श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङले धरानमा पानीको कृत्रिम अभाव सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालमार्फत केही समूहले पानीको अभाव देखाएर व्यापार गर्ने र चुनावी एजेण्डा बनाउने योजना गरिरहेको बताएका हुन्।
मेयर साम्पाङका अनुसार पानी माफियाहरूले पानीको व्यापार बढाउन अभावको अवस्था सिर्जना गर्न खोजेका छन्। 'भोट माग्ने एजेण्डा बनाउन जानीबुझी अन्य पार्टीहरूले यस्तो वातावरण बनाउन खोजिरहेका छन्,' उनले भने।
साम्पाङले आफू नेतृत्वमा रहँदा यस्तो अवस्था हुन नदिएको दाबी गर्दै धरानवासीलाई सतर्क रहन आग्रह गरेका छन्। उनले आधारभूत आवश्यकताको परिपूर्ति आफ्नो पहिलो प्राथमिकता रहेको र शैक्षिक, सामाजिक, श्रमगत तथा आर्थिक विकास आफ्नो मुख्य एजेण्डा भएको पनि स्पष्ट पारे।
प्रकाशित: १३ फाल्गुन २०८२ ०९:१३ बुधबार





