१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

बुद्धको जहाज दुर्घटनापछि भद्रपुर विमानस्थलको ‘रनवे’ छोट्याइयो

शुक्रबार राति बुद्ध एयरको जहाज दुर्घटनामा परेको झापास्थित भद्रपुर विमानस्थलको धावनमार्ग (रनवे) को लम्बाइ घटाएर उडान–अवतरण सुचारु गरिएको छ।

विमानस्थल कार्यालयका प्रमुख किशोरकुमार खत्रीका अनुसार नियमित १ हजार ५ सय मिटर लम्बाइ रहेको रनवेलाई हाल १ सय मिटर घटाएर १ हजार ४ सय मिटर कायम गरिएको छ।

दुर्घटनाग्रस्त जहाजको पछाडिको भाग ‘अफ–ट्रयाक’ मा परेकाले सुरक्षासुरका दृष्टिकोणले रनवेको लम्बाइ छोट्याइएको हो।

‘जहाजको पछाडिको भागले अवरोध सिर्जना गर्न सक्ने भएकाले रनवे छोट्याइएको हो। पाइलटहरूलाई १४ सय मिटर मात्रै धावनमार्ग उपलब्ध रहेको जानकारी (नोटिस) गराउँदै विमानस्थल सञ्चालनमा ल्याएका छौं। एटीआर जहाजका लागि यो दूरी पर्याप्त हुन्छ।’ प्रमुख खत्रीले भने।

विमानस्थल कार्यालयले दुर्घटनाको कारण खराब मौसम नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ। शुक्रबार राति ९ बजेर १० मिनेटमा जहाज अवतरण गर्दा मौसम सफा रहेको प्रमुख खत्रीले सुनाए।

‘हाम्रो साइडबाट हेर्दा मौसममा कुनै समस्या थिएन, त्यसैले यो दुर्घटना मौसमका कारण भएको देखिँदैन,’ खत्रीले भने, ‘प्राविधिक कारणले दुर्घटना भएको हुन सक्छ, यद्यपि विस्तृत अनुसन्धानपछि मात्रै यथार्थ कारण खुल्नेछ।’

काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको ‘एटीआर–७२’ जहाज अवतरणका क्रममा अनियन्त्रित भई रनवेको पूर्वतर्फ करिब ३ सय मिटर बाहिर (ओभर रन) पुगेर जोतिएको थियो।

जहाजमा ५१ जना यात्रु, ४ जना चालक दलका सदस्य र १ जना इन्जिनियर सवार थिए। दुर्घटनामा परी को-पाइलट सुशान्त श्रेष्ठसहित ७ जना घाइते भएका छन्।

टाउको र अनुहारमा चोट लागेका को-पाइलट श्रेष्ठको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना सामान्य उपचारपछि घर फर्किसकेका छन्।

हाल दुर्घटनाग्रस्त जहाजलाई घटनास्थलबाट हटाउने कार्य भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

प्रकाशित: १९ पुस २०८२ १६:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App