६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

गोली भएर आफैँतिर नफर्कियोस् बोली!

नेपालमा नेता बन्न ढङ्ग चाहिँदैन। अभिनेताले झैँ श्रोतालाई दङ्ग पार्न कर्णप्रिय भाषण छाँटिदिए पुग्छ। विपक्षीका वक्षभेदन गर्न सक्ने गालीसँगै ताली पिटिटी पड्किन थाल्छ। गाली पनि प्रधानमन्त्री ओलीले जस्तै भाँती पुर्यागएर गर्न जान्नुपर्छ। जनता साक्षात् भगवान् जनार्दन हुन्।भजन गाउन सक्ने गन्धर्व नेतालाई यथेष्ट वरदान दिन सक्छन्। यस्तो जनमन्त्र जप्न जान्ने सामान्य व्यक्ति मन्त्रीमात्रै हुन्थ्यो तर खड्गप्रसाद ओली त प्रधानमन्त्री नै बन्नुभयो! वक्तृत्वकलामा सर्वप्रथम भएकैले सामान्य मध्यम वर्गीय परिवारका सदस्य खड््गप्रसाद ओली हाम्रा वर्तमान प्रधानमन्त्री हुनुहुन्छ। तपाईंको शब्दबाणबाट व्याकुल र इखालु विपक्षीहरू तपाईंलाई काग पनि भन्लान्। कागले मृत्युको समाचारमात्र सुनाउँदैन। खडेरीमा काग कराइदिए पानी पर्थ्यो भनेर आशा गर्ने किसानहरू कति छन्, छन्। त्यसो त तपाईंका अन्धसमर्थकहरू तपाईंका जुनसुकै अङ्गबाट निस्किएको ध्वनिलाई ब्रह्मवाक्य पनि मान्दा हुन्। विपक्षी एमालेका उग्र कार्यकर्ताहरू गिरिजाप्रसाद कोइरालालाई हल्दार (हवल्दार) भन्थे। नेपाली काङ्ग्रेसका क्षुद्र कार्यकर्ताहरूले पनि केपी ओलीलाई हवल्दार भनेर पैँचो तिरिसकेका छन्। नेपालमा हवल्दार नभई प्रधानमन्त्री हुन नपाइने भएरै त होला, क्रमशः अन्य–अन्य दलका शीर्ष नेताहरू पनि विदेशी भर्ती केन्द्रबाटै प्रशिक्षण लिँदै छन्। "झलनाथ खनाल र माधवकुमार नेपाल जस्ता जुरेहरूको हललाई नै हल्लाएर हवल्दार सा'बले पार्टीको अध्यक्ष पड्काउनुभयो।" यो कुरा एमालेकै भुराहरूले भनेका हुन्। ओलीज्यूकै बोलीले जुरुक्क उचालेर नेकपा माओवादीलाई पहिलो तहको कुर्सीबाट तेस्रो तहको कुर्सीमा पुर्याेइदियो।

संयोग नै होला प्रधानमन्त्री ओली सङ्गीतकार पनि हुनुहुन्छ। यथार्थमै भन्नुपर्दा नेपाली भाषाका मर्मज्ञ र प्रेमी प्रयोक्ता हुनुहुन्छ– हाम्रा प्रधानमन्त्री। लालित्यपूर्ण सङ्गीतात्मक शैलीमा मुहुनी लाउन सक्ने नेपाली शब्दको शुद्ध उच्चारण गर्ने तपाईं नै प्रजातन्त्र पुनः स्थापनापछिका प्रधानमन्त्रीहरूमध्ये नेपाली भाषालाई माया गर्ने उत्कृष्ट प्रधानमन्त्री हुनुहुन्छ। नेपाली भाषामा प्रचलित उखान र वाक्पद्धतिलाई सहजतापूर्वक सही ठाउँमा संयोजन गर्न सक्नुलाई तपाईंको प्रतिभा, विद्वत्ता र वाक्चातुर्य भन्नैपर्छ। पासभन्दा पढाइ गरिष्ठ हुन्छ यसकारण म तपाईंको प्रमाणपत्र छानबिन गरेर समय खेर फ्याँक्दिनँ। गौतम बुद्धले एक कक्षा पनि पास गरेका थिएनन्। हाम्रा अज्ञात पूर्वज कविहरूका परिपक्व मुखारविन्दबाट प्रवाहित तुक मिलेका उखान र वाक्पद्धतिहरू नेपाली भाषाका गरिमा हुन्। गरिमाको सदुपयोग गर्ने सफल व्यक्तित्वप्रति हामीहरू कृतकृत्य छौँ। बरु पदमा छँदैमा गौरवमय नेपाली भाषालाई कुरूप बनाउन सक्रिय संस्था र ती संस्थाका सञ्चालकहरूलाई भाषाप्रेम गर्न बाध्य पारिदिनुहोला। नेपाली भाषा बचाउने सार्थक र साकार प्रयत्न गरिदिनुभयो भने अरू केही दिन नसके तापनि आफ्नो अमूल्य मत देखाई–देखाई दिन सक्छु।

नेताका विरोधीहरू दलभित्र र दलबाहिर पनि छ्यापछ्याप्ती हुन्छन्। तिनलाई लछार्न र पछार्नका लागि ओलीको बोली अर्थात् उखानमय बखान प्रभावकारी भयो। खड्गप्रसाद ओलीज्यू, तपाईं झापाकाण्डमा छप्काइएका खड्ग र पड्काइएका गोलीले नभएर बेलाअनुसारको बोलीले नै सफल हुनुभएको हो। बोल्नेको पीठो मात्रै बिक्थ्यो, तपाईंले त भुस पनि बेचेर भ्याउनुभयो।

अब ओलीजी नेकपा एमालेका नेतामा सीमित हुनुहुन्न। तपाईं त सिङ्गो नेपाल अनि नेपालीका साझा अभिभावक भइसक्नुभएको छ। अत्यधिक जनसङ्ख्याका साथ भीमकाय लिएर दुईतिर उभिएका छिमेकी मित्रराष्ट्रहरूको सुरक्षापति ओलीज्यूले दलविशेषको हवल्दारी भूमिका बिर्सिएर जिम्मेवारी वा उत्तरदायित्वपूर्ण एकीकर्ता हुनु आवश्यक छ। प्रधानमन्त्रीको सिउर पाउँदैमा जोसँग पनि ताउरमाउर गर्न पाउने सबै पाउर पाएँ भन्ने भ्रममा नपर्नुहोला। तपाईं नेपाली जनताले नै पालेर हुर्काइनुभएकोे रैथाने भाले हुनुहुन्छ। थाहै होला, भालेले पनि बास्नका लागि बिहानीको प्रतीक्षा गर्नैपर्छ। मध्यरातमा जथाभाबीसँग बास्न थाल्दा विश्वास हराउला। ओलीज्यू, उज्यालो हुने वातावरण बनाउनुहोस् र जति बास्नुपर्छ बास्नुहोस्। कोइलीको स्वर जतिसुकै सुमधुर भए तापनि प्रतिभा देखाउन उसले वसन्त ऋतुको प्रतीक्षा गर्नै पर्छ। संवेदनशील राष्ट्रका उत्तरदायी अभिभावकले निद्रामा पनि बरबराउन सुहाउँदैन। तपाईंले कुरा गर्ने भूमिका पहिले नै पाइसक्नुभएको छ। पालो पछि पनि आउँछ। अहिले काम गर्ने भूमिकामा हुनुहुन्छ। त्यही भूमिका निर्वाह गर्नुहोला। बरु भाषण गर्ने कला अर्थात् वक्तृत्वकला सिक्नका लागि शेरबहादुर देउवा र सुशील कोइरालाहरूलाई सल्लाह दिनुहोला।

२०३३ सालमा यो स्तम्भकारसँगै वक्तृत्वकलामा भाग लिएर पहिला हुन सफल भएका परराष्ट्रमन्त्री कमल थापाले तपाईंलाई पनि जित्ने हुन् कि भन्ने शुभ चिन्तामात्रै गरेको हुँ। यद्यपि म तपाईंको मतदाता होइन, आशामुखी जनता चाहिँ पक्कै हुँ। तपाईंप्रति गरिएको शुभ चिन्तामा मेरो पनि स्वार्थ लुकेको छ। तपाईंका दुइटा कानले भारत र चीनका कुरा राम्ररी सुनून्। एक जोर आँखाले प्रतिपक्षी र जनताका रचनात्मक आलोचना राम्ररी पढून्। मुख एउटा मात्रै छ। पथ्य भोजन गरिरहनुहोला। धीरता नै वीरताको लक्षण हो। प्रतिपक्षमा बस्ने पालो अवश्य आउनेछ। तपाईका मर्मस्पर्शी व्यङ्ग्यबाण त्यति बेलालाई साँच्नुहोला। अर्को वर्षको वसन्त आउनेै लागिसक्यो। तपाईंको कोकिलकण्ठ प्रतिपक्षमा बस्दाखेरिलाई काम लाग्छ।

(अधिकारी भाषाशास्त्री हुन्।)

प्रकाशित: १३ माघ २०७२ २३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App