फागनु २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर १ बाट प्रमुख दलहरुका उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ को मुख्य निर्वाधन अधिकृतको कार्यालय गौरले दिएका सूचना अनुसार, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधवकुमार नेपाल, नेकपा एमालेका अजयकुमार गुप्ता, नेपाली कांग्रेसका अनिलकुमार झा, रास्वपाका राजेश चौधरीले मनोनयन पत्र दर्ता गराएको बताए ।
मनोनयन पत्र दर्ता गराएर बाहिरिँदै पूर्वप्रधानमन्त्री एवं नेकपाका सहसंयोजक नेपालले संचारकर्मीहरुले राखेको जिज्ञासालाई सम्बोधन गर्दै लोकतन्त्रको रक्षार्थ, संघीयतालाई बलियो बनाउन, गणतन्त्रलाई संस्थागत गर्दै नेपाली नागरिकलाई सुखी एवं समृद्ध बनाउन कार्यहरु अझै बाँकी भएकाले त्यसलाई पुरा गर्न आफूले मनोनयन दर्ता गराएको बताए ।
यसैगरी आम जनता पार्टीका त्रिभुवन साह, जसपालोसपा गठबन्धनबाट योगेन्द्र यादव, जनमतका देवेन्द्र मिश्र, राप्रपाका श्रीराम साह सहितका उम्मेदवारहरुद्वारा मनोनयन पत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मनोज केसीले बताए ।
निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डा फिर्दोष आलम, नेपाली कम्युनिष्ट पार्टीका किरण साह, एमालेका महम्मद अतिउल्लाह, रास्वपाका शेख सगिर, जसपाका रामअशिष राय यादव, प्रगतिशिल लोकतान्त्रिक पार्टीका सुरेन्द्र प्रसाद जयसवाल, आजपा श्रीभगवान राउत सहित १३ जनाको मनोनयन पत्र दर्ता भएको निर्वाचन कार्यालयले जनाइको छ ।
निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट रामकृपाल यादव, नेपाली कम्युनिष्ट पार्टीबाट पुनम यादव र नेकपा एमालेबाट कुन्दन कुशवाहा, आम जनता पार्टीबाट प्रभु साहले मनोनयन पत्र दर्ता गराएका छन् ।
निर्वाचत क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना, नेकपा एमालेका रामजी साह, नेपाली कम्युनिष्ट पार्टीका रामकुमार भटराई, रास्वपाका गणेश पौडेल, आजपाका ऋषि धमला, जसपाका राजकुमार दास सहितका उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराए ।
पर्साका चार वटै निर्वाचन क्षेत्रका लागि नेपाली कांग्रेसले पटक पटक चुनावमा सहभागी भएकाहरुलाई नै उम्मेदवार बनाएका छन् ।
चार वटै निर्वाचन क्षेत्रमा पुरानै अनुहार मध्ये ३ जना शेरबहादुर देउवा पक्षका र १ जना गगन थापा पक्षले उम्मेदवारी दिएका हुन् ।
कांग्रेसले पर्सा क्षेत्र नम्बर १ बाट पूर्व केन्द्रीय सदस्य अनिल रुंगटालाई उम्मेदवार बनाएको छ । यसअघि रुंगटा २०७४ को निर्वाचनमा पर्सा–१ बाटै उम्मेदवार बनेका थिए । त्यसअघि रुंगटालाई कांग्रेसले दोस्रो संविधानसभा निर्वाचनमा पनि समानुपातिक तर्फ उम्मेदवार बनाएर निर्वाचित गराएको थियो ।
यसैगरी क्षेत्र नम्बर २ बाट पूर्वकेन्द्रीय सदस्य तथा निवर्तमान सांसद अजयकुमार चौरसिया, क्षेत्र नम्बर ३ बाट पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद सुरेन्द्र प्रसाद चौधरी र क्षेत्र नम्बर ४ बाट पूर्वमन्त्री ,पूर्व सांसद तथा पूर्व केन्द्रीय सदस्य रमेश रिजाललाई कांग्रेसले मनोनयन पत्र दर्ता गर्न लगाएको हो ।
उनीहरुमध्ये चौरसिया तीन पटकका तथा चौधरी र रिजाल चार पटकका सांसद हुन् । रिजाल र चौधरी २०४८ साल यता निरन्तर चुनाव लड्दै आएका छन् । चौरसिया र रिजाल देउवा पक्षका हुन् भने चौधरी भने गगन पक्षका हुन् ।
प्रकाशित: ६ माघ २०८२ २०:२९ मंगलबार





