नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा सबै नेता मिलेर आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई घेराबन्दीमा पार्ने काम भएको टिप्पणी गरेका छन्। बुधबार कार्यसम्पादन समितिको बैठक पछि पत्रकारसँग कुराकानी गर्दै महामन्त्री थापाले यस्तो दाबी गरेका हुन्।
‘नेपाली कांग्रेसमा विधान मिच्दै जानेक्रममा पछिल्लो समय कहाँ पुगेको छ भने–म र विश्वप्रकाश शर्मालाई खासगरिकन पार्टीको महामन्त्रीको भूमिका निर्वाह गर्दैगर्दा यसलाई कर्नर गर्ने, घेराबन्दी गर्ने, यसका विरुद्ध सबै मिल्ने,’ महामन्त्री थापाले भने।
यसैले आज आफू नेताहरूलाई ‘यहाँभित्र तपाईँहरू सबै मिलेर मलाई र विश्वप्रकाशलाई जति घेराबन्दी गरे पनि यहाँको घेरा सानो छ’ भनेको प्रतिक्रिया दिए। ‘बाहिर पार्टीका साथीको घेरा ठुलो छ। समर्थकको घेरा ठुलो छ। शुभेच्छुकको घेरा ठुलो छ। त्यो भन्दा बाहिर अझैँ आम नागरिकको घेरा ठुलो छ। तपाईँहरू हामीलाई पार्टीको साँघुरो घेराबाट झन् झन् फराकिलो घेरामा जानका निम्ति बाध्य पार्दै हुनुहुन्छ,’ उनले भने,‘किनभने हामी त्यहाँबाट जिम्मेवारी लिएर यहाँ आएका थियौँ।’
बुधबारको कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनका टिकट बाँडफाँटको निर्णय लिएको थियो। जसमा इतर पक्षका नेता डा. शेखर कोइरालाले पनि संस्थापन पक्षसँगै समझदारी कायम गरेका थिए। तर त्यो निर्णयमा दुई महामन्त्रीहरूले विमति राखेको बताएका छन्।
प्रकाशित: २३ पुस २०८२ १४:०० बुधबार





