सुर्खेतमा गत फागुनमा ७६ वटा सवारीसाधन दुर्घटना भएका छन्। ती दुर्घटनामा एक महिलासहित चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
कार्यालयले सोमबार सार्वजनिक तथ्याङ्कअनुसार फागुनमा भएका सवारी दुर्घटना हुनुमा मानवीय त्रुटि प्रमुख कारण देखाइएको छ। करिब ८० प्रतिशत मानवीय त्रुटि र बाँकी यान्त्रिक खराबीका कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख रोहीतकुमारी शाहीले जानकारी दिइन्।
उनका अनुसार सबैभन्दा बढी मोटरसाइकल ४८, टेम्पो १०, मिनिबस सात, बस पाँच, जीप/कार चार र ट्र्याक्टर दुई वटा दुर्घटना भएका छन्। ३४ वटा सवारी दुर्घटना तीव्र गतिका कारण हुने गरेका कार्यालय प्रमुख शाहीले उल्लेख गरे। मादक पदार्थ सेवनबाट तीन, चालकको असक्षमताबाट तीन, चढ्दा/ओर्लंदा एक र ब्रेक फेल भएर आठ दुर्घटना भएको उनले जानकारी दिए।
फागुनमा ट्राफिक तथा जनपद प्रहरीले ६४० जाँच गर्दा ४०२ लाई कारबाही गरेको जनाउँदै त्यसबाट रु तीन लाख ९१ हजार ५०० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख शाहीले बताए। त्यस्तै, ट्राफिक प्रहरी एक्लैले जाँच गर्दा २३५ कारबाही परेका छन्। त्यसबाट रु एक लाख ९२ हजार ५०० राजस्व सङ्कलन गरिएको उनको भनाइ छ।
त्यसैगरी, चालकसँग एक मिनेट कार्यक्रमबाट छ हजार ६६३, पैदल यात्रु लक्षित कार्यक्रमबाट ५१६, सङ्घसंस्था लक्षित सचेतना कार्यक्रमबाट एक हजार ७५४ र सवारी चलाउने चालक सचेतना कार्यक्रमबाट १२८ गरी कुल १८ हजार ५४३ जना लाभान्वित भएको जनाइएको छ। ट्राफिक नियम पालनासम्बन्धी सचेतनामूलक कार्यक्रम तीव्रताका साथ अगाडि बढाइएको कार्यालयले जनाएको छ। रासस
प्रकाशित: ३ चैत्र २०८२ ०६:५१ मंगलबार





