२५ मिनेटमा ओर्लिनुपर्ने हाम्रो प्याराग्लाइड १० मिनेट बढी उडेर पनि झर्ने स्थिति थिएन। झर्नुपर्ने स्थानभन्दा हामी पर गइसकेका थियौं। अघिदेखि तलबाट आएको निर्देशनले झर्को लागेर होला अशोकले प्रत्युत्तर दिएनन्।
अशोक पराजुली (३३) जसले प्याराग्लाइडिङ उडाउन थालेको छ वर्ष भएछ। पोखराका रैथाने। चराझैं आकाशमा मान्छे उडेको देखे। आफू पनि उड्न पाए हुन्थ्यो भन्ने कल्पनाको पछि दौडिँदा दौडिँदै उनी अरूलाई उडाउने भए। उनैले मलाई पनि उडाए। भेडेटार दक्षिण छोटी मोरङबाट धरानसम्म।
बूढासुब्बा मन्दिर पूर्व पट्टिको फुटबल मैदानमा ओर्लनुपर्ने हाम्रो प्याराग्लाइड विजयपुरमाथि फन्को मार्दै थियो। घरि हामी पिण्डेश्वर छेउ पुग्थ्यौं। धरान बजारकै माथि उडिरहेको पनि लाग्थ्यो। धरानलाई आँखाभरि यत्ति मज्जाले कहिल्यै हेर्न पाइएको थिएन। आँखाभरि, मनभरि हेरेँ। कति सुन्दर, जंगलभित्र बनाइएको रिसोर्टजस्तो।
भेडेटारबाट उड्ने बेला हावाको दबाब नपुगेर हामी उड्न समय लाग्यो। सँगैका साथी उडेर पनि अवतरण गरिसकेका थिए। पत्रकार सन्तोष काफ्ले अझै आकाशमा फन्को मार्दै थिए। टिभीका लागि भन्दै पाइलटलाई भिडियो खिच्न लगाउँदै थिए।
एकपल्ट उड्न खोजेर दुई पाइला दौडेका पनि थियौं हामी। हावाको गति पुगेन। उड्न ठिक्क पारेर फैलाएको प्याराग्लाइड फेरि एकै ठाँउमा गुजमुजियो। त्यसलाई पुनः फैलाए अशोकले। अर्कोपल्टको प्रयास सार्थक भयो। तर, ग्लाइडलाई माथि लैजाने तातो हावा (थर्मल) भेटिएन। अशोक थर्मल भएको ठाउँ पुग्न खोज्दै थिए। हामी तल झर्न लागेका थियौं। अचानक खतरा बढेको अनुभव भयो। कहिले घरैैमाथि बजारिएला जस्तो, कहिले रूखमाथि अड्किएला जस्तो। मुटु चिउचिउ भयो। डाँडा र टावरबाट मात्र तल्तिर हेरेका हामीजस्ता मान्छेले सिधामुनि रूख र घर देख्दा मुटु काम्दो नै रहेछ।
अशोकले मेरो मनोदशा बुझे। 'नआत्तिनुस् हामी उडेको ठाउँभन्दा माथि छौं,' उनले भने। तल अलि पर हेरँे। रोशनजी हामीलाई हात हल्लाइरहेका थिए।
रोशन अधिकारी भर्खरै पर्यटन व्यवसायमा लागेका। आम धराने युवाजस्तै साहसी र सहयोगी। उरन्ठेउलो उमेर कटेपछि राजनीतिमा लागे। अहिले पर्यटनमा। त्यसमा पनि पूर्वकै लागि नितान्त नौलो। साहसिक व्यवसाय। निर्मल आचार्य उनका साझेदार। दुवैले मिलेर सुरु गरेको धरान स्काइ प्याराग्लाइडिङले धरानमा व्यावसायिक उडान सुरु गरेको छ।
मदन ढकाल दाइको तमोर रिभर र्याेफ्िटङबाट तीनपटक र्यारफ्िटङ गरे। उड्ने रहर पनि रोशनजीले पूरा गरे। जीवनकै सबैभन्दा रमाइलो अनुभव रह्यो प्याराग्लाडिङ। र र्यायफ्िटङ पनि।
हामी धरानेका लागि भेडेटार आँगन नै लाग्ने। छोटी मोरङ नामैले टाढा। जबकि त्यो ठाँउ यति बेला धरान उप–महानगरपालिकाको २० नम्बर वडा। नामको पछाडि मोरङ झुन्डिएकाले होला टाढा लागेको। उडानस्थलमको जग्गामा धेरै मुद्दामामिला भइसक्यो। सर्वोच्च अदालतले भोक अधिकार दिएर खरिद बिक्री भएको जग्गामा वन विभागले रोक लगाएको छ। पूर्वाधार निर्माण गर्न पाइँदैन। त्यहीँ स्काइ प्याराग्लाइडिङले चार कठ्ठा जमिन खरिद गरेको छ। जसलाई टेकओभर पोइन्ट भन्छन् पाइलटहरू।
भेडेटार जाँदा–आउँदा वरिपरि सधै जंगलमात्र देख्थ्यो हाम्रा आँखाले। छोटी मोरङभित्र गाउँघर बस्ती देखियो। मानिस बारीमा काम गर्दै थिए। अशोकले थर्मल भेट्टाए। हामी एकै ठाउँमा घुम्न थाल्यौं—फनफनी। थर्मलले हामीलाई माथि धकेल्यो। १,२५० मिटरबाट उडेका हामी १,८०० मिटरमाथि पुगिसकेका थियौं।
अघिको डर कता हरायो हरायो। रमाइलो र मज्जा लाग्न थाल्यो। आफूलाई चरा भएको अनुभव भयो। सप्पै आकाश आफ्नैजस्तो। उड्दा खुट्टा चलाइरहनु भन्ने अशोकको निर्देशन। अब मज्जाले बस्न अह्राए। दुई जना उड्न मिल्ने टेन्डम फ्लाइट। अशोकजी पछाडि, म अगाडि। कुर्सीजस्तै झोला। आरामले बस्न मिल्ने। पेटी र क्लिपहरूले तिघ्रा, जाँघ र जिउ बाँधेको।
अघिसम्म बस्ने झोलालाई भ्याप्प समातेका मेरा हात पंक्षीको पखेटाझंै आकाशमा कावा खाँदै थिए। पाइलटले दुवै हातले डोरी खेलाइरहनुपर्ने, हावाको गतिअनुरूप। इन्जिनविनाको 'यान' भन्दा पनि फरक नपर्ने।
थर्मलको वेगले भेट्टाएपछि चलाउन मेहनत गर्नै नपर्ने। आफैं उडिरहने। अशोकले प्याराग्लाइडको दुवै 'ह्यान्डल' (डोरीहरुको समूह) एकै हातले समाए। साथमा भएको 'सेल्फी रड' निकाले। खिचिक्क खिचिक्क खिचे। पृष्ठभूमिमा पहाड, आकाश, धर्ती सप्पै निकाल्ने गरी। भिडियो पनि खिचे।
अचम्म! आफ्नै मोबाइलबाट पनि 'सेल्फी' खिचेँ। फोन झर्ला भन्नेमात्र पीर।
अशोकजी घरि प्याराग्लाइडलाई सम्हाल्थे। घरि क्यामेरालाई। म भने आँखाले भ्याएसम्म नजर दौडाउँथेँ। तल हेरँे, खाँचभित्र शिवजटा देखियो। विकास बस्यालको पहलमा निर्मित शिव मन्दिर देखेँ। गुलाबी रङ पोतेको। पारि दानाबारी। तल्तिर धरान। विजयपुरमाथि पञ्चकन्या जंगल। खोँचभित्र ठाडै झरेकी सेउती। अलि तल्तिर नागबेली बन्दै। पत्रंगबारी। पानबारी। वसन्तटार। कति हो कति ठाँउहरू।
'कस्तो लाग्दैछ?' अशोकले सोधे।
'मज्जा आउँदैछ,' भनेँ मैले। गफ गर्दागर्दै हामी विजयपुर डाँडाछेउ आइपुग्यौं। पूरै धरान देख्ने इच्छा जाग्यो। फर्माइस गरँे। उनले इच्छा पूरा गरिदिए। अब हामी विजयपुरमाथि थियौं। अचानक सेउती खोलाबाट उठेको थर्मल भेटियो। हामी अझैमाथि गयौं। धरान गुजुमुजु देखिए पनि बाझगरा र जनपथमा थुप्रै जग्गा खाली रहेछन्। व्यवस्थित बस्ती बसाउने हो भने संघीय प्रदेशको राजधानीको चाप पनि धान्न सक्ने लाग्यो।
हामी झर्नुपर्ने थियो। अशोक प्याराग्लाइडलाई तल झार्ने कोसिस गर्थे। हावाले माथि ठेल्दै थियो। उनी तल तान्थे। हावाले झन् जोडले माथि धकेल्थ्यो। अब हामी बजारको नजिकै थियांै। उनी घुमाएर झार्ने कोसिस गर्दै थिए। दायाँ मोडिएर बूढासुब्बा लैजान खोज्थे। थर्मलसामु उनको केही चलेन। अशोक र थर्मलबीचको घम्साघम्सी तल ग्राउन्डमा बसेकाले बुझेनन्।
तल बसेर कुरै नबुझी निर्देशन दिनेहरूसंग दिक्क लागेर होला उनले जवाफ नदिएका। तर १० मिनेट बढी भइसक्दा पनि हाम्रो ग्लाइडर ओर्लने अवस्थामा थिएनन्। माधवले अर्को स्टेडियममा जान लागेको भन्दै हामीलाई व्यंग्य गरे। मलाई भने साँच्चै रंगशालामै उत्रन पाए हुन्थ्यो भन्ने लाग्यो। तर त्यो सम्भव थिएन। यात्रुलाई गाडीमा टेकओभर पोइन्ट लगिन्थ्यो। त्यस्तै ओर्लने ग्राउन्डबाट पनि गाडीमै प्याराग्लाइडिङको कार्यालयसम्म लैजानुपर्थ्यो।
हामीलाई लिन रोशनजी गाडी लिएर बूढासुब्बा नजिकै आउँदै थिए। हामी त्यही निर्धारित ठाउँमै झर्नुपर्ने 'बाध्यता' थियो।
हामी दन्तकाली मन्दिरमाथि आइपुगेका थियौं। झल्याँस्स सम्भि्कएँ— ईश्वरको बासस्थानमाथि मान्छे हुनुहुन्छ या हुँदैन? डर लाग्यो। मन बुझाएँ, आखिर ईश्वरविनाको कुनै ठाउँ नै छैन।
ओर्लनैपर्ने बाध्यता थियो। 'थर्मल'को वेग पनि अलि कम भएको थियो। अन्तिमपटक पूरै धरान, विष्णुपादुकादेखि पानबारीसम्म हेरेँ। रहर पूरा भएन। नजिक तल हेरेँ। लक्ष्मी सडकमा भएको आफ्नो होटल 'सेछ' खोजेँ। जनपथमा भएको घर देखेँ।
अशोकले बल गरेर प्याराग्लाइडलाई सेउती खोलाको बगरतर्फ लगे। खोलैखोला उत्तर लागियो। धरान बजार टाढा भयो। त्यताको दृश्य धूमिल। अब झोलुंगे पुल नजिक।
ओर्लने बेला पनि डर लाग्यो। पञ्चकन्या जंगलमा झरिएला भन्ने त्रास। उनले एक राउन्ड लगाए। आफूलाई भने अब रूखैमा अड्किन्छ कि जस्तै भइसक्यो। तल नजिकै गाई चर्दै थिए। अशोकले गाईकै छेउबाट लगे।
'ठिंग उभिनुस् है,' उनले भने। हत्त न पत्त ठिंग उभिएँ। अचम्मै! रोकिन पाइला पनि सार्नुपरेन।
अघिसम्म आकाशमा फिरन्ते हामी अब जमिनमा थियौं। आकाशमा कसैको सिमाना थिएन। जमिन टुक्रा–टुक्रामा विभाजित थियो। अर्बौं वर्ष पुरानो धर्तीलाई मुस्किलले एक सय वर्ष पनि नबाँच्ने मान्छेहरूले 'आफ्नो' भन्दै भागबण्डा गरेका थिए। आफ्नो धर्ती भन्ने मान्छेहरू लाखौं वर्षदेखि फेरिएका फेरियै छन्। त्यही मान्छेहरूले कोरेको बाटो हुँदै हामी फर्कनुपर्ने थियो। फर्कियौं।
प्रकाशित: ४ मंसिर २०७२ २२:२४ शुक्रबार


-600x400.jpg)


