त्यो समय जतिखेर ब्रिटेन विश्वको शक्तिशाली राष्ट्र थियो, विश्वमा क्लासिकल लर्निङको उच्च लहर चलिरहेको थियो। कयौं लेखक र बौद्धिक समुदायका मानिस ग्रीक र रोमन मिथकबाट प्रभावित थिए। अग्रेजी साहित्य रोम र ग्रीकको मिथबाटै प्रभावित थियो। त्यतिखेर हामीसँग पनि कमि थिएन मिथकहरुको। बिडम्बना भनौ या दुर्भाग्य हाम्रा मिथकहरुको चर्चा कतै हुन सकेन। बरु हामी प्रभावित भयौ तिनै ग्रीक र रोमका मिथकहबाट र चर्चा गर्न थाल्यौ तिनै प्रमिथसका बारेमा।
हरेक राष्ट्र र समाजका मिथकहरुलाई फैलाउनमा साहित्यकार, संस्कृतिविद् अन्वेषक र विद्वत वर्गको उत्तिकै जिम्मेवारी रहन जान्छ। त्यस्तै जिम्मेवार निकायका रुपमा राजनीतिक कोणबाट पनि महत्वपूर्ण भूमिका निर्वाह हुनु पर्छ। पाठ्यक्रमभित्र मिथकहरुलाई समाबेश गराएर बिद्यालय र विश्वबिद्यालयमा पठनपाठन गराउने वातावरण सिर्जना गर्न राज्यको महत्वपूर्ण भुमिका र दायित्व रहन जान्छ। जुन हामीले जति गर्नु पर्ने थियो त्यति गर्न सकेका छैनौ।
संस्कृति र सभ्यताको बहुमूल्य अङ्गका रुपमा हेर्न सकिन्छ मिथलाई। जो कुनै बिचारको कित्तामा पर्दैनन् र राख्न सकिदैन पनि। सुदूरपूर्व र सुदूरपश्चिमका मिथक मध्ये कुनै कुनै दुबैतिर उस्तै ढंगले सुन्न सकिन्छ जस्तै सुनकेस्रा रानीको कथा। केही बिलकुलै नौला छन् भने कुनैले थोरै मात्रामा भिन्नता बोकेका छन्। कल्पनाशीलता, संवेदना अनि सौन्दर्यबोधका छालहरु आपसमा मिसिँदै गर्दा अनेक रुप धारण गरेर सर्दै आइरहेका हुन्छन् यी कथा र गाथा पुस्तौ पुस्तासम्म। यस्ता कहानी अनि गाथा र पौराणिक कथा सुन्न सकिन्छ मध्य तथा सुदूरपश्चिममा। त्यस क्षेत्रमा सुनिने कयौं यस्ता कथा नौला छन् यानेकि नेपाली साहित्यमा भित्रिन सकेका छैनन्। ती सारा कुरा स्थान अभावले यो सानो लेखभित्र समेट्न त्यति सजिलो छैन। यद्यपि केही कथा मात्रै भए पनि यहाँ प्रस्तुत गर्न सान्दर्भिक देखिन्छन्।
लोककथा
सुदूरपश्चिममा अनेक थरिका मनोभाव समस्या जिग्यासा र नैतिक दृष्टि झल्काउने खालका लोककथा सुन्न पाइन्छ। यस्ता कथाहरुले लेख्य रुप नपाउँदा र पछिल्ला पिढीका मानिसले खासै वास्ता नगर्दा अनि पुराना बुढापाकाले बिस्तारै धर्ती छाड्दै गर्दा त्यत्तिकै लोप भएका छन्। अझ भनौ तिनै बुढापाकासँगै सती गए कतिपय लोक कथा कसैले थाहा नपाउने गरेर।
युगौंदेखि जनमानसमा जीवित यी दुर्लभ मिथक केही समय यता युवा पिढीको बिदेशीने क्रम बढ्दै गएको र पुराना मूल्य, मान्यता तथा मिथहरुलाई बेवास्ता गर्न थालिएकाले एक पिढीबाट अर्कोमा सर्न नपाउँदै इतिहास र संस्कृतिका केही पाटासँगै केही मिथ पनि लोप भइसकेका छन्। केही नेपाली साहित्यभित्र भित्रिसकेका छन्। केही भित्रिने क्रममा छन्।
सन्जावाली
बडु भाट नामको व्यक्तिका घरमा सन्जावाली नामकी कन्या जन्मिन्छिन्। जन्मिने बित्तिकै तीन चार महिनाकि जस्ति देखिने सन्जावाली दिनप्रतिदिन ठूली हँुदै गइन्। बिस्तारै उनको बिहेको प्रसंग चल्न थाल्यो यसै सिलसिलामा एकदिन रुपामुक्ता नामको केटासँग बिहे पनि भयो। बिहे भएको केही महिना पछि रुपामुक्ता एक बिहानै ससुराल गए तर संयोगले त्यही दिन एकादशी ब्रत परेको रहेछ। तब ज्वाइँलाई प्रश्न सोधियो, 'ज्वाइँ तम्रा देश एकादशीको ब्रत हुन्छ कि हुदैन? ज्वाइँको उत्तर थियो किरमडी काठको छोलु दन्त ब्रत माझको एकै अनन्त। तब केही बोल्न सकिने अवस्था हुँदैन। दिनभर पानीसम्म नखाएर ब्रत बसेका जुवाइराजाको साँझपख मूर्छा परेर प्राण नै जान्छ। मध्य रातमा जुवाइको लाशलाइ कसैले थाहा नपाउने गरी पीपलको रुखमुनि गाडिन्छ। केही दिनपछि माथिबाट सन्जावाली बुवाको घर तिर झर्दै गर्दा बाटैमा बुवासँग भेट हुन्छ र भन्छिन 'यात मेरो लोग्ने देऊ हैन भने भाइ देऊ भाईलाई मार्छु।' पागलजस्तै भएकि सन्जावालीले पीपलकै रुखमुनि भाईलाई लगेर गर्दनमा खुकुरी हान्न खोज्दा भाइको घाटीमा नलागी खुकुरी पीपलको जरामा बजारिन्छ। त्यसैबेला पीपलको जराबाट हाइ निन्नरा भन्दै रुपामुक्ता निस्किन्छन्। सन्जावालीका आँखाबाट हर्षका आसु झर्छन्।
पितार्नी बज्यै
डोटी जिल्लाको जिजोडामाण्डौ गाविस अन्तर्गत छोया गाउँ मास्तिर डाँडामा देखिने मन्दिरबारे किंबदन्ती सुनिन्छ। उक्त गाउँमा रोस्याराहरुको बसोबास छ। सुदूरपश्चिमेली भाषामा भान्सालाई रोस्से भनिन्छ। डोटी राजाको पालामा दरबारको भान्सामा भात पकाउने ब्राह्मणलाई रोस्यारा भनियो र यिनिहरुको थर रोस्यारा रहन गयो। यिनै रोस्यारा परिवारमा बिधवा हजुरआमा हुनुहुन्थ्यो रे। गोल्माकोटी बलायरले निकै दुःख दिन थालेका थिए रे यतिसम्म कि गोल्माकोटी बलायरको तोरीबारीमा तोरीको फूलमा बसेको माहुरीको खुट्टामा तुलको धागो बानेर पठाए पछि उक्त माहुरी रोस्याराको घारको हो भन्ने पत्ता लगाई कति पाथी तोरी तिराएको समेत थियो रे। यस्तो दुःख दिन थालेपछि ती हजुरआमाले आफ्ना सन्ततिलाई भनिछन 'म मरेकै दिन देखि गोल्माकोटी बलायरको बंश नाश गर्न सके भने मेरो लाशलाई माथि डाँडामा लगेर गाड्नू र पुज्नू त्यसो भएन भने काजक्रिया समेत नगर्नू' भनेर घर नजिकै खनयको रुखमा झुण्डिएर प्राण त्यग गरिछन। नभन्दै केही दिनमै गोल्माकोटी बलायरको बस्तीका सबै सदस्यहरु पालैपालो मरेछन र बंश नाश भए छ। तिनै बूढी बज्यैको अन्तिम भनाइ अनुसार डाँडामा एउटा मन्दिर बनाइएछ।
रानीमौलाको भारत
मध्य तथा सुदूरपश्चिममा प्रचलित डमरुजस्तो सानो र दुईतिर फुकेको, हातले बजाइने बाजाका साथ दमाई जातिले नाच्ने गाउने लोकनृत्य एवं गीतलाई भारत अथवा हुड्केली भनिन्छ। जसमा वीर पुरुषका गाथाहरु गाइन्छ। युद्ध लडाइ बीरताको सुन्दर बर्णन गरिएको पाइन्छ भारतमा । अध्येता महेश पौड्यालका अनुसार भारतको मूल अर्थ हो 'कथा'। विशाल कथानक भएको गाथालाई 'महाभारत' भनिएको हुँदा ससाना कथानक भएका लोकगाथालाई 'भारत' भनिएको हो। जस अन्तर्गत रानीमौलाको भारतलाई सुदूर पश्चिमको प्रमुख भारतका रुपमा पनि लिएको पाइन्छ। जुन कथा यस्तो छ।
राजा प्रथम द्यौका सात रानी मध्ये रानीमौला बाहेक सबै पुत्रवती थिए। रानीमौला अपुतै रहेकीले सौताका बचन सहन नसकी घरबाट कतै टाढा तपस्या गर्न हिँडिन। त्यो तपस्या गरेको ठाउँ महाकाली किनारको पर्शुराम तीर्थ वाङ्घाट मानिन्छ। लामो समयको कठोर तपस्या पश्चात उनलाई देवताले वरदान दिए। पति बिना नै उनको पुत्र जन्म्यो। कोखीबाट बाहिर निस्केको उक्त पुत्र जन्मने बित्तिकै हिँड्न सक्ने भयो। पछि त्यही देदीप्यमान बालक घटाल देवता बने। प्रशिध्द शक्तिपीठका रुपमा चिनिने घटाल देवताको मन्दिर डडेल्घुरामा पर्छ।
तेडीको चैत
चैतको अर्थ हुन्छ चरित्र गाथ्ाा। मध्य तथा सुदूर पश्चिममा बिभिन्न पर्व पर्वादिमा यी चरित्र गाथा नृत्य सहित खेलिन्छन वा भनौ गाइन्छन्। यी चरित्रगाथा बीर पुरुष र बिभिन्न देबीदेवताका बारेमा रचिएका हुन्छन्।
पद्मराज जोशी भारद्वाजको पुस्तक 'कालो पाताल'मा उल्लेख भए अनुसार पहिले डोटी राज्य जुम्लाको सिंजाराज्यको अधिनमा थियो। डोटी राज्यलाई स्वतन्त्र गराउन राजा निरयपालको प्रमुख भुमिका मानिन्छ। डोटीलाई जुम्लाबाट स्वतन्त्र गर्न त्यति सजिलो थिएन त्यसैले राजा निरयपालले तेडी देवतालाई गुहारेका थिए। तेडीले आफ्ना सहचर लाटो र मसानीलाई अगाडी लगाए बेडुखोले देवतालाई संरक्षक बनाए। गौणीबाग देवतालाई असजिलो परिस्थिति सामनार्थ खटाए। ढडाल देवतालाई हावाहुरी चलाउन लगाए।
जुम्लाको सिंजा नपुग्दै बाटैमा त्यहाँका मष्टा देवतासँग मितेरी लगाए। किनकि मष्टा नै थिए सिंजागढका संरक्षक। पछि तेडीको आशय बुझे पछि मष्टाले तेडीलाई फर्केर जान अनुरोध गरे। तर तेडी अदृश्य रुपमा सिंजागढ पुगे। राजाको दरवारभित्र माहुरीको रुपधारण गरेर पसे र रानीको आँखामा अदृश्य पाराले बसी बिस्तारै आखामा घोच्न थाले। रानीका आखामा पीडा हुन थाल्यो चारैतिर अन्धकार छायझै हुन थाल्यो। ओखतीले केही सीप नचल्ने भयो।
अन्तमा राजाले आफ्ना इष्टदेव मष्टालाई पुकार्दा मष्टाले मीतले यस्तो गरिरहेका र मीतसँग आफुले बैरत्व लिन नसक्ने बताए। सिजाका राजाले तेडीलाई दमाहा, तामाका भोकर घण्ट सेता चमर चादीको गडुवा राउली बाउली नामक देउकेटी देखि चादीको गाग्रीका साथै सिजाको मैदान समेत टक्य्राउछु भन्दा पनि मानेनन। उल्टो आफुले भनेको कुरा नभए दरवारमा अझै अरु आतंक मच्चाउने घोषणा गरे। त्यसपछि मनले नचाहदा नचाहदै पनि भने बमोजिमका सामग्री र राज्य दिन बाध्य भए जुम्ली राजा। र तेडीका कारण डोटी राज्यको दोस्रो राजधानी दिपायल भयो।
मिथकको प्रभाव
मध्य तथा सुदूरपश्चिमेली समाजमा मिथकले ठूलो प्रभाव छ। जसरी व्यक्ति र समाजलाई प्रजातन्त्रको महत्व छ त्यस्तै मिथको पनि उत्तिकै महत्व हुन्छ। किनकि यसले समानुपातिक सहभागिता जनाएको हुन्छ। हरेक वर्ग क्षेत्र र समुदायको प्रतिनिधित्व गरेको हुन्छ। बिश्वसमुदायमै देखापरेका छन तीन स्तरका मानिस। हरेक समुदायमा आफुलाई उच्च स्तरका ठान्नेहरुको बोलवाला देखिन्छ। सुदूरपश्चिम पनि यो कुराबाट अछुत छैन। अझै भन्ने हो भने त्यहाँको हरेक समाजमा जातभात र छुवाछुतको खाडल उस्तै छ। अझै पुरिएको छैन।
समाजमा हेपिएर बसिरहेकाहरुले युगौदेखि पीडाको भारी बोकि नै रहेका छन। तर पीडा कम गर्ने र समय समयमा मनोरन्जका गतिबिधिमा सहभागिता जनाउन सिकाउँछ त्यही मिथले। सत्यता, इमान्दारीता र नैतिकताको पाठ पढाउँदै वर्षौंदेखि जिन्दगी जिउने कला सिकाइरहेका छन् तिनै मिथकहरुले। मध्य तथा सुदूर पश्चिममा मनाइने जात्रा सबै तिनै मिथकका प्रारुप हुन। जहाँ हरेक जात र वर्गका मानिस सहभागि हुन्छन्। घर समाजमा सधै दबिएर बसेका त्यस क्षेत्रका महिलाका लागि गौरा पर्व, पुतला नाच जस्ता पर्वहरुले वर्षमा दुइचार दिनमात्रै भए पनि केही स्वतन्त्रता महसुश गराउँछन्। र, मनोरन्जन दिलाउँछन।
मनोरञ्न मात्रै प्रदान गर्ने कथा मिथक हैनन। मिथक पछाडी निकै गम्भिर प्रयोजनहरु दर्शनका कलेवरहरु निहित हुन्छन्। कतिपय विद्वान्हरुले मिथकलाई मानव संस्कृति र सभ्यताको अभिन्न अङ्गका रुपमा लिएका पाइन्छ। जहाँ नैतिक दृष्टि भेटिन्छ अनि भेटिन्छ नीतिमूलक स्वर पनि।
यहाँका धेरैजसो मिथकमा सत्यताको बिजय हुनेमा जोड दिएको पाइन्छ। मान्छेको जन्मदेखि मृत्युसम्मका कयौ गतिबिधि समेटिएका भेटिन्छन् मिथभित्र। अनि ब्याख्या र बिश्लेषण हुन्छ सृष्टिको सुरु देखि पुनर्जन्मसम्मको। भारत, चैत, फाग, धमारी, माङ्गल वा हुड्केली सबै भित्र निहित छन मिथक। जुन सबै त्यही समाजका उपज हुन। जुन मानवसभ्यताको आदिम कथा हो।
प्रकाशित: १४ फाल्गुन २०७२ २१:२९ शुक्रबार





