१७ आश्विन २०८३ शनिबार
image/svg+xml
खेल

यु–१९ विश्वकप र एनपिएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

नेपाल क्रिकेट संघ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आइसिसी यु-१९ महिला विश्वकप र तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को तयारीमा जुटेको छ। आगामी पुसमा आयोजना हुने आइसिसी यु-१९ महिला विश्वकप नेपालले पहिलोपटक आयोजना गर्दैछ।

एनपिएलको तेस्रो संस्करण कात्तिकदेखि सुरु हुने तालिका छ। यी दुवै प्रतियोगितालाई लक्षित गर्दै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानको स्तरोन्नति तथा आवश्यक पूर्वाधार निर्माणको काम तीव्र पारिएको क्यानका उपाध्यक्ष रोशनबहादुर सिंहले जानकारी दिए।

उनले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी मैदानलाई व्यवस्थित बनाउने काम भइरहेको बताए। विशेषगरी एनपिएलका अघिल्ला संस्करणमा देखिएको दर्शक तथा व्यवस्थापनसम्बन्धी समस्या यसपटक दोहोरिन नदिन आवश्यक तयारी भइरहेको उनको भनाइ छ।

'विगतमा जुन-जुन ठाउँमा त्रुटि भएको थियो त्यसलाई यसपटक सच्याउने प्रयास हामी गर्नेछौँ। दर्शकलाई सुविधा दिने प्रयास गर्नेछौँ किनकि उहाँहरूले पैसा तिरेर खेल हेर्नुहुन्छ', उपाध्यक्ष सिंहले भने।

दर्शकको सुविधाका लागि पार्किङदेखि अन्य व्यवस्थापनका काम व्यवस्थित गर्न लागिपरेको उनले बताए। 'बाइक स्ट्यान्ड, सवारी पार्किङलाई व्यवस्थित गर्न लागेका छौँ। दर्शकलाई अप्ठ्यारो कहाँ-कहाँ हुन्छ र त्यसमा कसरी सुधार गर्न सकिन्छ भन्नेमा हामीले ध्यान केन्द्रित गरेका छौँ', उनले भने।

एनपिएलका पहिलो र दोस्रो संस्करणमा देखिएका कमजोरीलाई सुधार गर्दै यसपटक मैदानमा कुनै पनि किसिमको त्रुटि नहोस् भन्नेमा क्यानले ध्यान दिएको उपाध्यक्ष सिंहले बताए।

नेपालले पहिलोपटक आयोजना गर्ने यु-१९ महिला विश्वकपका खेल टियु र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। मूलपानीको तुलनामा टियु मैदानमा बढी खेल सञ्चालन हुने उपाध्यक्ष सिंहले बताए।

प्रतियोगितालाई लक्षित गरी मैदानमा प्यारापिट, टोलीका लागि विश्रामस्थल तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी), एसियाली क्रिकेट परिषद् (एसिसी) र खेलाडीका अभिभावकका लागि भिआइपी संरचना निर्माण भइरहेको उनले जानकारी दिए।

मूलपानी क्रिकेट मैदान लामो समयदेखि निर्माण तथा स्तरोन्नतिका क्रममा रहे पनि अझै पूर्ण रूपमा तयार हुन नसकेमा उपाध्यक्ष सिंहले सरकारको ध्यानाकर्षण गराए। उनले मैदान निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यान जानुपर्ने बताए।

क्रिकेटले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउनुका साथै नेपालीमा खुसी दिएको उल्लेख गर्दै उनले क्रिकेट पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे। 'क्रिकेटले देशलाई चिनाएको छ। क्रिकेटले एउटा खुसी दिएको छ', उपाध्यक्ष सिंहले भने।

उनले मूलपानी क्रिकेट मैदानको निर्माणलाई छिटोभन्दा छिटो अघि बढाउनुपर्नेमा जोड दिए। नेपालमा अन्तर्राष्ट्रियस्तरका थप क्रिकेट मैदान निर्माण भएमा भविष्यमा ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सहज हुने उनको भनाइ छ।

'चाँडोभन्दा चाँडो मैदान निर्माण गरेर अन्तर्राष्ट्रिय जगत्मा नेपालमा पनि कम्तीमा दुईवटा ठूला ग्राउन्ड भएको देखाउनुपर्छ', उनले भने। नेपालमा कम्तीमा दुईवटा ठूला क्षमताका अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण भएमा विश्वकप, एसिसी प्रिमियर कप, एसिया कप, विश्वकप छनोटलगायतका ठूला प्रतियोगिता आयोजना गर्न सकिने क्यानको विश्वास छ। त्यस्ता प्रतियोगिता नेपालमा आयोजना हुँदा आर्थिक गतिविधिमा योगदान पुग्ने उपाध्यक्ष सिंहले बताए।

'भोलिको दिनमा भारत र पाकिस्तान, एसिसी कप, विभिन्न टुर्नामेन्ट नेपालले होस्ट गर्न पाउँछ। त्यसबाट आर्थिक लाभ हुन्छ', उनले भने।

ठूला प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधार निर्माणमा सरकार, स्थानीय तह तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ। मूलपानी मैदानको निर्माणले पूर्णता पाएमा नेपालको क्रिकेट पूर्वाधार थप बलियो हुने क्यानले जनाएको छ।

प्रकाशित: १६ आश्विन २०८३ ०६:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App