नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले मुलुकमा अराजकता मच्चाउने र ठगी गर्नेहरूलाई पाखा लगाउन एमालेको जित अनिवार्य रहेको बताएका छन्।
मंगलबार लमजुङको बेसीसहरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता गुरुङले अहिलेको निर्वाचन सज्जन र ठगहरू बीचको लडाइँ भएको बताए।
उनले सहकारी ठगी गर्ने, आगजनी गर्ने र अपराधीक मनोवृत्ति भएकाहरूलाई पराजित नगरी देशमा सुशासन कायम हुन नसक्ने दाबी गरे।
गुरुङले भने, ‘यो लडाइँ सज्जनहरू र सहकारीका ठगी गरेर हिँड्नेहरू बीचको लडाइँ हो। यो आगजनी गर्ने, तोडफोड गर्ने, चोरहरू र हत्याराहरूलाई अन्त्य नगरीकन, यिनीहरूलाई पराजित नगरीकन मुलुकमा सुशासन आउन सक्दैन।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ शक्ति र सडक आन्दोलन गरिरहेका समूहप्रति लक्षित गर्दै उनीहरूलाई परास्त गर्न एमालेको सरकार बन्नुपर्ने जिकिर गरे।
‘ठगहरूलाई पराजित नगरेसम्म देशको स्वाभिमान र लोकतन्त्र बच्दैन,’ उनले थपे, ‘त्यसैले चोर र हत्याराहरूलाई पराजित गर्न एमालेले चुनाव जित्नुपर्छ।’
नेता गुरुङले एमाले नेतृत्वको सरकारले मात्रै अराजकता अन्त्य गरी संविधानको रक्षा गर्न सक्ने दाबी गरे। उनले सडक र फेसबुकमा हल्ला फैलाउनेहरूबाट देश नबन्ने भन्दै विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको बताए।
प्रकाशित: ६ माघ २०८२ १९:१७ मंगलबार





