कपिलवस्तुमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा ३ क्षेत्रका लागि ९८ जनाले उम्मेदवारी दिएका छन्।
त्यसमध्ये दलको तर्फबाट ५० र स्वतन्त्र ४८ जनाले उम्मेदवारी दिएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार क्षेत्र नम्बर १ मा २० दल र १४ स्वतन्त्र गरी कुल ३४ जनाको उम्मेदवारी परेको छ।
यस्तै क्षेत्र नम्बर २ मा १७ दल र ११ स्वतन्त्र गरी २८ जनाको उम्मेदवारी दर्ता भएको छ। यसैगरी क्षेत्र नम्बर ३ मा १३ दल र २३ स्वतन्त्र गरी ३६ जनाको उम्मेदवारी परेको छ। क्षेत्र नम्बर ३ मा मंगलवार राति नौ बजे सम्म उम्मेदवारी दर्ताको क्रम चलेको थियो।
प्रमुख र साना दल सहित स्वतन्त्रको समेत उत्साहजनक रुपमा उम्मेदवारी परेको हो। यसै सन्दर्भमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसबाट अतहर कमाल, एमालेबाट विश्राम प्रसाद चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोहन आचार्य, नेपाली कम्युनिष्ट पार्टीका कृष्ण कुवर र कांग्रेसमा विद्रोह गरी स्वतन्त्र रुपमा युवा नेता आशिष शर्माले उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसमा नाम सिफारिस भएका शर्माले आफ्नो पक्षमा भेला गराई स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन्। यस्तै क्षेत्र नम्बर २ मा कांग्रेसबाट सुरेन्द्रराज आचार्य, नेपाली कम्युनिष्ट पार्टीबाट बृजेश कुमार गुप्ता, एमालेबाट दीर्घ नारायण पाण्डेय, रास्वपाबाट पूर्व एएसपी विक्रम सिंह थापाको उम्मेदवारी परेको छ। गत निर्वाचनमा झिनो मतले पराजित गुप्ता एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरी उम्मेदवार बनेका हुन्।
यस्तै पूर्व एएसपी थापा कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका थिए। कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसबाट अभिषेक प्रताप शाह, एमालेबाट वीरेन्द्र कनौडिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश रजौरिया, नेपाली कम्युनिष्ट पार्टीबाट एहसान खा, राष्ट्रिय मुक्ति पार्टीबाट ईश्वरदयाल मिश्राले उम्मेदवारी दर्ता गराएका छन्। कनौडिया कांग्रेस परित्याग गरी एमाले र रजौरिया राप्रपा परित्याग गरी रास्वपामा प्रवेश गरेका हुन्।
प्रकाशित: ७ माघ २०८२ १४:२० बुधबार




