पर्वत ठूलीपोखरी ३ का दिपक पौडेल र कास्की ढिकुरपोखरी–६ का दलबहादुर गुरुङ कात्तिक २० गते ड्रागन एयरबाट जापान जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरीले उनीहरुको भिषा शंकास्पद देखेपछि थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखामा पठाएको थियो ।
पौडेल र गुरुङलाई प्रतिव्यक्ति १२ लाख रुपैयाँ लिई जापान पठाउन भन्दै सम्पूर्ण कागजात लगाएत भिषाको काम भट्टचन र जि.सी.ले बनाएको खुलेको थियो। भट्टचनलाई काठमाडौं सुन्धरा र जि.सी.लाई पोखराबाट महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको हो ।
पीडितलाई भट्टचनले जापानमा आफ्नो हिमालयन इन्डियन एण्ड नेपाली रेष्टुरेन्ट रहेकोले प्रतिव्यक्ति १२ लाख लाग्ने र अन्तरर्वार्ता दिन नपर्ने प्रलोभनमा पारी पौडेलबाट १० लाख र गुरुङबाट ७ लाख ५० हजार लिएर नक्कली भिषा लगाएको प्रहरीले जनाएको छ। साथै उक्त कार्यमा भारतीय नागरिकसमेत दिल्लीमा रही मिलोमतो गरी ठगी कार्यमा संलग्न देखिएको छ ।
पक्राउ दुबैजनालाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।
प्रकाशित: २३ कार्तिक २०७२ ०६:३१ सोमबार





