नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले लमजुङमा आफ्नो पार्टीसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियत अन्य कुनै पनि दलसँग नरहेको दाबी गरेका छन्।
मंगलबार सदरमुकाम बेसीसहरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गुरुङले एमालेको संगठन, विकासको एजेन्डा र जनविश्वासका कारण विपक्षीहरू धेरै पछाडि रहेको जिकिर गरेका हुन्।
प्रमुख प्रतिस्पर्धी ठानिएको नेपाली कांग्रेस अहिले आन्तरिक किचलो र विभाजनमा फसेको भन्दै उनले कांग्रेससँग एमालेसँग भिड्ने तागत नभएको टिप्पणी गरे।
‘कांग्रेसी साथीहरूलाई दुःख लाग्ला, तर कांग्रेस अहिले संकटमा छ, वैचारिक र सांगठनिक रूपमा विभाजित छ,’ गुरुङले भने, ‘यस्तो विभाजित शक्तिले एमालेसँग लडाइँ जित्न सक्दैन। लमजुङमा एमालेसँग प्रतिस्पर्धा गर्ने लायकको कुनै पार्टी छैन, हामी मात्रै हौं।’
सम्बोधनका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ शक्तिहरूलाई फेसबुक र सडकमा कराउने भीडको संज्ञा दिए। उनले भने, ‘हल्ला सडकमा छ, हल्ला फेसबुकमा छ तर भोटजति एमालेको सूर्यमा छ।’
उनले रास्वपा सभापति रवि लामिछाने प्रति संकेत गर्दै अहिलेको लडाइँ सज्जन र ठगहरू बीचको भएको बताए। उनले निर्वाचनमा उनीहरूको वास्तविक हैसियत देखिने चेतावनी दिए।
नेता गुरुङले एमाले नेतृत्वको सरकारले गरेका कामहरूको फेहरिस्त प्रस्तुत गर्दै देशको मुहार फेर्ने भिजन एमालेसँग मात्र भएको दाबी गरे।
‘भूकम्पपछिको पुनर्निर्माण होस् वा पेट्रोलियम पाइपलाइन, सुरुङ मार्ग होस् वा पानीजहाजको कुरा, यी सबै एमालेका भिजन हुन्,’ उनले भने, ‘हामीले सुरु गरेका विकासका काम पूरा गर्न र संविधानको रक्षा गर्न एमालेको जित अनिवार्य छ।’
उनले लमजुङका जनताले विकासप्रेमी एमालेलाई नै रोज्नेमा आफू ढुक्क रहेको बताउँदै कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ चुनावमा होमिन निर्देशन समेत दिए।
प्रकाशित: ६ माघ २०८२ १९:०४ मंगलबार





