अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुँदा आफूले परम्परागत तामझाम र भीआईपी संस्कृति नस्वीकार्ने घोषणा गरेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत उनले कार्यक्रम आयोजकहरूका लागि शर्तहरू सार्वजनिक गरेका हुन्।
नेपालको औपचारिक कार्यक्रमहरूमा देखिने भड्किलो स्वागत सत्कार र लामो आसनग्रहणको परम्परालाई तोड्दै अर्थमन्त्री खनालले आफू प्रमुख अतिथिका रूपमा नउभिने स्पष्ट पारेका छन्।
उनले बाहिर लाइन लागेर गरिने स्वागत, खादा–माला र अबिरको प्रयोग नगर्न आयोजकहरूलाई आग्रह गरे।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रमुख अतिथि हुँदैन। खादा, माला, अबीर, फुलगुच्छ हुँदैन। बाहिर उभिएर स्वागत गर्न पाइँदैन। आसन ग्रहण हुँदैन।’
मन्त्री खनालले आफू समय मिलेको खण्डमा कार्यक्रम हलमा सुटुक्क छिर्ने र तोकिएको सामान्य सिटमा बस्ने बताएका छन्। मञ्चमा लामो भाषण गर्ने परिपाटीको अन्त्य गर्दै उनले बोल्नै परे बढीमा ५ मिनेट मात्र बोल्ने बताए।
उनले अगाडि भनेका छन्, ‘समय मिले म खुसुक्क हलमा छिर्छु। तोकेको सिटमा बस्छु। बोल्न भनिए ५ मिनेट मात्र बोल्छु। मायाको चिनो लिन्नँ, र दिन पाइन्न।’
साथै, आकस्मिक काम परेको खण्डमा कार्यक्रममा उपस्थित हुन नसके सोही दिन खबर गर्ने पनि उनले बताए।
प्रकाशित: १२ पुस २०८२ १५:२१ शनिबार





