निर्वाचन प्रचारप्रसारका आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँगको भेटघाट गर्दै छन्। बिहान दमक ९ को चियादोकानमा ९:३० बजे मतदाता भेटघाट कार्यक्रम राखिएको छ।
पार्टीका झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली आज मुख्य गरी गौरीगञ्ज केन्द्रित छन्। गौरीगञ्जमा करिब ७ घण्टामा १२ वटा टोलका मतदतालाई भेटघाट गर्दै छन्। कार्कीका अनुसार ११ बजेदेखि सुरु हुने गौरीगञ्जको कार्यक्रम अपरान्ह ५ बजे सकिनेछ। यस बिचमा उनले गौरीगञ्ज ५ को श्याँमा टोली, हरिरा, माथिल्लो दिनाभद्री, अल्ताबारी, दुर्गा मन्दिर, नयाँ बजारका मतदतासँग भेटघाट र अन्तरक्रिया गर्ने छन्। यस्तै बाह्रशुद्धी, लतिझुला, भवानीपुर र हुक्कागाछीमा मतदाता भेटघाट कार्यक्रम रहेको छ।
कार्कीका अनुसार गौरीगञ्ज ३ मा बगुवातेलकानी, ठेकीटोला र तेलकानी टोलहरूमा मतदातासँग भेटघाट राखिएको छ।
यसअघि पनि सो क्षेत्रका मतदातासँग भेटघाट गरेका ओलीले आज पनि सो क्षेत्रका समस्या र मतदाताका गुनासा सुन्ने र समाधानका लागि प्रतिबद्धता जनाउने छन्।
प्रकाशित: १३ फाल्गुन २०८२ ०९:०७ बुधबार





