बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा मडै बस्ती नजिक रातु नदीको बाँध भत्किदा जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ। मंगलबार नै भत्केको बाँधबाट पानी झर्दै बुधबार साँझदेखि जलेश्वरमा पानी पसेको हो। निकास नहुँदा पानी जम्दै गएर बिहीबार बजार क्षेत्र जलमग्न भएको छ।
जलेश्वर–१ नगरपालिका चोकदेखि हटिया क्षेत्रमा जताततै पानी छ। तीन ठाउँमा भत्किएको बाँधले मडै, गोरीगमामा खेत काटेर नोक्सान गरेको छ। 'बर्सेनि यिनै ठाउँमा बाँध भत्किने गरेको छ,' महोत्तरी–६ गोरीगमाका किसान भोला महतो भन्छन्, 'बाढीले पोटाउने बेलाको धान लडाएर सोत्तर बनाएको छ।'
गत वर्ष पनि वन्चौरीमा बाँध फुटेको थियो। जलेश्वर डुबानमा परेपछि यातायातका साधन चलाउन अप्ठ्यारो भएको छ। हिँड्डुल गर्न पनि असजिलो भएको जलेश्वर–१ का विनोद पासवान बताउँछन्।
बाढी नगर क्षेत्रमा पसेपछि भत्किएको ठाउँमा तत्काल मर्मतसम्भार र जलेश्वर पुछारमा पानी निकासको प्रबन्ध थालिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। बाढी पसेपछि महोत्तरी गाउँपालिकाका रतबारा, मडै र गोरिगामा तथा जलेश्वर नगरपालिकाका छोट्का रतबारा, बजराही र धवौलीमा धानबाली नोक्सान भएको छ। रासस
प्रकाशित: १६ आश्विन २०८३ ०६:३५ शुक्रबार




-600x400.jpg)
