६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

डिसहोम आक्रमणमा संलग्न पक्राउ

ललितपुर-डिस होम नेपालको भैसेपाटीस्थित मुख्य प्रशारण केन्द्रमा बुधबार विहान भएको आक्रमण र आगजनीमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले आगजनीमा संलग्न नेकपा माओवादी विप्लव समूहका जिल्ला नेता जिवेन्द्र शाहीलाई पक्राउ गरेको हो ।प्रहरीले शाही बिरुद्ध आगजनी र आक्रमणमा संलग्न भएको मुद्दामा ललितपुर जिल्ला अदालतबाट शुक्रबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ ।

परिसरका अनुसन्धान प्रमुख डिएसपी दयानिधी ज्ञवालीले डिसहोमको जाहेरी पछि शाहीलाई पक्राउ गरि अनुसन्धान थालेको बताए । उनका अनुसार शाहीसँगै घटनामा संलग्न अन्यको समेत पहिचान र खोजी भै रहेको छ ।

प्रहरीले घटनाका समयको सिसिटिभी फुटेज र प्रत्यक्षदर्शीको बयान पछि ललितपुर जिल्ला कमिटिका सदस्य शाहीलाई विहिबार राती भैसेपाटीबाट पक्राउ गरेको हो ।

शाही सहितको समूहले बुधबार विहान डिसहोमको सिग्नल कन्ट्रोल र डिस्ट्रब्युसन च्यानल बक्समा पेट्रोल छर्केर आगलागी आगलागी गरेको थियो ।

डिस होमका सुरक्षाकर्मी र कामदार फेरबदल हुने विहानको समयमा १०–१५ जनाको समूह जर्वजस्ती कार्यालयमा पसेर कन्ट्रोल बक्समा आगजनी गरेको हो । विहान ५ बजे देखि नै मौका पर्खेर बसेको समूह कामदार फेरबदल हुन गेट खुल्ना साथ छापामार शैलीमा भित्र पसेर आगजनी गरि फरार थिए । आगजनीमा मुख्य कन्ट्रोल बक्स जलेको छ भने त्यससँग जोडिएका अन्य उपकरण समेत पडकिएका थिए।

डिसहोमका बजार ब्यवस्थापक कल्याण अधिकारीका अनुसार आगजनीका कारण दुईघण्टा प्रसारण पूर्णरुपमा अवरुद्ध हुन पुगेको थियो । उनका अनुसार करिब २ करोड बराबरको क्षति भएको हो ।

डिएसपी दयानिधी ज्ञवालीले नियोजित तरिकाले गलत नम्बरको मोटरसाईकलको प्रयोग गरि घटना भएको बताए । उनले प्रत्यक्षदर्सीले टिपाएको बा ६१ प ६४४२ नम्बरको पल्सर मोटरसाईकल खोज्दा सोही नम्बरको कागजपत्र सहितको स्कुटर फेला परेको थियो ।

डिसहोममा भएको आक्रमणको जिम्मेबारी नेकपा माओवादी विप्लव समूहले लिएको छ । पार्टीको निर्देशन विपरित हिन्दी च्यानल प्रशारण गरेको भन्दै भौतिक कारबाही गरिएको पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले बताए । उनले पार्टीकै नीति र निर्देशनमा काबाही भएको बताए । यसअघि पनि विप्लव समूहले एनसेलको बानेश्वर कार्यालयमा यस्तै आक्रमण गरेको थियो ।

प्रकाशित: ३ पुस २०७२ ०५:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App