जाडोसँग सामना गर्न शरीरलाई न्यानो लुगा जति आवश्यक पर्छ उति नै शक्तिवर्द्धक खानेकुरा पनि आवश्यक पर्छ। आन्तरिक शक्ति पूरा गर्न नियमित खानाका साथै फलफूल, भिटामिन, प्रोटिन, खनिज लगायत तत्वहरु मिलाएर खानु र्छ। 'जाडोमा रोगसँग लड्न शरीरलाई 'भिटामिन सी'को आवश्यकता पर्छ। सामान्यतया जाडो हुन्छ भन्ने सोचले यो मौसममा फलफूल कम खाने गर्छन्। तर भिटामिन सी पाइने हुनाले सुन्तला, मौसम, स्याउ लगायतका फलफूलहरु प्रशस्त मात्रामा खानुपर्छ।
यीसँगै अन्य भिटामिन तथा प्रोटिन पाइने बदाम, काजु, पेस्टा जस्ता पदार्थ पनि प्रयोग गर्न सकिने उनको सुझाव छ।
जाडोमा स्वस्थ हुन झोलीय पदार्थ शरीरलाई उत्तिकै आवश्यक पर्ने वीर अस्पतालकी पोषणविद् राजेश्वरी पाण्डे बताउँछिन्। पाण्डेका अनुसार जाडोमा पसिना नबग्ने कारणले प्यास नलागे जस्तो भए पनि शरीरको आन्तरिक क्रियाकलापमा पानीको आवश्यकता परिरहेको हुन्छ। प्यास लागेन भनेर पानी तथा झोलजन्य खानेकुरा नखानाले शरिरमा जलवियोजन समेत हुन सक्ने भएकोले यो मौसममा प्रशस्त मात्रामा सुप तथा झोलजन्य खानेकुरा खानुपर्ने पाण्डेको सुझाव छ।
सिधै पानी पिउन मन नलागेको खण्डमा बिहान बेलुकी तथा दिउँसोको खाजामा बिभिन्न प्रकारका सुप, दालको झोल, दुध, मनतातो पानी र मह, कफी चिया वा तरकारीमा झोल राखेर पनि पिउन सकिने उनीहरुको सुझाव छ।
तर कलेजो र मिर्गौलाका रोगीको हकमा तातो झोल पदार्थ चिकित्सकको निर्देशन अनुसार मात्र सेवन गर्नुपर्ने उनको सुझाव छ। 'मिर्गौला र कलेजोका रोगीलाई बाहेक सबैलाई राम्रो हुन्छ झोल पदार्थ,' पोषणविद पाण्डेले भने।
व्यक्तिको इच्छानुसार सादा र मिश्रण सुप दुवै प्रयोग गर्न सकिन्छ। मसरुम, मिक्स भेज, चिकेन, सादा सुपहरु घरैमा बनाएर खान सकिन्छ।
गाउँघरमै पाइने काउली, बन्दा, सिमी, गाजर, गोलभेडा, पालुङ्गोको सागलाई मसिनो काटेर सुप पकाउने र त्यसमा कोदो, फापर या मकैको पिठो मिसाएर खान सकिन्छ। विभिन्न गेडागुडीको झोल तथा भान्छामा पाकिरहेको दाललाई पनि सुपका रुपमा खान सकिन्छ। 'मासु मन पर्नेले मासुको सुप खानसक्छन्, मन नपर्नेले तरकारी मिश्रण गरेर अनेक सुप बनाउन सकिन्छ,' पाण्डे र श्रेष्ठले भने।
चिसोमा कफी चिया तथा मह पानीमा मिसाएर पिउनाले शरीरलाई न्यानो राख्नुको साथै आनन्द पनि दिने भएकोले यसको पनि शरिरको क्षमता अनुसार प्रयोग गर्न सकिने उनीहरुको सुझाव छ। तर चिया कफीमा दुध र चिनीको मिश्रण भएमा ग्यास्टिक र चिनीको मात्रा बढी हुने भएकोले कालो कफी, कालो चिया अर्थात् चिनी बिनाको दुध चिया, कफी सेवन गर्न सकिने पाण्डे बताउँछिन्।
चिया, कफी पनि मधुमेह, मिर्गौला र कलेजोजस्ता बिरामीहरुले भने चिकित्सकको सल्लाह अनुसार मात्र सेवन गर्नु पर्ने उनीहरु बताउँछन्। चिसोले बालबालिका र वृवबृद्धालाई बढी सताउने भएकाले यी सुपहरु उनीहरुका लागि लाभदायक मानिन्छ। यो मौसममा अन्य गुलियो पदार्थको तुलनामा चाकु सेवन गर्न सकिने श्रेष्ठ बताउँछिन्। 'यसमा पोटासियक र क्याल्सियम पाइने भएकोले जाडोमा प्रयोग गर्न सकिन्छ'उनले भनिन् ।
जाडोमा खाना बढी नै रुच्न भएकाले बढी खाएर मोटाउने सम्भावना पनि यही मौसममा हुन्छ। नियमित खानामा क्यालोरीको मात्रा मिलाएर मात्र खानु पर्ने पोषणविद् श्रेष्ठले बताइन्। 'उचाइ र तौल अनुसार क्यालोरी मिलाएर खाएमा मोटोपनाबाट बच्न सकिन्छ,' श्रेष्ठले भनिन्।
शरीरलाई जाडोमा प्रशस्त भिटामिन चाहिने भएकाले फ्रिजबाहिर राखेको दही खान सकिने पाण्डे बताउँछिन्। 'भिटामिनको नाममा कोलड्रिङक्स र बट्टाको जुस खानु हुँदैन,' उनले थपिन्।
सामान्य काम गर्ने महिलाको हकमा १९ सय क्यालोरी र पुरुषको हकमा २४ सय क्यालोरी बराबरको खान सकिने नेपाल खाद्य तथा गुणनियन्ण विभागको सूचांकले जनाएको छ। यी क्यालोरी चारवटा खाद्य समूहबाट प्राप्त गर्न सकिन्छ। अन्नको समूह फलफूल तथा तरकारीको समूह, प्रोटिन भएको समूह र भिटामिन तथा खनिज भएको समूह। खनिज, फलफूल, प्रोटिन,सागसब्जी, पनिर, चिज, दुध, माछामासु, गेडागुडी, बदामलगायत खाद्यपदार्थ मिलाएर खाएमा मात्र व्यक्ति स्वस्थ हुनसक्ने श्रेष्ठ बताउँछिन्।
प्रकाशित: १७ पुस २०७२ २३:०७ शुक्रबार





