३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
धर्म/संस्कृति

सभ्यता-संस्कृतिको सङ्गम ‘महागंगा आरती’

आस्था

जनकपुरधामको जानकी मन्दिरबाट पूर्व लागेपछि शिव चोक पुगिन्छ। दिनभर पातलो चहलपहल हुने यहाँ घाम ढल्किन थालेपछि गाडीहरूको जाम बढ्न थाल्छ। हर्नको आवाज चर्को र भिड बाक्लो हुन थाल्छ। शिवचोकबाट केही पाइला पूर्व लागेपछि हरेक साँझ चहलपहल बढ्न थाल्छ। यसरी साँझ परेसँगै जनकपुरधामका स्थानीय र घुम्न आएका पाहुनाहरूको जमघट हुने साझा ठाउँ हो - गंगासागर।

गंगासागरको वरिपरि सिँढीमा बस्ने र उभिने मानिसहरूको भिड आस्थाका लागि उर्लिन्छ। झमक्क साँझ परेपछि यहाँ सुरु हुन्छ पूजा र आरती, शंख र घन्टको ध्वनि अनि बिजुली बत्तीको झिलिमिली।

धुपबत्तीको सुगन्धसँगै हुने आरतीबिच लाउड स्पिकरमा धन्किने गीतले मुग्ध बनाउँछ। बज्छ– ‘इएह छी हमर जनकपुर, ई सीता के जनकपुर।’

मन्त्रोच्चारणको समयमा हात जोडेर प्रार्थना गर्नेहरू यो गीत बज्दा ताली बजाएर सँगसँगै गुनगुनाउन र नाच्न थाल्छन्। यो गीतले गंगा आरतीको पवित्रता, मिथिलाको सुन्दर सभ्यता, प्रकृति प्रेम, संस्कार, रीतिरिवाजलाई समेटेको छ। सुन्दा यस्तो लाग्छ - यहाँ आरती मात्र हुँदैन, आस्थाको गंगासागर बर्सिन्छ।

यहाँ करिब १२ वर्षदेखि गंगासागरको यो आकर्षण, भव्यता र रौनक निरन्तर चलिरहेको छ। पछिल्लो समय जुनसुकै कामले जनकपुरधाम पुग्नेहरूका लागि साँझमा पुग्नैपर्ने ठाउँ बनेको छ– गंगासागर।

१२ वर्ष पहिला यही ठाउँ दुर्गन्धको डङ्गुर थियो। मानिस यसको छेउ पर्न नपाए हुन्थ्यो भने सोच्थे तर अहिले यो ठाउँ पुग्न मानिस योजना बनाउँछन्, सपना देख्छन्। यो रूपान्तरणको पछाडि संकल्प कथा छ। कसरी सफा भयो गंगासागर? कसरी नियमित सरसफाइ हुन्छ? अनि कसरी सुरु भयो भव्य आरती?

सरसफाइ अभियान र आरतीको थालनी ‘सेभ हिस्टोरिकल जनकपुरधाम’ भन्ने संस्थाको पहलमा भएको रहेछ। यो संस्था औपचारिक रूपमा सुरु हुनुअगाडि नै सरसफाइ अभियान सुरु भएको रहेछ।

यो संस्था र अभियानमा जनकपुरका धेरै सरोकारवालालाई जोड्ने पहलको संयोजन गरेका रहेछन् रामआशिष यादवले। ‘सेभ हिस्टोरिकल जनकपुरधाम’ का पूर्वअध्यक्ष र सरसफाइ अभियानका संयोजक उनी हाल मधेस प्रदेशसभाका सभामुख हुन्। दोस्रोपटक प्रदेशसभा सदस्य निर्वाचित भएर उनी अहिले मधेस प्रदेशसभाको सभामुख छन्।

जनकपुरधामको गंगासागरको रूपान्तरण उदाहरणीय र अनुकरणीय छ। आफ्नो ठाउँको सानो कामका लागि सरकार र अन्य निकायको मुख ताकेर बस्ने अहिलेको अवस्थामा एउटा व्यक्तिले कसरी समुदायलाई एउटै धागोमा उन्न सफल हुँदो रहेछ भने उदाहरण हो - गंगासागरको रूपान्तरण। समुदायलाई सहभागिता गराउँदै स्वःस्फूर्त अभियान सञ्चालन गरेर सफल उदाहरण बने रामआशिष यादव।

२०६९ सालमा उनी आफ्नी श्रीमतीसँग ब्रह्मकुमारीको मुख्यालय भारतस्थित माउन्ट आबु पुगेका थिए। त्यहाँको स्वच्छता र भव्यता देखेर उनी चकित भए। त्यस समय उनको मनमा सपनाको बीज पलायो - जनकपुरधाममा पनि यस्तै गर्न पाए कस्तो हुँदो हो?

माउन्ट आबुमै उनले एक अठोट लिए– जनकपुरधाम पौराणिक, धार्मिक, ज्ञान र आस्थाको ऐतिहासिक ठाउँ हो। यो रामायणकालीन जीवन्त अवशेष पनि हो। त्यसैले यहाँ केही न केही त गर्नैपर्छ।

त्यो बेला काठमाडौंमा लीलामणि पौडेलको संयोजकत्वमा बागमती सरसफाइ अभियान चल्दै थियो। भारतमा पनि गंगा सफाइ अभियान चलेको थियो। जनकपुरधाम फर्केर उनले आफ्ना नजिकका शुभचिन्तकहरू विजय झुनझुनवाला, राजकुमार महासेठ र अमरचन्द्र अनिललगायतसँग छलफल गरे।

पानीबिना मानव सभ्यता कल्पना गर्न पनि सकिँदैन भन्ने ज्ञान थियो उनमा। जनकपुरधाम कुण्ड र पोखरीको भण्डार हो भन्ने पनि थाहा थियो तर पोखरी र कुण्डमा पानीभन्दा बढी फोहोर थियो। त्यसैले गंगासागरलाई सरसफाइ गरेर पवित्र बनाउनुपर्छ भने अभियान चलाउने निर्णय गर्दै छलफल टुंगिएको थियो।

अन्ततः २०७० फागुन ११ गते शनिबारबाट रामआशिषको अगुवाइमा सामूहिक र सामुदायिक सरसफाइ अभियान सुरुवात भयो। यो सरसफाइ कुनै संस्था वा संगठनबाट भएको थिएन। उनीहरूले स्वःस्फूर्त रूपमा आफन्त र साथीहरूलाई बोलाएर काम थालेका थिए।

उनीहरूले हरेक शनिबार दुई घण्टा श्रमदानका लागि आग्रह गर्थे। बिस्तारै सयौं मानिस जोडिँदै गए। विद्यार्थी, पत्रकार, मानव अधिकारकर्मी, व्यवसायी सशस्त्र र जनपद प्रहरी, नेपाली सेना सबै आए। सुरुमा कसैबाट आर्थिक सहयोग नलिई श्रमदानको माध्यमबाट सरसफाइ गरियो।

स्वःस्फूर्त मानिस आएर सरसफाइ गर्दा सफा त भयो, तर रामआशिष र उनका सारथिहरूको मनमा चिसो पस्यो– कतै यो दिगो भएन भने? कतै सरसफाइ संस्कृतिका रूपमा स्थापित भएन भने?

अनि उनीहरूले सामूहिक निर्णय गरे– गंगासागर सफा भएपछि आरती पनि सुरु गर्‍यौं भने पवित्रता र संस्कृति सधैंभरि बाँच्छ। त्यसपछि २०७१ जेठ २५ गते गंगा दशहराको मौका पारेर उनीहरूले आरती सुरु गरे। आरती सुरु गर्ने तय भएपछि उनीहरूले बनारसबाट तीन जना पुजारी ल्याएर जनकपुरधाममा सात दिनको प्रशिक्षण गराए।

रामआशिष भन्छन्, ‘आज जनकपुरधामको आरती यति प्रख्यात भयो कि नेपालभरिबाट मात्र नभई भारत र तेस्रो मुलुकबाट पनि आरतीमार्फत आफ्नो आस्थाको गंगासागर बर्साउन आउँछन्।’

गंगासागर आरतीमा आज स्थानीय, छिमेकी जिल्लाका दर्शनार्थी, देशभरिका दर्शनार्थीसँगै विशिष्ट पाहुना पनि आउँछन्। त्यहाँ नेपालको प्रथम राष्ट्रपति रामवरण यादवलगायत भारत, जापान, अमेरिका, इजरायल र चीनका राजदूतले भ्रमण गरेका छन्। भारतबाट प्रसिद्ध कथावाचकहरू, शंकराचार्य, विहारका तत्कालीन उपमुख्यमन्त्री सुशील मोदी लगायत अन्य धेरै व्यक्ति गंगासागरको आरतीमा समावेश भइसकेका छन्।

रामआशिष भन्छन्, ‘यो गंगाआरती मात्र होइन्, महागंगा आरती हो र यो शब्द मात्र होइन, यो जनकपुरधामको पौराणिक आस्थालाई समृद्ध बनाउने मन्त्र हो।’

भारतमा गंगा नदीको तटमा महागंगा आरती गरिन्छ। गंगालाई जलकी माता मानिन्छ, सीतालाई जमिन अर्थात् स्थलकी माता। सीताको जन्मस्थल जनकपुरधामको गंगासागर तटमा हुने महागंगा आरतीलाई जल र थलको संगम मानिन्छ। जलको संरक्षण र प्रकृतिको पूजा अर्थात् महागंगाआरतीले जनकपुरधामको रौनक र गौरव बढाइरहेको छ।

गंगा आरतीले जनकपुरधामको पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण योगदान दिएको छ। गंगाआरतीले गर्दा यस क्षेत्रमा पर्यटक बस्ने अवधि बढेको वेलकम होटलका सञ्चालक विजय झुनझुनवाला बताउँछन्।

‘गंगाआरती बेलुका हुने भएकाले पर्यटकहरू बस्ने गरेका छन्। गंगाआरतीले होटल व्यवसायमा पनि टेवा पुगेको छ,’ उनी भन्छन्।

प्रकाशित: ३ माघ २०८२ ११:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App