लगभग उस्तै प्रश्न छ मेरो मनमा पनि। लाग्छ, त्यो सपना नै हो जसलाई बारम्बार ब्युँझाउने प्रयत्न, पूरा गर्ने अभिलाषा मुटुमा सँगालेर गरिने भागदौड र संघर्षमै तुरिजान्छ जीवन।
प्रसंग हो कवि बिना तामाङ सुनगाभाको पछिल्लो कविता कृति रातो घरको। उनको यसअघिको छुकी नामक कथासंग्रह नेपाली साहित्यका पाठकमाझ लोकप्रिय ठहरिसकेको छ।
रातो घरभित्रका केही कविता तामाङ संस्कृति र पहिचान बुझाउने खाले र नारी अभिव्यक्तिले भरिएका भए पनि अधिकांश कवितामा आजको विसंगत समय र छटपटी नै दुखेको छ। हाइब्रिड कल्चरले आक्रान्त छ आजको समय। चाहे त्यो भाषा, संस्कृतिमा होस् या जीवनशैली र खानपीनमा नै। त्यतिमात्र नभई हामीले गरिने कृषिमा पनि ठिमाहा संस्कृति झाँगिएको छ। हुँदाहुँदा हाम्रो सोच पनि आयातित र हाइब्रिड भएको छ। यही विसंगत समयलाई उनको शक्तिशाली कविता मार्फाको रायोले बोलेको छ।
हो त्यही बाटो बनाएकै वर्ष
त्यही बाटो हुँदै
हाइब्रिड मकै
मार्फाको रायो
गाउँ भित्रिएको
अनि सँगसँगै भित्रिएको
बहुराष्ट्रिय कम्पनीको
ठेकेदार गम्भीरे
(मार्फाको रायो)
गाउँघरमा सडक पुगेसँगै जीवन सहज भएको छ। विकास भित्रिएको छ। विकाससँगै विकृति पनि। यतिखेर मनमा खेल्दैछ सोमत घिमिरे र टीका भट्टराईले सम्पादन गर्नुभएको पुस्तक 'समृद्ध कर्णालीको दुःख'। त्यसभित्रको एउटा लेखमा कर्णालीमा बाटो पुगेसँगै लेखकले देखेको सम्भावित परिवर्तन (जसले वातावरण र जीवनमा असर पार्न सक्छ) उल्लेख छ।
जुम्लाको बसपार्कमा उभिएर हेर्दा जग्गाको बढ्दो मूल्य र लगभग बनिसकेको सय घर र निर्माणधीन सय घरले जुम्लाको आफ्नो संस्कृति र उत्पादनको सातो लिन खोजेजस्तो देखिन्छ। (पृष्ठ ८१, समृद्ध कर्णालीको दुःख)
पक्कै पनि बिनाको मार्फाको रायोे र यी हरफहरूको मर्म उस्तै छ। विकासले जुम्लाको भर्जिन जीवनशैली र संस्कृति पनि मार्फाको रायोजस्तै ठिमाहा बनाइदिनेछ। लेखकहरू साझा दुखाइ दुख्दा रहेछन्।
बिना परिवर्तनशील समाजको सग्लो चित्र उतार्छिन्। विकृति, विसंगति, बाध्यता, पीडाहरू छर्लंग पार्छिन्, उनका कविताहरूमा। आधुनिकता, बजारीकरण र महŒवाकांक्षाले चिथोरेका अनुहार जताततै छ्यापछ्याप्ती दौडिरहेका छन्। उनको एउटा पात्र दिलमाया जो परिवारको लागि हरेक रात सहवासपछि उनीतिर फालिने नोटहरू जस्तै छताछुल्ल र अर्थहीन जीवन बिताउन बाध्य छिन्। उनको अर्को कविता 'प्रेषक बुद्ध'मा विदेश गएको एक वर्षपछि नै पार्सल भएर देश भित्रन्छ एक जोसिला युवक। आखिर यस्तै केही अशुभ भइरहेछ आजकाल हामी वरपर। सपना र महŒवाकांक्षाले हत्या गरिरहेछ धेरै युवाको। कोही मरेर मरिरहेछन् भने कोही ज्युँदो लास भई बाँचिरहेका छन्।
उनका कविताहरूको अर्को पाटो भनेको आजको धुमिल राजनीति, दुखेको देश अनि देशमा आएका अनगिन्ती परिवर्तनपछि पनि उक्सिन नसकेका जनताहरूको जीवन र साझा पीडामाथिको चिन्तन। जनताले आशा गरेबमोजिम काम गर्न नसकेको राजनीतिक आस्थाप्रतिको तिखो वितृष्णा र तिक्तता भेट्न सकिन्छ कविता कमरेडमा।
साँच्चै
यो रक्तिम लालीमा
रक्तिम किताब
रक्तिम पट्टी
सबैसबै श्यामश्वेत पल्टेछन् नि।
(कमरेड)
वास्तवमा आज भएकै त्यही छ। नेताहरूको देखाएको रंगीन सपनाहरू सबै श्यामश्वेत भएका छन्। आफ्नै आस्थाप्रति पनि शंका पलाएको छ, आम जनतामा आज।
बिनाको यस संग्रहमा जातीय र संस्कृति पहिचानलाई टड्कारो रूपमा सम्बोधन गर्ने कविताहरू छन्। हजुरबा, ल्होछार, ढ्यांग्रोजस्ता कविता तामाङ संस्कृतिलाई उजागर गर्छन्। महिलाहरूको पीडा, बाध्यता, जिम्मेवारीले थिचिएको अवस्था, सामाजिक बन्धनका विषयमा मात्र नभई उनको कलम आक्रोश र विद्रोह पनि लेख्न माहिर छ। उनको कविता विद्रोहको संवाहक हो। उनी लेख्छिन्, राममायालाई सम्बोधन गर्दै, त्यो पाउजुको छमछम मधुर संगीत नभई बन्धन हो। सायद हो पनि। त्यसैगरी धुवाँ र आमा कवितामा एउटी आमा जो जिन्दगीको रियालिटी शोमा सधैं एक्टिभ र फास्ट छिन्। बिहानदेखि बेलुकासम्म हात खाली हँुदैन तर त्यो सोबाट जहिले पनि आउट हुन्छिन्। उनको हात जहिल्यै हार पर्छ। महिलाले गर्ने घरेलु कामलाई कामको रूपमा नै नहेर्ने हाम्रो समाजले एउटी महिलाले बिहानदेखि बेलुकीसम्म गरेको चुलोचौका, केटाकेटीको स्याहार, परिश्रम र मेहनतलाई कसरी फर्स्ट बनाओस् र!
सुन्दर कविताहरू लेखेकी बिनाका केही कविता भने हतारमा लेखिएजस्ता लाग्छन्। विषयवस्तुको गहनतालाई कतिपय कविताको शिल्पले नथेगेको जस्तो देखिन्छ। विषयवस्तुको सपाट चित्रणले काव्यिक सुन्दरतालाई ओझेलमा परिदिने खतरा हुन्छ। धुवाँ र आमा, मार्फाको रायोजस्ता मास्टरपिस कविताका सामु प्रभात, हिस्टेरियाजस्ता कविताको विषयवस्तु ठिक भए पनि प्रस्तुति निकै फितलो र मोनोटोनस छन्। यस्ता कमजोरीमा कविको ध्यान जान जरुरी छ।
महिला कविहरू भावनामा बहकिएर व्यक्तिगत अनुभूतिमात्र फलाक्छन् भन्नेहरूका लागि बिनाको यो संग्रह गतिलो जवाफ हुन सक्छ। उनका कवितामा वर्तमान परिवेश, राजनीतिक वितृष्णा, विसंगतिहरू र नारी संवेदना सन्तुलित रूपमा अटाएका छन्। रातो घर बिना तामाङ सुनगाभाको हरियो अभिव्यक्ति हो।
कृति : कविता
लेखिका : बिना तामाङ सुनगाभा
प्रकाशक : विश्व नेपाली साहित्य महासंघ, नेपाल शाखा
पृष्ठ : १६१, मूल्य : २००/–
प्रकाशित: १८ मंसिर २०७२ २२:५९ शुक्रबार





