दुई वर्षअघिको कुरा होला त्यो । त्यतिबेला अलि समस्यामै थिएँ म । बक्स अफिसमा फिल्म त्यति जमिरहेको थिएन । काम गरेका फिल्मबाट पारिश्रमिक लिन बाँकी थियो । बक्स अफिसमा राम्रो भएन भने पछि पैसा उठाउन सजिलो हुने कुरा भएन । अहिले छानेर मात्रै फिल्म खेल्दा त १८–२० लाख उठ्न बाँकी छ । त्यतिबेला त झन् धेरै थियो होला । त्यसैले यो क्षेत्रबाट अलि हतोत्साहित नै थिएँ कि ?
तपाईंलाई पनि निर्माताले यस्तो गर्छन् ?
निर्माता÷निर्देशकले गरे भने पनि भो, साथीभाइले गरे भने पनि भो । धेरै फिल्म आफ्नै साथीभाइका गरियो । मुखै फोरेर भन्न पनि मिलेन ।
अहिले त फेरि जोशजाँगर देखिन्छ । यसको कारण के हो ?
गत वर्ष तीनटा फिल्म हिट भए । फरक–फरक चरित्रमा अभिनय गर्न पाइयो । फिल्म 'अलविदा'मा मुस्लिम युवा, 'पुनर्जन्म'मा आर्मी र 'होमवर्क'मा ७५ वर्षको वृद्ध भएर अभिनय गरेँ । यी कारणले फिल्मप्रति जोशजाँगर बढाएको होला । तर, अभिनयमा जोश चाहिँ कहिल्यै घटाएको थिइनँ । अलि बढी तनाव थियो त्यतिबेला ।
विवाहका कारण पनि केही परिवर्तन देखियो होला ?
विवाहअघि र पछि ममा कुनै परिवर्तन आएको छैन । पहिले जस्तो थिएँ, अहिले पनि त्यस्तै छु । व्यवहारमा पनि त्यस्तो परिवर्तन गरेको छैन जस्तो लाग्छ ।
विवाहपछि सजिलो चाहिँ के–के भयो ?
लाइफ सेटल भयो । ल्याङफ्याङे जीवन व्यवस्थित हुँदो रहेछ । खाना टाइममा हुन्छ ।
तपाईंले विवाह गरेपछि खुशी हुने त हुने नै भए, चित्त दुखाउने पनि होलान् !
धेरै त खुशी नै भए । केहीले चित्त दुखाए कि जस्तो लाग्छ । तीमध्ये कति फ्यानले फेसबुकमा 'किन विवाह गरेको ?' भनेर सोधेका थिए । उमेर, समय र बेला भएर गरेको भनेर रिप्लाई गर्थें । यसलाई मैले सामान्य प्रश्नका रूपमा लिएको थिएँ । तर, एकदिन दरबारमार्गमा एकजना युवतीले भने यही प्रश्न अस्वाभाविक रूपमा गर्नुभयो । उहाँले रिसाएर भन्नुभयो, 'बिहे किन गरेको ?' झगडा नै गर्न आउनुभयो । पहिलोपल्ट भेटेको एक युवती यसरी बाँझ्न आउँदा म त पूरै डराएँ । केही बोलिनँ । पछि उहाँका साथीहरूले लिएर गए । त्यसपछि महसुस भयो, फेसबुकमा आएका ती म्यासेज पनि यस्तै तरिकाका थिए ।
आफैँ निर्माण पनि थाल्नुभयो । अब त फिल्म उद्यमी पनि बन्नुभयो क्या रे !
आफैँ निर्माणमा संलग्न हुनुका विविध कारण छन् । तीमध्ये अब सक्दो आफू निर्माणमा संलग्न भएका फिल्ममा मात्रै अभिनय गर्ने रणनीति बनाउँदै छु । बाहिर गर्दा चाहिँ मैले 'गर्दिनँ' भन्न नमिल्ने केही निर्माता छन् उहाँका फिल्ममा मात्रै अभिनय गर्छु ।
यसले फिल्म करिअरमा असर गर्ला नि ?
असर त गर्छ । तर, राम्रा ब्यानरका राम्रा फिल्ममा मात्रै देखिने अवसर पनि मिल्छ । अघिल्लो वर्ष जस्तो फिल्म आएकोआयै नहुन भन्ने चाहना पनि हो । वर्षमा तीनवटा जति फिल्म रिलिज भए ठिक्क हुन्छ ।
छानेर गर्दा आर्थिक रूपमा पनि घाटा पर्ला ?
अहिलेसम्म यो क्षेत्रबाट मैले त्यति धेरै कमाएको छैन कि जसले गर्दा घाटाको पीर होस् । कमाएको नाम र दर्शक हुन् । यी दुइटालाई जोगाउन मैले छानेर राम्रो फिल्ममात्रै गर्नुपर्छ अब ।
फिल्मलाई लिएर तपाईंले देखेको सपना पूरा भयो ?
नेपाली फिल्मका लागि मैले कुनै सपना देखेको थिइनँ । सिरियलतिर अभिनय गर्न थालेपछि साथीहरूले 'तेरो गन्तव्य फिल्म हो' भने । तर, मेरो सर्कलकाले नेपाली फिल्म रुचाउँदैनथे । त्यतिबेला हेर्न लायक फिल्म पनि बन्दैनथे । म फिल्ममा आएपछि नेपाली फिल्म भनेर नाक खुम्च्याउने त्यो जमातलाई हेर्ने हुनुपर्छ जस्तो लाग्थ्यो । एक हदसम्म त्यसमा सफल भएँ जस्तो पनि लाग्छ ।
'लभर ब्वाई'का रूपमा मात्रै देखिनुहुन्थ्यो । पछिल्लो समय फरक खालका भूमिकामा पनि अभिनय गर्दै हुनुहुन्छ । रिलिजको छेकमा रहेको फिल्म 'क्लासिक'मा दृष्टिविहीनको भूमिकामा अभिनय गर्दा कस्तो अनुभव भयो ?
महŒवपूर्ण कुरा, दृष्टिविहीनलाई लिएर सोच्ने तरिका परिवर्तन भयो । हामीलाई लाग्छ, संसार आँखा देख्नेको मात्रै हो । तर, हामीले देखिरहेको संसार देख्न नसक्नेको पनि छुट्टै संसार छ । उहाँहरू आँखा देख्नेभन्दा हरेक कुरामा पछि हुनुहुन्छ होला जस्तो तर धेरै अघि हुनुहुँदो रहेछ । दुई आँखा बन्द भए पनि अरू भित्री आँखा अझ धेरै खुल्ने रहेछन् जस्तो लाग्यो । वर्कसपमा एकजनाले पहिल्यै प्रश्न गर्नुभाथ्यो, 'फिल्ममा त दृष्टिविहीन देखाउँदा मैलोधैलो, असहाय र अशक्त देखाइन्छ, हैन ? के हामी त्यस्तै छौँ ।' त्यसपछि संगत हुँदै जाँदा टेक्नोलोजीमा पनि उहाँहरू निकै अगाडि रहेको पाएँ ।
तपाईंलाई चाहिँ दृष्टिविहीन देखिन कत्तिको गाह्रो भयो ?
निकै नै । पछि त बानी परियो । सुटिङका लागि दृष्टिविहीन बन्दा भने झन्डै ज्यान गएको । बबरमहलमा दृष्टिविहीनले बाटो क्रस गरेको सिन खिचिरहेका थियौँ । ट्राफिकलाई जानकारी गराएर सुटिङ भइरहेको थियो । यति हुँदाहुँदै पनि एउटा गाडीले झन्डै हानेको । बिस्तारै छोयो र मात्रै जोगिएँ ।
फिल्मको सुटिङताका नाकाबन्दी थियो । दुःख त अरू पनि भयो होला?
कति दिन बन्दमा परियो । कहिले जेनेरेटरमा तेल सकिएर बीचमै सुटिङ प्याकअप गरियो । जसले दिन र बजेट दुइटै बढ्यो । खाना त सुटिङभरि नै दाउरामा पकाएर खाइयो । सुटिङस्पट पुग्नेबित्तिकै भान्साका मान्छेहरू दाउरा खोज्न हिँड्थे ।
घरको छतमा तपाईंले दाउरामा खाना पकाइरहेको तस्बिर पनि सार्वजनिक भएको थियो । दुःख त घरमा पनि पाइयो ?
दुःख त पाइयो । तर, त्यो तस्बिर भने दुःखले दाउरामा खाना पकाएको थिएन । थानकोटको घरमा ममीले कहिलेकाहीँ दाउरामै पकाउनुहुन्छ । त्यही बेलाको तस्बिर खिचेको थिएँ । सबैले दाउरामा खाना पकाइरहेका बेला मेरो हालत पनि त्यस्तै भयो भन्ठानेछन् । तस्बिर यति हिट भएछ कि मेरो फेसबुक पेजबाट अहिलेसम्मै धेरै लाइक र सेयर भएको हो त्यो । घरमा त जसोतसो ग्यासको व्यवस्था भइरहेकै छ । गाडीमा तेल भने ब्ल्याकमा हाल्नुपरेको छ ।
तपाईंका फिल्मसँगै अरू फिल्म पनि जुध्दै छन् । यो जुधाइ अहिले फेसबुक र सञ्चारमाध्यममा पनि देखिन थालेको छ । फिल्मकर्मीमा अहम्को यस्तो लडाइँ किन हुन्छ ?
मैले अहम्का कारण फिल्म बनाएको होइन । रिलिजको मिति पहिल्यै तोकेर फिल्म सुटिङ थालेका हौँ । भ्यालेन्टाइन्स डेको छेकमा एउटा फिल्म दर्शकमाझ दिने प्रतिबद्धता पूरा गर्नकै लागि नाकाबन्दीमा फिल्म सुटिङ गरेका हौँ । त्यसैले हाम्रो तर्फबाट समस्या छैन । अरूको तर्फबाट भए बुझिएन । फिल्म जुध्दै छैनन्, सँगै रिलिज हुँदै छन् भनौँ । किनकि, हप्तामा दुइटा फिल्म रिलिज हुनैपर्छ । कि, फिल्म बन्ने क्रम नै आधा कम हुनुपर्छ ।
जसका फिल्मसँग तपाईंको फिल्म रिलिज हुँदै छ । उनीहरू कुनै बेला तपाईंका अनन्य मित्र थिए । अहिले उनीहरूसँग तपाईंको बोलचाल छैन रे !
उनीहरूसँग किन नराम्रो भयो भनेर मलाई थाहा छैन । उनीहरूले त्यस्तै व्यवहार गर्छन् भन्ने पनि अरूबाटै थाहा भयो । यसकारण मलाई यसबारे थाहा पनि छैन । मतलब पनि छैन ।
प्रकाशित: १९ माघ २०७२ ०१:०२ मंगलबार





