संयोग नै होला प्रधानमन्त्री ओली सङ्गीतकार पनि हुनुहुन्छ। यथार्थमै भन्नुपर्दा नेपाली भाषाका मर्मज्ञ र प्रेमी प्रयोक्ता हुनुहुन्छ– हाम्रा प्रधानमन्त्री। लालित्यपूर्ण सङ्गीतात्मक शैलीमा मुहुनी लाउन सक्ने नेपाली शब्दको शुद्ध उच्चारण गर्ने तपाईं नै प्रजातन्त्र पुनः स्थापनापछिका प्रधानमन्त्रीहरूमध्ये नेपाली भाषालाई माया गर्ने उत्कृष्ट प्रधानमन्त्री हुनुहुन्छ। नेपाली भाषामा प्रचलित उखान र वाक्पद्धतिलाई सहजतापूर्वक सही ठाउँमा संयोजन गर्न सक्नुलाई तपाईंको प्रतिभा, विद्वत्ता र वाक्चातुर्य भन्नैपर्छ। पासभन्दा पढाइ गरिष्ठ हुन्छ यसकारण म तपाईंको प्रमाणपत्र छानबिन गरेर समय खेर फ्याँक्दिनँ। गौतम बुद्धले एक कक्षा पनि पास गरेका थिएनन्। हाम्रा अज्ञात पूर्वज कविहरूका परिपक्व मुखारविन्दबाट प्रवाहित तुक मिलेका उखान र वाक्पद्धतिहरू नेपाली भाषाका गरिमा हुन्। गरिमाको सदुपयोग गर्ने सफल व्यक्तित्वप्रति हामीहरू कृतकृत्य छौँ। बरु पदमा छँदैमा गौरवमय नेपाली भाषालाई कुरूप बनाउन सक्रिय संस्था र ती संस्थाका सञ्चालकहरूलाई भाषाप्रेम गर्न बाध्य पारिदिनुहोला। नेपाली भाषा बचाउने सार्थक र साकार प्रयत्न गरिदिनुभयो भने अरू केही दिन नसके तापनि आफ्नो अमूल्य मत देखाई–देखाई दिन सक्छु।
नेताका विरोधीहरू दलभित्र र दलबाहिर पनि छ्यापछ्याप्ती हुन्छन्। तिनलाई लछार्न र पछार्नका लागि ओलीको बोली अर्थात् उखानमय बखान प्रभावकारी भयो। खड्गप्रसाद ओलीज्यू, तपाईं झापाकाण्डमा छप्काइएका खड्ग र पड्काइएका गोलीले नभएर बेलाअनुसारको बोलीले नै सफल हुनुभएको हो। बोल्नेको पीठो मात्रै बिक्थ्यो, तपाईंले त भुस पनि बेचेर भ्याउनुभयो।
अब ओलीजी नेकपा एमालेका नेतामा सीमित हुनुहुन्न। तपाईं त सिङ्गो नेपाल अनि नेपालीका साझा अभिभावक भइसक्नुभएको छ। अत्यधिक जनसङ्ख्याका साथ भीमकाय लिएर दुईतिर उभिएका छिमेकी मित्रराष्ट्रहरूको सुरक्षापति ओलीज्यूले दलविशेषको हवल्दारी भूमिका बिर्सिएर जिम्मेवारी वा उत्तरदायित्वपूर्ण एकीकर्ता हुनु आवश्यक छ। प्रधानमन्त्रीको सिउर पाउँदैमा जोसँग पनि ताउरमाउर गर्न पाउने सबै पाउर पाएँ भन्ने भ्रममा नपर्नुहोला। तपाईं नेपाली जनताले नै पालेर हुर्काइनुभएकोे रैथाने भाले हुनुहुन्छ। थाहै होला, भालेले पनि बास्नका लागि बिहानीको प्रतीक्षा गर्नैपर्छ। मध्यरातमा जथाभाबीसँग बास्न थाल्दा विश्वास हराउला। ओलीज्यू, उज्यालो हुने वातावरण बनाउनुहोस् र जति बास्नुपर्छ बास्नुहोस्। कोइलीको स्वर जतिसुकै सुमधुर भए तापनि प्रतिभा देखाउन उसले वसन्त ऋतुको प्रतीक्षा गर्नै पर्छ। संवेदनशील राष्ट्रका उत्तरदायी अभिभावकले निद्रामा पनि बरबराउन सुहाउँदैन। तपाईंले कुरा गर्ने भूमिका पहिले नै पाइसक्नुभएको छ। पालो पछि पनि आउँछ। अहिले काम गर्ने भूमिकामा हुनुहुन्छ। त्यही भूमिका निर्वाह गर्नुहोला। बरु भाषण गर्ने कला अर्थात् वक्तृत्वकला सिक्नका लागि शेरबहादुर देउवा र सुशील कोइरालाहरूलाई सल्लाह दिनुहोला।
२०३३ सालमा यो स्तम्भकारसँगै वक्तृत्वकलामा भाग लिएर पहिला हुन सफल भएका परराष्ट्रमन्त्री कमल थापाले तपाईंलाई पनि जित्ने हुन् कि भन्ने शुभ चिन्तामात्रै गरेको हुँ। यद्यपि म तपाईंको मतदाता होइन, आशामुखी जनता चाहिँ पक्कै हुँ। तपाईंप्रति गरिएको शुभ चिन्तामा मेरो पनि स्वार्थ लुकेको छ। तपाईंका दुइटा कानले भारत र चीनका कुरा राम्ररी सुनून्। एक जोर आँखाले प्रतिपक्षी र जनताका रचनात्मक आलोचना राम्ररी पढून्। मुख एउटा मात्रै छ। पथ्य भोजन गरिरहनुहोला। धीरता नै वीरताको लक्षण हो। प्रतिपक्षमा बस्ने पालो अवश्य आउनेछ। तपाईका मर्मस्पर्शी व्यङ्ग्यबाण त्यति बेलालाई साँच्नुहोला। अर्को वर्षको वसन्त आउनेै लागिसक्यो। तपाईंको कोकिलकण्ठ प्रतिपक्षमा बस्दाखेरिलाई काम लाग्छ।
(अधिकारी भाषाशास्त्री हुन्।)
प्रकाशित: १३ माघ २०७२ २३:४० बुधबार




