आसन्न प्रतिनिधि सभा निर्वाचनको लागि सिरहामा ४ सिटका लागि १३९ उम्मेदवारले मनोनयन पत्र दर्ता गरेका छन्।
जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार चार सिटका लागि कुल १३९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य राजनीतिक दलसँगै ठुलो संख्यामा स्वतन्त्र उम्मेदवार मैदानमा उत्रिएका छन्।
क्षेत्र नं-१ नेपाली कांग्रेसबाट राम सुन्दर चौधरी, नेकपा एमालेबाट राम शंकर यादव, नेपाली कम्युनिस्ट पार्टीबाट रामचन्द्र यादव, राष्ट्रीय स्वतन्त्र पार्टीबाट बब्लु गुप्ता, जसपा नेपालबाट सत्य नारायण यादव र जनमत बाट राम स्वरुप चौधरी उम्मेदवार बनेका छन्।
यो क्षेत्रबाट गत निर्वाचनमा नेकपा एमालेबाट राम शंकर यादव २०७९ मा निर्वाचित भएका थिए। यो क्षेत्रमा जम्मा ३२ जनाको उम्मेदवारी परेको छ। जसमा १८ जना स्वतन्त्र छन्। यो क्षेत्रमा १ लाख ११ हजार ९४९ मतदाता रहेका छन्। मतदान स्थल ५६ र मतदान केन्द्र १ सय ३० रहेका छन्।
क्षेत्र नं-२ मा नेपाली कांग्रेसबाट रामचन्द्र यादव, नेकपा एमालेबाट नवीन कुमार यादव, नेपाली कम्युनिस्ट पार्टीबाट मुक्ति नारायण सिंह, रास्वपाबाट शिव शंकर यादव (शिव), जसपा नेपालबाट संजीव कुमार यादव र जनमतबाट बिनोद कुमार यादव उम्मेदवार बनेका छन्।
यो क्षेत्रबाट गत निर्वाचनमा जसपा नेपालका राज किशोर यादव निर्वाचित भएका थिए। यो पटक १५ स्वतन्त्रसहित २९ जनाको उम्मेदवारी परेका छन्। यो क्षेत्रमा १ लाख १५ हजार ७६० मतदाता रहेको छ। मतदान स्थल ५४ र मतदान केन्द्र १ सय ३६ रहेका छन्।
क्षेत्र नं-३ मा नेपाली कांग्रेसबाट सुभाष चन्द्र यादव, नेकपा एमालेबाट लिलानाथ श्रेष्ठ, रास्वपाबाट शम्भु कुमार यादव, नेपाली कम्युनिस्ट पार्टीबाट विश्वनाथ साह, जसपा नेपालबाट अशेश्वर यादव र जनमतबाट रोहित महतो उम्मेदवार बनेका छन्।
गत निर्वाचनमा यो क्षेत्रबाट नेकपा एमालेका लिलानाथ श्रेष्ठ विजयी भएका थिए। यो क्षेत्रमा २९ जना स्वतन्त्रसहित ४१ जनाको उम्मेदवारी परेको छ। यो क्षेत्रमा जम्मा १ लाख १९ हजार २५० मतदाताको संख्या रहेको छ भने मतदान स्थल ५३ र मतदान केन्द्र १ सय ३६ रहेका छन्।
क्षेत्र नं- ४ मा नेपाली कांग्रेसबाट चन्द्रकला कुमारी यादव, नेपाली कम्युनिस्ट पार्टीबाट अजय शंकर नायक, नेकपा एमालेबाट धर्मनाथ साह, रास्वपाबाट तपेश्वर यादव, जनता समाजवादी पार्टीबाट राज किशोर यादव र जनमतबाट विरेन्द्र प्रसाद महतो उम्मेदवार बनेका छन्।
यो क्षेत्रबाट गत निर्वाचनमा जनता समाजवादी पार्टीबाट विरेन्द्र प्रसाद महतो विजयी भएका थिए। यो क्षेत्रमा ३७ जना उम्मेदवार छन्। जसमा २३ जना स्वतन्त्र छन्। यो क्षेत्रमा १ लाख ६ हजार ६८६ मतदाता रहेका छन्। मतदान स्थल ६० र मतदान केन्द्र १ सय २९ रहेका छन्।
प्रकाशित: ७ माघ २०८२ १४:०४ बुधबार





