३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

इलामका २ क्षेत्रमा २७ उम्मेदवारको मनोनयन दर्ता

इलाम २ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवार मनोनयन दर्ता गराउँदै । तस्बिर : भीम चापागाईं/नागरिक

आउँदो फागुन २१ को प्रतिनिधिसभा निर्वाचिनका लागि इलामका २ निर्वाचन क्षेत्रमा २७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र १ मा २ महिलासहित १३ र क्षेत्र २ मा १ महिलासहित १४ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

क्षेत्र १ मा नेकपा (एमाले)बाट काजीमान कागते, नेपाली कांग्रेसबाट निस्कल राई, नेपाली कम्युनिस्ट पार्टीबाट रणबहादुर राई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विमल गदालले मनोनयन दर्ता गराएका छन् ।  

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्वाला नेपाल, नेपाल मजदुर किसान पार्टीबाट तुल्सीकेसरी प्रजापति (छुजु), श्रम संस्कृति पार्टीबाट विनोद नेम्बाङ लिम्बू, उज्यालो नेपाल पार्टीका हरिबहादुर गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचे, नेपाल जनमुक्ति पार्टी डम्बरसिंह लिम्बूले मनोनयन दर्ता गराए । नेकपा (माओवादी)बाट नारदमणि साम्पाङ, जनता समाजवादी पार्टीबाट लीलाबहादुर सुनुवार तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रामप्रसाद लिम्बूले मनोनयन दर्ता गराएको कार्यालयले जनाएको छ ।  

क्षेत्र १ मा २०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालराई पराजित गर्दै एमालेका तत्कालीन जिल्ला अध्यक्ष महेश बस्तेत विजयी भएका थिए । खनालले निरन्तर ३ दशकदेखिको चुनाव जितेको (२०५६ सालबाहेक) यो क्षेत्रमा बस्नेतले २ हजार ६ सय ६४ मतान्तरले खनाललाई हराएका थिए । बस्नेतले २५ हजार ७ सय ५३ र खनालले २३ हजार ८९ मत ल्याएका थिए ।  

क्षेत्र २ मा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका भेषराज आचार्य, नेकपाका ओमबहादुर गुरुङ, रास्वपाका गोकुल राई, राप्रपाका गणेशप्रसाद दुलाल, राष्ट्रिय परिवर्तन पार्टीका दिवस राई, राष्ट्रिय जनमुक्ति पार्टीकी पवित्रा लिम्बू तुम्बाङ्फेले उम्मेदवारी दर्ता गराए । जसपाका बलबहादुर आङ्देम्बे, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू, मंगोल नेसनल अर्गनाइजेसनका श्यामबहादुर लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सादरसिंह लिम्बू, श्रम संस्कृति पार्टीका सुदीप राई र नेकपा (माओवादी)का होमप्रसाद खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।  

क्षेत्र २ मा २०८१ वैशाखमा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नै विजयी बनेका थिए । उनी २७ हजार ७ सय ७२ मत ल्याएर ५ हजार ७ सय ८० मतान्तरले  विजयी बनेका थिए । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस ((अन्य दलसहितको गठबन्धन)का उम्मेदवार डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत ल्याएका थिए ।  यो क्षेत्रमा २०७९ मंसिरको निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्बाङ विजयी बनेका थिए । सुवास आफ्नो ३० वर्षदेखिको विरासत जोगाएर पाँचौं पटक विजयी बनेका थिए । 

प्रकाशित: ६ माघ २०८२ १९:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App