नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक पूर्ण रूपमा निर्वाचनमा केन्द्रित भइसकेको बताएका छन्।
शनिबार संखुवासभाको खाँदबारीमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै संयोजक दाहालले राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको अवस्थामा अब चुनावबाट पछि हट्ने ठाउँ नरहेको बताएका हुन्।
उनले वर्तमान सरकारले नै आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन सक्षम रहेको जिकिर गरे। जेन-जी समेत निर्वाचनका पक्षमा उभिएकाले चुनाव हुनेमा अब शंका गरिरहनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।
दाहालले अब मुलुकमा सर्वपक्षीय वा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको स्पष्ट पारे। सरकार पुनर्गठन र संसद् पुनर्स्थापनाको चर्चालाई नकार्दै उनले भने, ‘वर्तमान सरकार नै चुनाव गराउन सक्षम छ, अब सरकार पुनर्गठन हुँदैन।’
संविधान संशोधनको प्रसङ्ग कोट्याउँदै दहालले नयाँ जनादेशपछि मात्र त्यसबारे सोच्न सकिने बताए। ‘संविधानसभाबाट संविधान बनाउँदै गर्दा नै हामीले १० वर्षपछि समीक्षा गर्ने वाचा गरेका थियौँ,’ उनले भने, ‘संविधानका सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरी संशोधन र परिमार्जन गर्ने कार्य नयाँ जनादेश प्राप्त भएपछि अघि बढाइनेछ।’
उनले जेन-जी आन्दोलनको मर्म र भावनाअनुसार राजनीतिक दलहरू नयाँ जनादेशमा जानुपर्ने आवश्यकता औंल्याए। नेकपा संखुवासभाको एकता घोषणा कार्यक्रममा सहभागी हुन दाहाल र सहसंयोजक माधवकुमार नेपाल खाँदबारी आइपुगेका हुन्।
प्रकाशित: १९ पुस २०८२ १७:५३ शनिबार





