पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिन यहाँका पर्यटन व्यावसायीले सरकारको ध्यानाकर्षण गराएका छन। उद्योग सरह मान्यता नपाउँदा पर्यटन क्षेत्रले सरकारी निकायबाट पाउनुपर्ने सुविधा पाउन नसकेको उनीहरुको भनाई छ। पर्यटन क्षेत्रमा ठूलो लगानी भएको, रोजगारी सिर्जना गरेको र राज्यलाई कर तिरेकोले पनि पर्यटन क्षेत्रले उद्योग सरह मान्यता पाउनुपर्ने माग व्यावसायीले गर्दै आएका छन।
होटल संघ पोखराले शनिबार पोखरामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हालाई भेट्दै पर्यटन क्षेत्रलाई उद्योग सरह सुविधा दिनुपर्ने लगायतका माग पेश गरे। पाँचबुँदे ध्यानाकर्षण पत्र बुझाउँदै संघका अध्यक्ष लक्ष्मण सुवेदीले चालु बजेटमा पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता प्रदान गरी सोही अनुसारको सुविधा प्रदान गर्ने विषय उल्लेख गरिए पनि त्यो कार्यान्वयन हुन नसकेको उनले बताए।
‘पर्यटन क्षेत्रले लामो समयदेखि उद्योग सरहको मान्यता पाउनुपर्छ भन्दै आएको छ। तर, सरकारले वेवास्ता गरेको छ,’ सुवेदीले भने, ‘पर्यटन क्षेत्रले राज्यका लागि योगदान दिएको आधारमा हामीले उद्योग सरह मान्यता पाउनुपर्छ भनेका हौ। तर, पर्यटनलाई वास्ता गरिएको छैन।’ उनका अनुसार पर्यटन क्षेत्रले पनि उद्योग सरह सुविधा पाउँदा विद्युत महशुलमा छुट पाउँछ। अहिले सामान्य घरले तिरेसरहको शुल्क पर्यटन क्षेत्रले तिरेकोले केहीगरि उद्योग सरह मान्यता दिने हो भने उद्योगको जस्तै सस्तो शुल्कमा विद्युत उपभोग गर्न पाइने उनले बताए।
त्यसैगरि कृषि, उद्योगमा बाणिज्य बैंकको निश्चित प्रतिशत कर्जा लगानी हुनैपर्ने बाध्यकारी अवस्था भएपनि पर्यटनमा नहुँदा अनिवार्य लगानी आकर्षित गर्न नसकिएको उनले बताए। ‘कृषि र उद्योगमा लगानी सुनिश्चित भएजस्तै पर्यटनमा पनि लगानीको निश्चित प्रतिशत अनिवार्य तोक्नैपर्छ। लगानीमा बाध्यकारी बनाउँदा पर्यटन क्षेत्रमा वित्तीय संस्थाले लगानी गर्छन। पर्यटनमा अनिवार्य लगानी जरुरी छ,’ उनले भने, ‘अहिलेको अवस्थामा पर्यटनमा लगानी अनिवार्य छैन। तर, अनिवार्य गरेको खण्डमा लगानी बढ्छ।’ पर्यटन क्षेत्रमा खर्बाैको लगानी भएपनि उद्योग सरह मान्यता नपाएको उनले बताए।
‘होटल दर्ता गर्दा पर्यटन उद्योग भनिएको हुन्छ। तर, उद्योग सरह सेवा दिन राज्यले आनाकानी गर्दै आएको छ। चालु आर्थिक वर्षको बजेट उद्योग सरह गर्ने भनेर भनिएको छ । तर, कार्यन्वयन भएन,’ उनले भने।
उद्योग र कानून मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री सिन्हालाई संघले पोखरामा स्वागत गर्दै उल्लेखित विषयलाई शीघ्र कार्यान्वयनमा लैजान ध्यानाकर्षण गराएको थियो। हालसम्म आन्तरिक उडानमा मात्रै सीमित रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत र चीनका विभिन्न शहरमा उडान सञ्चालन गराउन आवश्यक पहल अगाडि बढाउन पनि अध्यक्ष सुवेदीले ध्यानाकर्षण गराएका थिए। यसका साथै छिमेकी देशका सीमावर्ती शहर र आन्तरिक पर्यटकलाई लक्षित गर्दै प्रादेशिक शहरबीच आन्तरिक हवाई सञ्जाल बिस्तार गर्न समेत संघले माग गरेको छ।
यसैगरी २०५७ भन्दा पहिले निर्माण भएका साना तथा मझौला होटल उद्योगले गर्नुपर्ने वातावरणीय अध्ययन व्यवहारिक नभएको भन्दै यसलाई खारेज गर्न संघले माग गरेको छ। जेन–जी आन्दोलनबाट प्रत्यक्ष प्रभावित होटल प्रतिष्ठानलाई पुनरुत्थानका लागि उचित राहतको व्यवस्था गर्न र पोखरासँग जोडिएका मुख्य राजमार्गको स्तरोन्नति कार्यलाई तोकिएको समयसम्म पूरा गर्न सम्बन्धित निकायलाई दबाब दिनुपर्ने आवश्यकता रहेको समेत संघले बताएको छ।
सो अवसरमा मन्त्री सिन्हाले पर्यटन क्षेत्रलाई उद्योग सरहको सहुलियत दिने विषयमा छलफल अगाडि बढेको र छिटै कार्यान्वयन हुने आश्वासन दिए। पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने विषयमा पनि सरकार लागिपरेको दाबी उनले गरे। गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा धेरै पटक संघीय सरकारको ध्यानकर्षण गराइएको विषय स्मरण गराए।
पर्यटन बोर्डका पूर्व सदस्य एवं संघका सल्लाहकार विश्वशंकर पालिखेले नेपालमा अपेक्षित पर्यटक नआउनुको कारण खोजिनुपर्ने भनाई राखे। उनले सातै प्रदेशमा पर्यटन मार्ट आयोजना गर्न बोर्डले सहजिकरण गरी प्रवद्र्धनका काम अगाडि बढाउनुपर्ने सुझाव राखे।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले बंगलादेशी र श्रीलंकन मुद्रा सटहीको सहज सुविधा नेपालमा गर्न सके पर्यटन क्षेत्र अगाडि बढ्न मद्दत पुग्ने सुझाव राखे । नेपालमा पछिल्लो समय बंगलादेशी पर्यटकको गन्तव्य बनेको भएपनि मुद्रा सटहीमा सहजता नहुँदा समस्या रहेकोले समाधानको पहल हुनुपर्ने बताए।
प्रकाशित: १२ पुस २०८२ १५:२१ शनिबार




-600x400.jpg)
