४ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

श्रीमानले यौनसम्पर्क राखेर बलात्कार भएको भन्दै गाउँले गुहारेपछि...

रौतहट— छिमेकीलाई फसाउन बलात्कारको झूटो उजुरी हाल्ने दम्पती आफैं फन्दामा परेको छ । विश्रामपुर गाविसका डमरी महरा र उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ।माघ १८ गते राति १ बजे विश्रामपुरमा पाँच जनाको नकाबधारी समूहले पति र छोरालाई बाँधी ४५ वर्षीया दलित महिलालाई बलात्कार गरेको खबर प्रहरीमा पुग्यो । १५ मिनेटभित्रै प्रहरी टोली घटनास्थल पुगिहाल्यो । महिलाले आफूलाई पाँच जनाले घरनजिकै परालको कुन्युमा लगेको, एक जनाले बलात्कार गरेको र प्रहरी टोली आएपछि सबै जना भागेको बयान दिइन् ।

प्रहरीले उनलाई राति नै चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल लग्यो । त्यहाँ चिकित्सकले महिलामाथि बलात्कारको संकेत देखिएको पुष्टि गरे । महरापत्नीलाई महिला तथा बालबालिका सेवाकेन्द्रमा राखेर 'काउन्सिलिङ' थालियो । यसबीच महरा दम्पतीले छिमेकी पाँच जनाको नाम किट्यो । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु ग¥यो । तर, उनीहरूलाई अपराधी पुष्टि गर्ने कुनै प्रमाण फेला पार्न सकेन ।

केन्द्रमा विभिन्न महिलाअधिकारकर्मीको परामर्शमा रहेकी महरापत्नीले नै कुरा खुस्काएपछि प्रहरीले अनुसन्धानमा नसोचेको मोड फेला पा¥यो । अनुसन्धान बढाउँदै जाँदा आफूहरुलाई चोरी काण्डमा मुछ्ने छिमेकीलाई फसाउन पीडित भनिएकाले नै बलात्कारको झूटो कथा रचेको तथ्य बाहिर आयो।

प्रहरीका अनुसार आरोप बलियो बनाउन महराले नै महिनाबारी भएकी पत्नीसँग घरनजिकै परालको कुन्युमा यौनसम्पर्क राखी बलात्कार भएको भन्दै गाउँले गुहारेका थिए । शनिबार महिला तथा बालबालिका सेवाकेन्द्र, गरुडामा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी उपरीक्षक डा। गणेश रेग्मीले छिमेकी जगदेव रामलाई फसाउन महराले पत्नीसँग मिलेर बलात्कारको नाटक रचेको बताए । 'उनीहरू दुवैले यो कुरा स्विकारिसकेका छन्,' उनले भने, 'छिमेकीलाई बदला लिन झूटो उजुरी हालेका रहेछन् ।' मौखिक जाहेरीकै आधारमा ५० जनासँग बयान लिइएको उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका महराले पत्नीसँग घरबाहिर परालको कुन्युमा यौनसम्पर्क गरी छिमेकीलाई आरोप लगाएको सञ्चारकर्मीमाझ स्विकारे । 'छिमेकीसँग बदला लिन र उनीहरूसँग सधैंको विवादबाट मुक्ति पाउन यस्तो गरेको हुँ,' उनले भने ।

बेलैमा यथार्थ थाहा पाउँदा अनुसन्धान सिलसिलामा नियन्त्रणमा लिइएका पाँच व्यक्ति झूटो मुद्दामा फस्ने जोखिमबाट जोखिएको प्रहरी उपरीक्षक रेग्मीले बताए । उनले झूटो आरोप लगाउने महरादम्पतीलाई कारबाही अघि बढाइने जानकारी दिए ।

प्रकाशित: २३ माघ २०७२ २१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App