना उम्मेदवारहरुलाई ठूला व्यानरका अगाडी लगाएर नाराबाजी गर्दै निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। मनोनयन दर्ताकै दिन निर्वाचन जिते जसरी नाराबाजी सहितको जुलुस सबै दलले निकालेका थिए। 

प्रकाशित: ७ माघ २०८२ १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App