४ चैत्र २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

बैतडीमा बहुचर्चित प्रतिस्पर्धा : क्यान अध्यक्ष, पूर्वप्रधानमन्त्रीका छोरा र पूर्वमन्त्रीबिच कडा भिडन्त

एउटा मात्र निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम जिल्ला बैतडीमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा, नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्ददेखि नेपाल मजदुर किसान पार्टी, हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टी, आम जनता पार्टी (आजपा), तराई–मधेस केन्द्रित दल जनता समाजवादी पार्टी नेपाल (जसपा)सम्मले उम्मेदवारी दिएका छन्।

त्यसैले यसपटक बैतडीमा निर्वाचन रोचक बनेको छ। अझ रोचक के छ भने नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारसँग पूर्व नेपाली कांग्रेस र पूर्व एमालेका नेताबिच प्रतिस्पर्धा हुँदै छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवारी दिएका परमानन्द भट्ट पूर्व एमालेका नेता हुन् भने रास्वपाबाट उम्मेदवारी दिएका हरिमोहन भण्डारी पूर्व नेपाली कांग्रेसका नेता हुन्। यसपटक एमालेबाट दामोदर भण्डारी र नेपाली कांग्रेसबाट क्यानका अध्यक्ष चन्दले उम्मेदवारी दिएका छन्। यसपटकको निर्वाचनमा नेपाली कांग्रेस, एमाले, रास्वपा र नेकपाबीच प्रतिस्पर्धा हुँदै छ।

तर यो प्रतिस्पर्धामा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भूपेन्द्रबहादुर चन्द पनि कमजोर उम्मेदवार छैनन्। उनले राप्रपाबाट उम्मेदवारी दिएका छन्। गोठलापानीस्थित एक चियापसलमा एक स्थानीयबासी गफिँदै भन्दै थिए, ‘भूपेजीले राप्रपाको सट्टा नेपाली कांग्रेस अथवा रास्वपाबाट निर्वाचन लडेको भए अरू कसैले आशा नगरेको भए हुन्थ्यो। उनको विजय सुनिश्चित थियो।’ अर्थात भूपेन्द्रको बोली, व्यवहार र प्रचार शैलीप्रति स्थानीयबासी खुसी छन्।

यता क्यानका अध्यक्ष चन्द चुनाव जित्नेमा ढुक्क नै छन्। उनी यतिबेला सदरमुकाम बाहिर गाउँ–गाउँ पुगेका छन्। घरदैलो कार्यक्रममा व्यस्त छन्। ‘अहिले हामीले जनतालाई बुझाइरहेका छौं। जनता बुझ्दै छन्। परिस्थिति हाम्रोलागि निकै अनुकूल बनेको छ,’ नेपाली कांग्रेस बैतडीका सहसचिव दीपेन्द्रबहादुर चन्दले भने, ‘जनताले यो पटक परिवर्तन चाहेका छन्।’

एमालेका उम्मेदवार दामोदर भण्डारीले पनि आफूले चुनाव जित्ने दाबी गरे। २०७९ सालको निर्वाचनमा उनले ३३ हजार ६ सय ११ मत ल्याई विजयी भएका थिए। त्यसबाहेक पनि उनले दुई पटक निर्वाचन जितिसकेका छन्। यसपटक जिते भने चौथो पटक हुनेछ।

‘यसपटक पनि बैतडीमा एमाले नै जित्छ। बैतडीमा हामीले गरेको कामदेखि जनता प्रभावित छन्,’ भण्डारीले भने। भण्डारी निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुन्। केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला उनी मन्त्री भएका थिए। भण्डारीका अनुसार एमालेको प्रतिस्पर्धा कांग्रेससँग नै हुनेछ। कांग्रेसका उम्मेदवार चन्दले पनि आफ्नो प्रतिस्पर्धी एमाले नै भएको बताए। उनले पनि आफूले निर्वाचन जित्ने दाबी गरे। बैतडीको समृद्धि र समग्र विकासलाई कांग्रेस र एमाले दुवै पार्टीले प्रमुख एजेण्डा बनाएका छन्।

बैतडीमा रास्वपाले गरेको प्रचार शैली हेर्दा रास्वपाका उम्मेदवार हरिमोहन भण्डारी कमजोर उम्मेदवार होइनन्। उनले पनि चुनाव जित्न सक्ने सम्भावना उत्तिकै रहेको बैतडीका स्थानीयबासीले बताएका छन्। नागरिककर्मी बैतडी पुगेकै बेला गत फागुन १० गते सदरमुकाम प्रवेश गर्ने मुख्य राजमार्गमा बाटो नै बन्द गरेर रास्वपाका उम्मेदवार भण्डारीले कोणसभा गरिरहेका थिए।

बैतडीमा जनता समाजवादी पार्टी नेपालबाट आनसिंह भण्डारी, नेमकिपाबाट नवराज कोइराला, श्रम संस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेय, नेकपा (माओवादी)बाट रामबहादुर कुँवर र आजपाबाट विसनसिंह बोहरा उम्मेदवार छन्। यसैगरी जयप्रकाश बोहराले स्वतन्त्र उम्मेदवारी दिएका छन्। बैतडीमा यसपटक ११ जनाले उम्मेदवारी दिएका छन्।

यसपटक बैतडीमा १ लाख ५६ हजार ३ सय ७२ जना मतदाता रहेका छन्। २०७९ को निर्वाचनभन्दा यसपटक ६ हजार मतदाता बढी छन्। चार वटा नगरपालिका र छ वटा गाउँपालिका रहेको बैतडीमा एउटा विमानस्थल पनि छ। पाटनमा रहेको विमानस्थल लामो समयदेखि सञ्चालनमा आएको छैन। तत्कालै विमानस्थल सञ्चालनमा ल्याउने एजेण्डा निर्वाचनमा सबै पार्टीका उम्मेदवारहरूको छ। यसपटक पनि सबै पार्टीका उम्मेदवारहरूले यो एजेण्डा उठाउन छाडेका छैनन्। तर उक्त एजेण्डा कहिले कार्यान्वयन हुन्छ भन्ने भने अनिश्चित नै छ।

प्रकाशित: १३ फाल्गुन २०८२ ०९:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App