उनको मनमा धुकचुक त चलिरहेको थियो। तर पनि उनी थिए एक विद्यार्थी नै। जे सुकै कारणले भए पनि उनी बीस–बीस दिन कलेज जान सकेका थिएनन्। साथीभाइ, गुरूवर्ग, कक्षा–कोठा, पुस्तकालय, चिया–चमेना, गफगाफ र साथीहरुसँग हुने अनेक विषयमाथिका वाद–विवाद– सबै नै छुटेका थिए ती बीस लामा दिनहरुमा। उनको युवा हृदय कुनबेला साथीहरुका बीच कलेज परिसरमा पुग्न पाइएला भनी छट्पटाइरहेको थियो।
जे भए पनि उनलाई कलेज त जानु नै थियो।
उनले आफ्नो कलेज जाँदा लगाउने गरेको निख्खुर सेतो कुर्ता–पाइजामाको, उनीसँग भएको एउटै मात्र सेट निकाले र टिनोपाल हालेको पानीमा एकछिन भिजाएर निचोरीवरी सुकाउन हालिदिए। त्यसबीचमा तीन हप्ता पहिले छाडेर गएको साइकलको हालत कस्तो रहेछ, बु‰न छिंडीको कोठामा गए। साइकलको ट्युबमा हावा कम्ती भएको बाहेक अरु ठीकै रहेछ। सडकको पल्लोपट्टि मर्मत पसल खोलेर बसेको रहिम मिस्त्रीसँग पम्प मागेर ल्याई साइकलमा हावा भरे। आफ्नो कोठामा बिहान सबेरै टाँगिदिएको, अलि अलि चीसो बाँकी नै रहेको कुर्ता–पाइजामामा मन लगाएर इस्त्री गरे। तल चोकमा रहेका तीनवटा चापाकलहरुमध्ये उनको परिवारको हिस्सामा परेकोमा गएर जिउ मिचिमिची धेरैबेर लगाएर नुहाए। उनलाई नजिकै रहेकी गंगाजीमा केही बेर पौडेर आउन मन लागिरहेको थियो। बीस दिन थानामा बिताउँदा उनलाई सबैभन्दा बढी गंगाजीको नियास्रो लागेको थियो। तर गंगामा डुबुल्की मार्ने इच्छा अर्को दिनका लागि थाँती राखे। त्यसको भोलिपल्ट कलेज जानुपर्ने थिएन त्यसैले।
उनले नुहाई–धुवाई गरूञ्जेलसम्म उनकी आमा र जेठी भाउजूले मिलेर बिहानको खाना तयार पारेका थिए। दाइहरुलाई आ–आफ्ना काममा जान हतारो भएको हुँदो हो, उनीहरु खाना खाएर हिंडिसकेका थिए। उनका बा, घरका मूली संकटाप्रसाद भट्टराई बिहानको खाना सबैभन्दा पहिला खानेमा पर्दथे त्यस घरमा। तर त्यस दिन उनकी आमाले उनलाई बोलाएपछि मात्र संकटाप्रसाद पनि भान्सामा छिरे र आफ्नो ठाउँमा गएर बसे। घरमूलीका रुपमा उनको खाना खान बस्ने पिर्का र उनले प्रयोग गर्ने थाल–कचौरा घरका अरु जहानको भन्दा अलि फरक र भव्य जस्ता देखिन्थे। धोतीपाटा फेरेर भान्सामा पुगेका उनी त्यही भव्य पिर्कामा बसे।
एकैछिनपछि भान्सामा पुगेका कृष्णप्रसाद पनि आफ्नो आसनीमा गएर बसे र अरु दिनभन्दा एक–दुई थोक अचार तरकारी बढी भएको त्यस दिनको खाना चूपचाप खान थाले। काठको पिरामा पलेंटी मारेर बसी खाना खाइरहेका उनलाई एक तमासले हेरिरहेकी उनकी आमा घरीघरी सुँक्क सुँक्क गरिरहेकी थिइन्।
'किन रून्छ्यौ माई? म वर्षौंका लागि जेल गएको थिएँ र? आइगएँ नि त, होइन?' उनले हलुका हाँस्दै आमासँग भने।
'म कहाँ रोएकी छु र बबुआ। यो ता खुशीको आँशु हो' आमाले भनिन्।
अर्को पिरामा बसेर खाँदै गरेका घरमूली संकटाप्रसाद ती दुई आमाछोराका कुरा सुनेर अफिम र सूर्तिले गर्दा पूरै गोलजस्ता भएका दाँत देखाएर मज्जैसँग हाँसे।
'अब कल्लो बात्! खुशीके आँशु रे, खुशीको आँशु पनि झर्नबाट रोकिने नाम नै लिँदैन बा' संकटाप्रसादले आफ्नी पत्नीलाई हाँसोमा उडाउन खोजे। उनको कटाक्ष सुनेर पनि व्राह्मणी रिसाइनन्। संकटाप्रसादको आनीबानीसँग उनी पूर्णतः परिचित थिइन्। उनले गरेको ठट्टा–रमाइलोलाई लिएर रिसाउनुको कुनै अर्थ थिएन भन्ने कुरा ती सरलहृदया नारीले त्यस घरमा विवाह भएर आएको हप्ता दिनमै थाहा पाइसकेकी थिइन्।
एकछिन पछि खाना खाइसकेर चुठ्न जानु अघि संकटाप्रसादले गम्भीर भएर भने, 'इस के लिए मत रोओ भगवान्। इसने बहुत बडे काम में हाथ बटाया है। आगे जाकर हो सकता है, यह हमारा छोट्का बेटा बडा आदमी ही बन जाए। आगे करने कराने वाले तो बाबा विश्वनाथजी ही हैं, उनकी मर्जी जो होगी सो होगी।'
आफ्ना पिताजीको कुरा सुनेर कृष्णप्रसादको मनमा खुशीको हलुका तरङ्ग फैलियो। पिताजीको आफूप्रतिको यस्तो सकारात्मक धारणा बारेमा उनलाई त्यसभन्दा पहिले केही थाहा थिएन। संकटाप्रसाद छोराहरुसँग आवश्यकता भन्दा बढी एक शब्द बोल्दैनथे। अन्तर्मुखी स्वभावका उनको मनको भाव बु‰न सजिलो थिएन। आज उनका कुरा सुनेर कृष्णप्रसाद औधी खुशी भए। तर, प्रकटमा भने केही बोलेनन्।
० ० ०
कलेजको मूलढोका अगाडि साइकलबाट ओर्लिएर त्यसलाई डोर्याटउँदै धुक्चुक् मन लिएर कम्पाउण्ड भित्र छिरेका कृष्णप्रसाद भट्टराईलाई देख्नेबित्तिकै एक हुल विद्यार्थीहरु उनीतिर आए र करतलध्वनिले उनको स्वागत गरे। त्यो एकदमै अप्रत्याशित थियो कृष्णप्रसादका लागि। त्यति मात्र होइन, त्यहाँ जम्मा भएका छात्रहरु सबैले पालैपालोसँग उनलाई स्नेहपूर्वक अङ्कमाल गरे। एकजना पहलमान टाइपको, उनको भन्दा माथिल्लो कक्षाको विद्यार्थीले त उनलाई जुरूक्क उचालेर काँधमा बसाल्यो र कलेजको मुख्य भवनको पोर्टिकोसम्म पुर्यािएर ल्यायो।
'कितना दुब्लागए हो कृष्णा, तुम्हे वहाँ मारा–पीटा भी होगा न?' एउटाले सोध्यो।
'अरे बुडबक्! कैसी बात करते हो? स्वराजी पर हाथ उठानेकी किसकी हिम्मत होगी' अर्कोले त्यस मूर्खतापूर्ण प्रश्नको प्रतिवाद गर्योल।
'जो भी कहो, तुम हो हमारे हिरो। हम तुम्हारे साथ पढ्ते हैं, यह बात हमारे लिए बहुत मायने रखती है। हमें तुम पर गर्व है' कक्षाको मनिटर समरेन्द्रनाथ दत्ताले बडो भरोसालाग्दो भाव र भंगिमाका साथ उनका आँखामा सोझै हेर्दै भन्यो।
उनको तारिफ गर्ने साथीहरु, त्यसमा पनि समरेन्द्रनाथ दत्ताका मीठा मीठा शव्दहरु सुनेर कृष्णप्रसाद अभिभूत भए। पश्चिम बंगालबाट बसाइँ सरेर आएको परिवारको सदस्य भए पनि समरेन्द्र पूर्णरुपेण वनारसी ढाँचामा ढलिसकेको थियो। त्यो मेधावी छात्र र उनका बीच गहिरो मित्रता थियो। समरेन्द्रलाई उसको शील–स्वभाव र बौद्धिक क्षमताका कारण कृष्णप्रसाद हृदयदेखि नै आदर गर्दथे।
'समरेन्द्र मलाई यति धेरै नसर्काऊ है। वास्तवमा मैले कुनै ठूलो काम गरेकै छैन। मेरो र दाइ गोपालको सुत्ने कोठा एउटै भएकाले पुलिसले छापा मार्दा दाइका साथमा मलाई पनि गिरफ्तार गरेको सम्म चाहिँ हो। म हाम्रा दाइ गोपालजस्तो क्रान्तिकारी होइन। अदालतले समेत मलाई यो केही पनि होइन, स्वतन्त्रता संग्रामी गोपालजीको भाइ मात्र हो भनेर छोडिदिएको छ' कृष्णप्रसादले यथार्थमा कुरा जे हो त्यही, समरेन्द्रलाई अङ्ग्रेजीमा भने।
समरेन्द्रले भने उनको प्रष्टीकरणलई वास्तै नगरेर भन्यो, 'द्याट् डज् नट् मेक् यु लेस् इम्पोर्टेन्ट् माइ फ्रेन्ड। फर् अस् यु आर् ए हिरो एण्ड स्याल रिमेन् ए हिरो फर्एभर्।'
कृष्णप्रसादको अनुहार लाज र सङ्कोचका कारण रक्ताभ देखियो। उनी चूप लागे।
बिहानको दश बज्नै आँटेको थियो। विद्यार्थीहरु आ–आफ्ना कक्षातिर जान बाटो लागे।
कलेजको मुख्य भवनको दाहिने तिरको मैदानमा उभिएको ज्याकार्यानन्डाको विशाल रूखको छहारीमा उभिएकी कलेजकी अङ्ग्रेजी भाषा र साहित्यकी अध्यापिका मिस मेहरुन्निसा हैदर कृष्णप्रसाद र उनका साथीहरुको मधुर–मिलनको त्यो दृष्यलाई बडो अभिरुचि साथ हेरिरहेकी थिइन्। छात्रहरुको टोली कलेजभित्र पस्नुभन्दा पहिले नै उनी तिनीहरुको सामुन्ने उभिन आइपुगिन्। उनले आफूसँग लिएर आएको कनकचम्पाको मधुरो सुगन्धको हलुका स्पर्शले विद्यार्थीको त्यो सानो समूह लठ्ठिएझैं भयो।
'कृष्णा प्रसादजी आइ कङ्गय्राच्युलेट यु फर् ह्वाट् यु ह्याभ् डन् फर् दि फ्रिडम् अफ आवर पिपल्। वी आर् प्राउड् अफ् यु' भन्दै ती शिक्षिकाले आफ्नो दाहिने हात कृष्णप्रसादतिर बढाइन्।
कृष्णप्रसादका लागि ती प्रौढ अध्यापिकाले गरेको त्यो एकदमै अप्रत्यासित चेष्टा थियो। उनीसँगै आएका आठ–नौजना विद्यार्थी पनि बिजुलीको झड्का लागे झैँ भए। कृष्णप्रसादले आफ्नो हात अगाडि बढाउन सकेनन्।
'कम् अन् डियर शेक माई ह्यान्ड्। टेक् इट् याज् एन् अर्डर्' मिस हैदरले तीखो तर दृढ स्वरमा भनिन्।
कृष्णप्रसादले नजानिंदोसँग समरेन्द्रतिर हेरे। समरेन्द्रले पनि आँखाकै भाषामा हात मिलाउँदा केही फरक पर्दैन भनिदियो।
सुश्री मेहरुन्निसा हैदरको हात नौनीभन्दा नरम थियो। छालाको रङ्ग दूधले धोएर शुभ्र–धवल बनाएजस्तो सेतो। ती पैंतीस वर्षीया स्त्रीका मसिना, खिरिला औंलाहरु भएको हातलाई आफ्नो केही फराकिलो पञ्जामा चपक्क राखेर ह्यान्डसेक् गर्दा कृष्णप्रसादलाई जुन सुख अनुभूति भयो, त्यसलाई उनी पूर्ण रुपले शब्दमा व्यक्त गर्न कहिल्यै सक्दैनन् जस्तो लाग्यो उनलाई।
कृष्णप्रसादले उमेर पुगेपछि कुनै पनि स्त्री–अंगको स्पर्र्श–सुख लिएको त्यो नै पहिलो थियो। त्यतिबेलाको वनारसको कठोर सामाजिक रीतिरिवाजमा दम्पत्ति बाहेकका युवा स्त्री–पुरुषका बीच कुनै प्रकारको स्पर्ष, हस्तमिलन वा अङ्कमाल पूर्णतः वर्जित थियो। कम्तीमा पनि सबैले देख्ने गरी त्यस्तो स्पर्ष–सुख लिने कल्पनासम्म पनि कसैले गर्न सक्दैनथ्यो। कृष्णप्रसादले जीवनमा पहिलोपटक त्यो अदुभूत आनन्दाभूति गर्न पाएका थिए। गहिरो सम्मोहनमा परेझँै उनले मिस हैदरको हात केही क्षणसम्म आफ्नो हातमा लिइरहे।
सुश्री हैदरले पनि छिट्टै आफ्नो हात छुटाउने कुनै चेष्टा गरिनन्। विष्मित, चकित भएर त्यो अकल्पनीय दृष्य हेरिरहेका अरु छात्रहरु स्तव्ध झैँ भए। झण्डै एक मिनेटपछि मिस हैदर सचेत भइन्।
'ओके कृष्णा, थ्याङ्क यु भेरी मच्' उनले यति भनिन् र बिस्तारै देव्रे हात लगेर कृष्णप्रसादको हर्थुङ्गोमा दुई–तीनपटक धाप दिइन् अनि उनलाई मन्त्रमुग्ध त्यहीं छोडिदिएर फटाफट् कलेजभित्र छिरिन्।
कृष्णप्रसाद र उनका साथी पनि मन र मष्तिश्कमा कुनै एउटै पनि विषय बाँकी नभए झैँ एक शव्द पनि नबोली चूपचाप आ–आफ्ना कक्षातिर लागे।
पहिलो पिरियडको घण्टी लागेर प्राध्यापक कक्षामा छिर्ने बेला हुनै लागेको थियो– चपरासी गरीवदीन आएर कृष्णप्रसाद भट्टराईलाई प्रिन्सिपल साहेबले बोलाएको सूचना दियो।
अलिकति अन्यौल, अलिकति सङ्कोच र अलिकति डर लिएर कृष्णप्रसाद प्रिन्सिपल प्रोफेसर श्रीराम शुक्लाको कक्षमा पुग्दा उनले त्यहाँ कलेजका सबै शिक्षक जम्मा भएको देखे।
उनले भित्र पसेर प्रिन्सिपललाई प्रणाम गरे। अरु बेला विद्यार्थीहरुको अभिवादनलाई त्यति वास्ता नगर्ने ती वयोवृद्ध प्रोफेसर त्यस दिन कुर्सीबाट हात जोड्दै उठेर आए र कृष्णप्रसादलाई अङ्कमालमा बाँध्दै एकछिन चूपचाप उभिइरहे। त्यति नै बेला लामो चौकोर टेबुलको दुवैतिर लहरै राखिएका कुर्सीहरुमा बसेका सबै शिक्षकहरु आ–आफ्ना कुर्सीबाट उठे र उनीहरुले बिस्तारै बिस्तारै एउटा लयवद्ध ध्वनि निस्कने गरी ताली बजाए।
कृष्णप्रसादलाई गुरूवर्गबाट दिइएको त्यो भव्य स्वागतको ध्वनि शान्त भएपछि प्रिन्सिपल शुक्लाले उनको काँधमा हात राख्दै भने, 'कृष्णप्रसाद म तिमी र तिम्रा दाइ गोपाललाई धन्यवाद दिन्छु। अङ्ग्रेजी औपनिवेशिक सत्ताका विरूद्ध भइरहेको यस आन्दोलनमा उत्रनुपर्ने त हामी भारतीयहरुले हो, हामी अध्यापकहरुले हो। तर हामी कायर झैँ निस्त्रि्कय बसिरहेका छौँ। तिमीहरुले नेपाली भएर पनि जसरी हाम्रो स्वतन्त्रताको आन्दोलनमा सहभागी भई जेल–नेल भोगिरहेका छौ, त्यसका लागि सारा हिन्दुस्तान तिमीहरुप्रति आभारी छ र सदैव रहने छ।'
सामान्यतया अङ्ग्रेजीमात्र बोलिने त्यस कलेजका प्रिन्सिपलले विशुद्ध हिन्दीमा भनेका यी कुरा सुनेर कृष्णप्रसाद भावविह्वल भए। उनलाई गोपालदाइ कत्रो महान् कर्मयज्ञमा लागेका रहेछन् भन्ने कुराको पनि अनुभूति भयो। सबैभन्दा बढी घत उनलाई प्रोफेसर शुक्लाले तिमीहरु नेपाली भएर पनि भारतीय स्वतन्त्रता संग्राममा भाग लिइरहेका छौ, त्यसैले धन्य छौ भनेको कुराले पार्योह। उनको मनमा त्यही क्षण, अचानक, आफ्नो पितृभूमिप्रति गहिरो अभिरुचि र संवेदना जागृत भएर आयो। नियतिले उनलाई नेपाल पठाउने र त्यहाँ उनले त्यस सुन्दर हिमाली मुलुकको सार्वजनिक जीवनमा अनेक महत्वपूर्ण भूमिका खेल्नुपर्ने कुराको सङ्केत त्यही क्षण गरिदिएको थियो शायद।
प्रकाशित: ७ फाल्गुन २०७२ २३:३४ शुक्रबार


-600x400.jpg)


